पूर्व राजा भैरहवामा, भ्रमणसँगै नागरिक सम्वाद

२०७६ मङ्सिर १६ सोमबार १५:३४:०० मा प्रकाशित

भैरहवा । भैरहवालाई मुकाम बनाएर पश्चिम क्षेत्रको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको गौतमवुध्द अन्तर्राष्ट्रिय विमानस्थलमा निकै भव्य स्वागत गरिएको छ । पूर्व राजा शाह आइतबार यहाँ आएका छन् । 

यस क्षेत्रका धार्मिक,पर्यटकीय र पुरातात्विक स्थलहरुको अवलोकन भ्रमण गर्दै स्थानीय नागरिकसँग पनि भेटघाट र सम्वाद गर्ने पूर्व राजाको कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।  

पूर्व राजा भैरहवामा झर्ने सूचना सार्वजनिक भएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा विगतभन्दा ठूलो संख्यामा स्थानीय नागरिकहरुको जमघट भएको    थियो ।

“राजा समर्थकहरुले देश बनाउन राजाको खाँचो छ”, “राजा आउ देश बचाउ”, “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” जस्ता नारा लगाउदै बिमानस्थलमा पूर्व राजाको भब्य स्वागत गरिएको थियो । बिमास्थलबाट बाहिरिँदाको बाटामा पनि नगरवासीले फूल वर्षाएर स्वागत गरे । पूर्वराजाले पनि चोकचोकमा भेला भएका नागरिकलाई अभिवादन गरेका थिए ।

  साता लामो भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रको बसाई भैरहवाको पाँच तारे होटल टाईगर रिसोर्टमा हुने बुझिएको छ ।  

पूर्वराजाको सचिवालय तथा यस क्षेत्रका भ्रमण कार्यक्रमका संयोजक शक्ति प्रसाद सापकोटाले राजा भैरहवालाई भैरहवा मुकाम बनाएर बस्ने जानकारी दिए । १८ गते बसेको होटलमै बिभिन्न ब्यक्तित्वसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै १९ गते पाल्पाको भगवती मन्दिर र २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ ।

आईतबार काठमाडौं फर्किनु अघि नवलपरासीको पाल्ही भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको बताईएको छ ।