विद्याले जोगाइन् विरासत

२०७६ मङ्सिर १६ सोमबार ०८:०७:०० मा प्रकाशित


पोखरा — कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर भट्टराई सांसद बनेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा पौडेलका लागि १५ हजार ९ सय ९१ मत खसेको थियो । 

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र हुनुका साथै दिवंगत रवीन्द्र अधिकारीले तीन पटकसम्म जितेको ठाउँ भएकाले यहाँको मतपरिणाममाथि सबैको चासो थियो । यस क्षेत्रबाट अधिकारी दुइटै संविधानसभाको निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । अधिकारी पत्नी भट्टराईले उपनिर्वाचन जितेसँगै श्रीमान्ले ह्याट्रिक गरेर रचेको कास्कीको राजनीतिक इतिहासलाई जोगाएकी छन् ।

उपनिर्वाचनमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत ल्याए । राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाए । साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मतमा चित्त बुझाउनुपर्यो  ।

जितपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले जनतामाझ गएर प्रतिबद्धता व्यक्त गर्ने बताइन् । ‘हामी कार्ययोजना बनाएर अघि बढ्छौं,’ उनले भनिन्, ‘पूर्वाधार विकासका काम, सामाजिक न्यायका कुराका साथै पोखरालाई प्रमुख पर्यटकीय राजधानी बनाउन भूमिका खेल्नेछु ।’

उनले आफ्नो जितलाई रवीन्द्रप्रतिको सम्मान भएको बताइन् । ४७ वर्षीया भट्टराई लामो समयको राजनीतिक विश्रामपछि त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएर चुनावमा होमिएकी थिइन् । तत्काली पर्यटनमन्त्री अधिकारीको निधनपछि उनलाई पोखरेलीले चिन्ने अवसर पाएका हुन् ।

नवनिर्वाचित भट्टराईलाई मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले प्रमाणपत्र प्रदान गरेका छन् । उनले अबिर भने लगाइनन् । पार्टीका नेता–कार्यकर्ताले अबिर लगाउन दिएनन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलले उनलाई खादा लगाएर बधाई दिए । दुई पार्टीबीचको एकता र झन्डै दुई तिहाइ नजिकको सरकार रहेको अवस्थामा मिनी जनमत संग्रहका रूपमा लिएर चुनावमा होमिएको नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले बताए । ‘जितले समृद्धिप्रति उत्साह थपेको छ,’ उनले भने, ‘मतदाताको भावनात्मक सहयोग र समर्थन, पार्टीको राजनीतिक पहलकदमीको उपलब्धि हो यो ।’

राजनीतिमा दुई दशकपछि पुनरागमन
श्रीमान्को निधनपूर्व भट्टराई सक्रिय राजनीतिमा थिइनन् । उनी त्रिविमा प्राध्यापन पेसामा सक्रिय थिइन् । उपनिर्वाचनमा उनलाई कास्की जिल्ला पार्टीले एकल उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो । सुरुमा उम्मेदवार बन्न अनिच्छुक देखिए पनि पार्टीको दबाबले सक्रिय राजनीतिमा उनको पुनरागमन भएको हो । ०२९ कात्तिक २९ मा काठमाडौंमा जन्मिएकी भट्टराई १२ वर्षकै उमेरमा राजनीतिमा होमिएकी थिइन् ।

पशुपति मित्र मावि चाबहिल काठमाडौंमा ७ कक्षामा पढ्दै गर्दा उनी अनेरास्ववियुमा आबद्ध भएकी थिइन् । ०४५ मा भारतले लगाएको नाकाबन्दीविरुद्ध आन्दोलनका कार्यक्रममा विभिन्न स्कुलमा विद्यार्थीलाई संगठित पारेकी उनी ०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । त्यही वर्ष अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनी जनसांस्कृतिक परिवारको सदस्य हुँदै तत्कालीन नेकपा एमालेको संगठित सदस्य बनेकी थिइन् ।

०४८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतमा राष्ट्रिय परिषद्मा निर्वाचित भट्टराई त्यही वर्ष एमालेको वडा कमिटी सदस्य बनेकी थिइन् । उनी ०४९ मा पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बनिन् ।
०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रूपमा सक्रिय भइन् । ०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव भइन् । अनेरास्ववियुको एउटै कमिटीमा रहेका बेला रवीन्द्र अधिकारीसँग उनको विवाह भयो । ०५६ असार २६ मा उनको बिहे भएको थियो । केही समयपछि उनी सक्रिय राजनीति छाडेर प्राध्यापनतर्फ लागिन् । ०५८ मा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन थालेकी उनी चुनावमा होमिनुअघि त्रिविमा उपप्राध्यापक थिइन् ।
कान्तिपुर दैनिक