‘सुखी ओली, समृद्ध प्रचण्ड’को नयाँ युग

२०७६ मङ्सिर १२ बिहीबार १०:५७:०० मा प्रकाशित

'महाराज ! आज मैले एउटा सपना देखेँ,’ मन्त्री वीरबलको कुरा भुइँमा खस्न नपाउँदै राजा अकबरले भने, ‘वीरबल मेरो सपना पहिला सुन ।’ वीरबलले बिन्ती गरे, ‘भनिबक्स्योस् महाराज ।’

‘वीरबल, गएराति तिमी र म एउटै शयनकक्षमा सुतेका थियौँ । राति अचानक तिमी र म आकाशमा उड्न थाल्यौँ । केही समय उडेपश्चात् तिमी ‘दिसा’को कुण्डमा खस्यौ, मचाहिँ ‘मह’को कुण्डमा खसेँ । त्यसपछि म झल्याँस्स ब्युँझिएँ ।’ वीरबललाई हदैसम्म होच्याउन सफल भएकोमा मख्ख पर्दै अकबरले भने, ‘अब तिम्रो सपना सुनाऊ ।’

वीरबल भन्छन्, ‘सरकार मेरो सपना यहीँबाट शुरु हुन्छ । हामीहरू आ–आफ्ना कुण्डबाट निस्कियौँ अनि हजुरले मलाई र मैले हजुरलाई लपालप चाट्न थाल्यौँ ।’

उल्लेखित कथा पछिल्लो समय दुईसदस्यीय नेकपामा ठ्याक्कै मेल खाँदै छ । पूर्वएमालेमा खनाललाई संसदीय दलको नेता र नेपाललाई अध्यक्ष पदमा परास्त गर्दै सत्ता राजनीतिको केन्द्र भागमा उदाएका प्रधानमन्त्री ओली दुईसदस्यीय नेकपामा राजा अकबरको भूमिकामा देखापरेका छन् । दशवर्षे माओवादी ध्वंशमार्फत राजा अकबर बन्न चाहेका प्रचण्ड तमाम कोसिसका बाबजुद असफल बन्दै ओली–निगाहमा वीरबलको स्थान लिन राजी भए । करिब मृत अवस्थामा रहेको पार्टी पद्धतिको जगमा गत मङ्सिर ४ गते गरिएको पछिल्लो अनुमोदनपछि राजा अकबर र वीरबलको कथा नेकपा राजनीतिमा विचित्र ढङ्गले मञ्चन गरिएको छ । ‘सुखी ओली, समृद्ध प्रचण्ड’को नयाँ युग अनुमोदन गर्दै एक–अर्कालाई लपालप चाट्न शुरु गरेको दृश्य सत्ता–राजनीतिमा गज्जबले सुहाएको छ ।

वास्तवमा राजनीति सम्भावनाको खेल होइन । सही अर्थमा राजनीति सम्भावना जन्माउने खेल हो भन्ने ओली–प्रचण्डका समर्थक र विरोधी दुवैले बुझ्नुपर्छ । ओली–प्रचण्ड समृद्ध, अन्तरपार्टी लोकतन्त्र कङ्गाल भएको नेकपा राजनीतिमा ओली–प्रचण्ड युग स्थापित गर्ने भरमार कोसिस हुँदै छ । सत्ताले विवेक प्रयोग गर्दैन । हाम्रोजस्तो गरिब लोकतान्त्रिक संस्कार भएको राजनीतिमा स्वविवेक प्रयोग गर्न दिने पार्टी पद्धतिको ‘साइड इफेक्ट’ गलत नजिर स्थापित गर्न हतारिनु सामान्य हो । विधि र पद्धतिको नाम सुन्नासाथ आफूलाई अविश्वास र असहयोग गरेको मान्ने प्रधानमन्त्रीले पाएको असीमित अधिकारपछि विवेक प्रयोग गर्ने कल्पना ‘जगबिनाको घरमा’ परिणत भएको छ । बाँडीचुँडी खाने सिद्धान्तलाई नेकपा सचिवालयबाट अनुमोदन गराउने ओली–प्रचण्ड कलाको भद्दा मजाक ‘परिवारवाद र गुटवादमा’ रूपान्तरण भएको सटिक प्रमाण पछिल्लो मन्त्रिपरिषद पुनर्गठनलाई लिन सकिन्छ ।

प्रधानमन्त्री ओलीले सर्वसाधारण मानिसलाई एउटा भ्रमपूर्ण सपना बेचेका छन् । ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा दिँदै उनले गरेका तमाम काम–कारबाहीको सूक्ष्म अध्ययन गरे के फेला पर्छ भने ती अभागी मन्त्रीहरू जो २१ महिना विचित्रको ‘सकस र त्रास’मा बिताए । बालुवाटारको किचेन क्याबिनेट र खुमलटारको दबाबलाई झेल्दै यति लामो समय कुशलतापूर्वक मन्त्री पदमा रहन सफल भएकोमा उनीहरू धन्यवादको पात्र भएका छन् । मन्त्रीहरूको हातखुट्टा बाँधेर खोजिएको कार्यकुशला सही मानेमा ‘ओली युगको दासत्व’ निःसर्त स्वीकार गर्नु थियो भन्ने आधार बिदा लिएका मन्त्रीका अभिव्यक्तिलाई मान्न सकिन्छ । मन्त्रालयका नीतिगत निर्णयमा गम्भीर हस्तक्षेप गर्ने, सचिवले सीधै बालुवाटारमा ब्रिफिङ गर्ने ओली शासनमा फगत कुर्सीकै निम्ति विचित्रसँग बदनाम भएका भूपू मन्त्रीहरूलाई सहानुभूति दिनबाहेक के नै गर्न सकिन्छ र !

लोकप्रिय बन्नुपर्ने दबाबमा प्रधानमन्त्री ओली सदैव रहे । आफ्ना लहडमा देखिएका सम्भव–असम्भव सपनालाई जनताको नासो सम्झिन पुगे । मूर्छित सपना पूरा गर्ने प्रधानमन्त्रीको महाअभियानलाई उनका सारथि मन्त्रीले साथ दिन असफल भएको दोष थोपार्दै आफू पानीमाथिको ओभानो हुन चाहे । मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने र विचित्रको मूल्याङ्नको हौवा करिब एक वर्षदेखि रणनीतिक ढङ्गले चलाइरहे । संसदीय लोकतन्त्रमा मन्त्री राख्ने, परिवर्तन गर्ने प्रधानमन्त्रीको विशेषाधिकारलाई प्रयोग गर्दा सामान्य शिष्टता पूरा गर्नसमेत रुचि देखाएनन् । आफ्ना मन्त्रीलाई दास सम्झने र आफू शासकको शैलीमा प्रस्तुत हुने उनको शैली मन्त्रीको निम्ति सदैव तरबार बनेर झुन्डिरह्यो ।

पार्टीमा विचार, पद्धतिलाई समाप्त पार्दै व्यक्ति व्यवस्थापन गर्न बहुमूल्य समय खर्चिएका ओलीले रोजेको पछिल्लो बाटो हेर्दा उनको कार्यशैली नबदलिएको प्रस्ट हुन्छ । ‘सुखी ओली समृद्ध प्रचण्ड’को नवीनतम सिद्धान्त स्थापित गर्दै थप स्वास्थ्य उपचारको निम्ति विदेश जान चाहेका ओलीले नवनियुक्त मन्त्रीको झाँको झारिसकेका छन् । ओली–प्रचण्डको आशीर्वाद वा निगाहबाट मालामाल भएका मन्त्रीलाई दासको शैलीमा थर्काउने ओली शासनमा लोकप्रियताको नवीन मापदण्ड कस्तो बन्दै छ ? उत्सुकता बढ्दै छ । संसदीय व्यवस्थामा मन्त्रीले प्रधानमन्त्रीको स्पिरिटअनुसार नचले कारबाही गरिनेछ भनिरहनु पर्दैन । लहडको भरमा खोजिएको समृद्धि प्राप्त गर्न प्रधानमन्त्रीको धम्की, चाहना वा आदेशलाई नवनियुक्त मन्त्रीले कुन अर्थमा बुझ्लान् ? कतै आर्थिक जोहो गर्दै ब्रिफकेस बुझाउन बालुवाटार र खुमलटार दौडिए ओली सपना कुन अवस्थामा पुग्ला ? छोटो समयले बताउनेछ ।

प्रधानमन्त्री ओली फेरि एकपटक लोकप्रिय बन्न हतारिएका छन् । मुलुकवासीले उनलाई सदियौँ स्मरण गर्न के–कस्ता काम गर्नुपर्छ भन्ने बिर्सिए पनि अचम्मसँग छटपटाएका छन् । प्रधानमन्त्रीले मुलुकको दीर्घकालीन, दिगो र अर्थपरक विकास गर्न कस्ता मानिस रोजेका छन् ? युवा जनशक्ति मुलुकमा राख्न कस्ता कार्यक्रम लागू गरेका छन् ? राष्ट्रिय उत्पादन बढाउन र आर्थिक अपराध रोक्न २१ महिनामा उनी कति सफल रहे ? आफ्नै सेवक मन्त्रीहरूको कार्य सम्पादन र केटौले कूटनीतिको कारण उनलाई कति दबाब परेको छ ? गृह प्रशासनको निकम्मापनको कारण उनको लोकप्रियता कति पातलिएको छ ? संविधानमा लेखिएको ‘अमूर्त समाजवाद’ शब्दलाई मूर्तरूप दिन किन दलालसँग उठबस गर्दै छन् ? केवल भावनात्मक कुरा गरेर मुलुकवासीको मूर्छित सपना कसरी पूरा हुन्छ भन्ने बिर्सेका ओली मुलुकको रोग पत्ता लगाउने र औषधि गर्नभन्दा धामीझाँक्रीमै रमाउन मजबुर छन् ।

प्रधानमन्त्रीले देखेको सपनाको सबैभन्दा ठूलो दुस्मन भ्रष्टाचार र अयोग्यहरूको प्रमोसन हो । भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न शुरु गरे आफ्ना थुप्रै साथी सरकारी पाहुना बन्ने भेउ पाएका प्रधानमन्त्रीले निदाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ब्युँझाउने तागत गुमाएका छन् । समृद्धिको प्रमुख आधार सुशासन हो भन्ने अत्यन्त राम्रोसँग बुझेका उनी भ्रष्टचारविरुद्ध २१ महिना कार्यक्रमविहीन रहे । सुशासनको प्रमुख दुस्मन भ्रष्टाचार समाप्त पार्न केवल लफ्फाजीको सहायता लिए, तर कुनै कुर्वानी दिन चाहेनन् । सरुवा, बढुवा, नियुक्ति, ठेक्कापट्टा ओली शासनमा कुन मापदण्डमा भइरहेका छन् ? मुलुकको कर्मचारी प्रशासन र प्रहरी प्रशासन कसरी निकम्मा बनाइएको छ ? यसको कारण समृद्धिको महाअभियानलाई कति असर पऱ्यो ? बिदाइ गरिएका मन्त्री र जागिर जोगाएका मन्त्रीमा रहेका सबल र कमजोर पक्ष के–के हुन् ? बिदाइ हुनेका कमजोरी र कुर्सी जोगाउनेहरूको क्षमताको मापदण्ड के थिए ? ओली–प्रचण्डले जनतालाई बताउन नचाहे पनि जनता जानकार नै छन् ।

आफ्ना असफलता छोप्न नियोजित मिडियाबाजी गराउने निरीह मन्त्रीका हुर्मत लिने बीभत्स कार्यलाई नेकपामा नयाँ ‘कोतपर्व’को रूपमा लिइनेछ । प्रधानमन्त्रीको विशेषाधिकारभित्र लोकतान्त्रिक संसदीय व्यवस्थामा जुनसुकै समय कसैलाई पनि मन्त्री पदको जिम्मेवारी दिन वा फिर्ता लिन सकिने सामान्य कुरालाई अतिरञ्जित गर्दै प्रधानमन्त्रीको किचेन क्याबिनेटले मच्चाएको स्याल हुइँयाले सम्बन्धित मन्त्रालयका कर्मचारी र बिदा लिएका मन्त्रीलाई नियम, कानुन, संविधानभन्दा ज्यादा ओली–प्रचण्डको गुलामी गर्न मजबुर बनाएको तीतो घटना नजिर बनिसकेको छ ।

चारबुँदेमा साक्षी राख्दै पूर्वएमालेसँग भान्सा एक बनाउन राजी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट सहमति उल्लङ्घन हुने चिन्ता अनेक रूपमा जाहेर गर्दै रहे । प्रधानमन्त्री ओलीको पुरानो रोग नबल्झेसम्म असीमित शङ्काले थलिए पनि उचित निकास फेला पार्न सकेका थिएनन् । पार्टी र सरकार आलोपालो हाँक्ने पूर्वसहमतिको भरपर्दो निकास फेला नपारेको समयमा प्रधानमन्त्रीको स्वास्थ्य प्रचण्ड–राजनीतिको निम्ति बरदान बनेर आएको जतिसुकै अप्रिय लागे पनि एक कटुसत्य बनिसकेको छ ।

नेकपा शक्ति सन्तुलनमा प्रचण्ड वा नेपालसँग मिलेर मात्र आफ्नो राजनीतिक हैसियत कायम राख्न बाध्य प्रधानमन्त्री ओली अन्ततः प्रचण्डलाई ‘वीरबल’ बनाउन राजी भए । प्रचण्डसँग एकीकरण गरेको र नेपालसँग पूर्वएमालेमा प्रतिस्पर्धा गर्न परेको कारण ओलीको बाध्यात्मक रोजाइ प्रचण्ड नै हुन पुगे । उपचारको निम्ति सिङ्गापुर जाने बेलामा माधव नेपाललाई ‘शाब्दिक वाण’ खर्च गरेका ओलीले अत्यन्त छोटो समयमा बल्झिएको पुरानो रोगकै कारण नेपालको मन जित्नुभन्दा प्रचण्डसँग बाध्यात्मक सम्झौता गर्नुमा दीर्घकालीन फाइदा देखे । बाध्यात्मक र लामो उपचारको क्रममा सिंहदरबारको कुर्सी गुमाउन नचाहेका नयाँ अकबरले वीरबलसँग अन्तिम, बाध्यात्मक र निर्णायक पावर सेयरिङ गर्दा नेपाललाई सम्झिन आवश्यक ठानेनन् । स्वास्थ्यकै कारण धक्का व्यहोर्दै ‘ओलीयुग’लाई बिदा दिन राजी भएका ओलीले चाहेकै जस्तो स्वास्थ्य पाएको खण्डमा मात्र प्रचण्डलाई हावाकावा खेलाउन नेपालसँग दोस्तीको हात फैलाउनेछन् । अन्यथा ओली–प्रचण्ड समृद्ध, नेकपा कङ्गाल ! भएको राजनीतिमा चर्को लोकप्रियताको भोक र सत्ता–नसाको औपचारिक विसर्जन उनकै कारण हुनेछ ।  (आजको घटना र बिचारमा प्रकाशित सामग्री)