उपनिर्वाचन: सबैका आँखा किन कास्की–२ मै ?

२०७६ मङ्सिर ११ बुधबार २०:४९:०० मा प्रकाशित

पोखरा । देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि खाली भएको यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । महानगरका ११ वटा वडाका ७१ हजार ८७१ मतदाताले उम्मेदवार चयन गर्दैछन् । 
  

 यस क्षेत्रमा ठूला, साना र स्वतन्त्र गरी २१ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । चुनावी चर्चामा विशेष गरी दुई पार्टी देखिएका छन् । नेकपाका तर्फबाट अनेरा स्ववियूका पूर्व सचिवसमेत रहनुेकी विद्या भट्टराई उम्मेदवार छिन् । नेपाली काँग्रेसले पनि पार्टीमा लामो समय योगदान गरेको भन्दै ७४ वर्षीय खेमराज पौडेललाई उम्मेदवार बनाएको   छ । त्यसैगरी समाजवादी पार्टीका तर्फबाट धर्मराज गुरुङ र राप्रपाका तर्फबाट रोमबहादुर भण्डारी उम्मेदवार छन् । 
    

वैकल्पिक शक्तिका रुपमा प्रचार गर्दै आएको साझा पार्टीले पनि युवा नेत्री रजनी केसीलाई उम्मेदवार बनाएर प्रचार शैलीलाई व्यापकता दिएको छ । यता साधारण ‘मान्छेको असाधारण राजनीति’ भन्दै विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा पनि मतदातामाझ पुगेकी छिन् ।
      

 स्वतन्त्रका उम्मेदवार पनि सामाजिक सञ्जालबाट आफ्नो चुनावी कार्यसूचीलाई सार्वजनिक गरिरहेका छन् । विशेष गरी चर्चामा भने  काँग्रेस र नेकपाका दुई उम्मेदवार देखिएका  छन् । दुवै पार्टीले यस उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएकाले पनि यस चुनावलाई विशेष रुपमा हेरिएको छ ।  
  

 कस्केलीले सत्तारुढ नेकपाकी भट्टराईलाई राजनीतिक चेत भएको, सामाजिक अध्ययनको पृष्ठभूमिका साथै प्राज्ञिक महिला भएका कारणले उनको राजनीतिको पुनः आगमनलाई स्वागतयोग्य ठानेका छन् । जुझारु र विकासप्रेमी नेता अधिकारीकी पत्नी भएकाले पनि उनीप्रति मतदाताको सहानुभूति रहन्छ कि भन्ने अनुमान छ ।  जनताको आधारभूत आवश्यकताको पहिचान गरी त्यसको समस्या समाधान गर्न नेताले सक्नुपर्ने र त्यसलाई समाजको गहिरो अध्ययनको अनुभव मिसाई राजनीतिबाट समाधान गर्न सक्ने क्षमता आफूसँग भएको भट्टराईले बताउँदै आएकी छिन्। पछिल्लो समय राजनीतिप्रति युवाको वितृष्णा बढ्दै गएको भन्दै नयाँ पुस्तालाई राजनीतिमा संलग्न गराएर नयाँ ‘भिजन र मिशन’का साथ अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।  
     

काँग्रेसका उम्मेदवार पौडेल पनि आफू निष्ठाको  राजनीति गरेकाले पार्टीमा आफ्नो योगदानको मूल्याङ्कन ढिलै भए पनि भएको बताउँछन् । जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ सङ्कल्प आफूसँग रहेकाले यसपालिको चुनाव उमेरले बूढो भए पनि राजनीति गर्ने युवा जोश र जाँगर आफूसँग अझै रहेकाले ट्रम्प स्टाइलबाट चुनाव जित्ने उनले बताउँदै आएका छन् । लामो समय शिक्षण पेशामा आबद्ध पौडेललाई मतदाताले अग्रज गुरुका रुपमा मानेका छन् । 
  

 चुनावी अभियानमा कार्यकर्ताको राम्रै उपस्थितिका साथ घरदैलामा देखिएका समाजवादी पार्टीका उम्मेदवार गुरुङ पनि आफ्नो जीत सुनिश्चित भएको बताउँछन् । विदेशका विभिन्न ठाउँ र संयुक्त राष्ट्र सङ्घमा लामो समय काम गरेको अनुभवसमेत रहेको बताउने इञ्जिनीयर गुरुङ देश कसरी बन्छ भन्ने दृष्टिकोण आफूसँग रहेकाले देशका लागि आफू चाहिने नेता भएको जिकिर गर्छन् । 
  

 राप्रपाका भण्डारीले पनि हिन्दू राष्ट्रको माग आफ्नो पार्टीले उठाएकाले जनताले आफूहरुलाई मत दिने विश्वास व्यक्त गर्गन् । विसं २०२८ मा प्रधानपञ्च बन्नुनेका भण्डारी  २०४९ मा पोखरा महानगरपालिकाका प्रमुख थिए ।  
  

 साझा पार्टीका उम्मेदवार केसी देश बदल्न मन र मत बदल्नुपर्ने तर्कका साथ घरदैलामा पुगेकी छिन् । देशमा पटक पटक शासन व्यवस्था बदलिए पनि पद्धति नबदलिएकाले अब जनताले वैकल्पिक शक्तिको महसुस गरेको भन्दै आफूलाई जनताले मत दिनेमा ढुक्क छिन् ।   
  

 विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्माले पनि अबको राजनीति कुनै वाद÷तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति नभई राजनीति गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परिनिर्भरताविरुद्ध हुनुपर्ने बताउँदै आकी छिन् ।   उपनिर्वाचनको आज घरदैलो र चुनावी अभियानको अन्तिम दिन रहेको छ । राजनीतिक दलहरु चुनावी अभियानलाई रोक्दै आन्तरिक रुपमा आफ्नो पक्षमा वातावरण बनाउने आन्तरिक गृहकार्यमा समेत जुटिसकेका छन् । सबै उम्मेदवारले आफूलाई योग्य ठानेर जिकिर गरे पनि यसको फैसला भने मङ्सिर १४ गतेपछि कुर्नैपर्छ ।  कास्कीका कुल ७१ हजार ८ सय ७१ मतदाताले ३२ स्थल र ८२ केन्द्रबाट मतदान गर्दैछन्। रासस