सेनाले सुरु गर्दै आकर्षक नगद पुरस्कारको विज्ञान तथा प्रविधि प्रतियोगिता

२०७६ मङ्सिर ८ आइतबार २०:५७:०० मा प्रकाशित


काठमाडौं । नेपाली सेनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाहरुलाई  प्रोत्साहन गर्न  सैनिक विज्ञान तथा प्रविधि प्रतिस्पर्धा गर्नेभएको छ । शैक्षिक सङ्घसंस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गर्न लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 आगामी २०७७ साल वैशाख १९ र २० गते सञ्चालन गरिने उक्त प्रतियोगितामा प्रतिरक्षा प्रविधि, वातावरण र संरक्षण प्रविधि, आन्तरिक सुरक्षा प्रविधि र विपद् व्यवस्थापन सहयोग प्रविधिलगायत विषय समावेश गरिने जानकारी दिइएको छ । यसअघि सेनाले यस्तो प्रतियोगिता २०७० सालमा गरेको थियो ।

उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति, सङ्घसंस्थाहरुले आफ्नो प्रस्ताव आगामी पुसभित्र पठाइसक्नुपर्नेछ । प्रतियोगितामा  प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु तीन लाख, एक लाख ५० हजार र ५५ हजार प्रदान गरिने जनाइएको छ । स्नातक तहमुनिका विद्यार्थी मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु दुई लाख, एक लाख र ५० हजार प्रदान गरिने छ ।

 यसैगरी कक्षा १२ सम्मका विद्यार्थीहरु मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद पुरस्कार रु एक लाख ५० हजार, ५५ हजार र २५ हजार प्रदान गरिने छ । प्रतियोगिताले देशको मुख्य चुनौतीका रूपमा रहेको बौद्धिक पलायनको समस्यालाई हल गर्नुका साथै सैनिक आवश्यकताको विज्ञान तथा प्रविधि नेपालमा नै अध्ययन र अनुसन्धान गर्न योगदान पुग्ने विश्वास गरिएको छ । रासस