पूर्व राजपरिवार किन चर्चामा आइरहन्छन् ?

२०७६ मङ्सिर ६ शुक्रबार १६:०५:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय भावले ओतप्रोत गोपालप्रसाद रिमाल लिखित चर्चित गीत बजिरहेछ। पूर्वराजा ज्ञानेन्द्र शाह कहिले मुटुमा हात राख्दै त कहिले हात फैलाउँदै नाचिरहेछन् । कहिले हूलतिर ‘फ्लाइङ किस’ दिइरहेछन् । उनको पछि उनकै बुहारी पूर्वयुवराज्ञी हिमानी शाह पनि उस्तै मुडमा नाचिरहेकी छन् । छोरीहरू र पूर्वराजपरिवारका अरू सदस्यहरूले साथ दिइरहेको यो दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गत शनिबार राति पूर्वराजासहित राजपरिवारका सदस्य ठमेलस्थित रात्रिक्लब लर्ड्स अफ ड्रिंक्स (एलओडी) पुगेपछि त्यहाँको माहौल अरू दिनभन्दा बेग्लै थियो । पूर्वराजपरिवारको प्रवेशसँगै क्लब सञ्चालकले राष्ट्रिय गीत बजाएका थिए । 

राजगद्दी गुमाएको ११ वर्षको अवधिमा विविध पारिवारिक तनावका बीच ज्ञानेन्द्र यति ‘जोली’ मुडमा देखिएको सम्भवत: यो पहिलो पटक हो । पूर्वराजपरिवार बेलाबखत दरबारमार्गको त्रिसरा रेस्टुराँ, किङ्स लाउञ्जमा पनि पुग्ने गरेका छन् । यद्यपि एलओडीमा उनी जसरी खुलेर हाँसे, नाँचे, त्यो विरलै देखिने दृश्यमध्येकै थियो । 

एलओडीका सञ्चालक रविन श्रेष्ठका अनुसार, कार्यक्रम पूर्वनिर्धारित थिएन । ‘राति ११ बजेतिर सेक्युरिटीहरू आएर पूर्वराजा आउन लागेको जानकारी दिए’, उनी भन्छन्, ‘त्यसपछि हामीले हतार–हतार व्यवस्थापन गर्‍यौं ।’ ७ जना पारिवारिक सदस्य, सेक्रेटरी र सेक्युरिटीसहित पुगेका ज्ञानेन्द्रले एलओडीमा झन्डै २ घण्टा बिताएका थिए । त्यस क्रममा राजपरिवारका सदस्यले सफ्ट ड्रिक्स र स्न्याक्सहरू लिए । क्लबमा गएका अरू ग्राहकले पूर्वराजा र सदस्यहरूसँग ‘सेल्फी’ खिचेका थिए । ‘कस्तो चलेको छ भनेर पूर्वराजा र पूर्वयुवराज्ञीले सोध्नुभयो’, श्रेष्ठ भन्छन् । 

प्रभाव, पहिरन शैली र ठाँटबाँटका कारण सदैव चर्चामा रहने ‘रोयल फ्यामिली’को चर्चामा राजतन्त्र अन्त्य भएको एक दशक बितिसिक्दा पनि कमी भएको छैन । नेपालमा दोस्रो जनआन्दोलनपछि बनेको पहिलो संविधानसभा बैठकले २०६५ सालमा राजसंस्था अन्त्यको घोषणा गरेको थियो । 

राजसंस्था अन्त्यको घोषणपछि पूर्वराजा ज्ञानेन्द्र परिवारसहित नारायणहिटी राजदरबार (हाल संग्रहालय) बाट बाहिरिएका थिए । राजपाटबाट बहिर्गमन भएर सामान्य नागरिक जीवनमा ओर्लंदा पनि उनी चर्चामै रहने गर्छन् । कहिले धार्मिक शक्तिपीठ त कहिले सिंगापुर तथा थाइल्यान्डतिर हुने वैदेशिक यात्राका कारण पूर्वराजा र राजपरिवारबारे अनेकन् चर्चा चल्ने गर्छन् । 

आखिर किन चर्चामा आइरहन्छन्, पूर्व राजपरिवार ? राजनीतिक विश्लेषक लोकराज बरालका विचारमा, पूर्वराजपरिवारका ससाना क्रियाकलापले चर्चा पाउनुमा लामो विरासत र आममान्छेमा रहेको त्यसैको ह्याङओभर हो । ‘राजा भैसकेको मान्छे आउँछन्, सर्वसाधारणजस्तो बन्ने प्रयास गर्छन्, त्यो नै आकर्षक बन्न पुग्छ,’ उनी भन्छन्, ‘संसारभर जहाँ पनि रोयलहरूको विशेष चर्चा हुने गर्छ । लामो इतिहास भएकाले क्युरिसिटीले पनि सर्वसाधारणलाई तान्छ । रोयल भन्नेबित्तिकै ठूलो भन्ने आकर्षण छ ।’ 

दोस्रो, पूर्वराजपरिवार चर्चामा रहन चाहन्छ । मनको भित्री कुनामा कतै पुन: राजपाट फर्कन्छ कि भन्ने आस पूर्वराजाले गरेका हुन सक्छन् । ‘राजनीतिक स्थायित्व भएपछि जनताका निराशा बढिरहेकाले भोलि नयाँ सन्दर्भ आइहाल्छ कि भन्ने ठानेर पनि पूर्वराजपरिवार सार्वजनिक चर्चामा आउने काम गरिरहन्छ’, एक अर्का विश्लेषक भन्छन्, ‘रात्रिकालीन डिस्कोथेकमा राष्ट्रिय गीतमा नाच्नु भनेको आममानिसको भाव राजपरिवारप्रति सकारात्मक बनोस् भन्ने अभिप्राय हो ।’

जनस्तरमा सकारात्मक भावना बनाउन, आफ्नो विशिष्ठ स्थान रहेको रानजीतिक रूपमा अनुभूत गराउन पूर्वराजाले छोडेका छैनन् । हरेक वर्ष महत्त्वपूर्ण तिथिहरू, पृथ्वी जयन्ती, दसैं, तिहार, छठ आदिमा सार्वजनिक वक्तव्य दिन्छन् । शक्तिपीठको दर्शन गर्न पुग्छन् । त्यस्तो अधिकांश बेला भीड जम्मा हुन्छ र ‘राजा आऊ देश बचाउ’ को नारा लाग्छ । बुहारी हिमानी शाह मीठो मुस्कानसहित ‘समाजसेवा’ मा उत्रन्छिन् । राजाकै शैलीमा पूर्वराजाले आमनागरिकलाई दसैंमा टीका लगाइदिन्छन् । 

रोचक के छ भने पूर्वराजाका सार्वजनिक समारोहमा देखिने सक्रियतालाई लिएर नेताहरू पनि बेला–बेलामा तरंगित हुने गरेका छन् । १९ साउनमा झन्डै दुईतिहाइ जनमत प्राप्त सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सार्वजनिक समारोहमै शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्ने चेतावनी दिएका थिए ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ राजनीतिक रूपमा राजा देखाएर आफ्नो गल्ती ठीक देखाउन र क्षम्य बनाउन पूर्वराजालाई चर्चामा ल्याइने बताउँछन् । ‘राजा देखाएर आफ्नो गल्ती ठीक बनाउने र क्षम्य बनाउन राजनीतिज्ञहरूले राजाको डर देखाउँछन्,’ श्रेष्ठ भन्छन्, ‘नत्र राजासँग डराउनुपर्ने कारण नै के छ र ? उनको समर्थन गरेको दल राप्रपा नेपालले पाएको मत हेर्नोस्, जनताले रुचाएको त देखिँदैन ।’ 

उनी पूर्वराजपरिवारका हरेक गतिविधिले चर्चा पाउनुका पछाडि नेपाली मिडियाको स्वभावलाई पनि कारण मान्छन् । ‘पूर्वराजपरिवारका कुरा छाप्दा बढी पत्रिका बिक्छ होला, बढी समाचार सेयर हुन्छ होला,’ उनी भन्छन्, ‘त्यसैले मिडियाको यो प्रवृत्तिले पनि काम गरेको छ ।’ 

निरन्तर चर्चामा 

पूर्वराजा ज्ञानेन्द्र नेपालको शाहवंशीय इतिहासमा दुई पटक राजा भए । २००७ सालमा हजुरबुबा त्रिभुवनले देश छाडेपछि उनलाई नाबालक अवस्थामै राणाहरूले राजा घोषित गरे । दोस्रो पटक २०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्र राजा भए । दोस्रो पटक राजगद्दी सम्हाल्दा उनी तीव्र आलोचित बन्न पुगे । त्यसका लागि प्रमुख जिम्मेवार कार्यकारी अधिकार आफ्नै हातमा लिने उनको कदमलाई मानिन्छ । दुई पटक राजा बन्दा उनले झन्डै सात वर्ष राजाका रूपमा शासन गर्ने मौका पाए । 

२०६२/०६३ को दोस्रो जनआन्दोलनको सफलतापछि बदलिएको राजनीतिक माहौलमा राजसंस्था थप कमजोर हँुदै गयो । संविधानसभाको पहिलो बैठकबाट २०६५ मा विधिवत् बिदा भयो । संसद्को उक्त निर्णयलाई स्विकार्दै ज्ञानेन्द्र शक्तिकेन्द्र नारायणहिटीबाट नागार्जुन बसाइँ सरे । केही समय नागार्जुन बस्दा उनले ‘आत्मकथा’ लेख्न थालेको चर्चाहरू चले । यतिमात्र होइन, सरकारले नागार्जुनमा उनलाई पानी र बिजुली नदिएको प्रसंग पनि त्यतिबेला निकै चर्चामा रहेको थियो । 

नागार्जुन सरेका ज्ञानेन्द्र अहिले महाराजगन्जस्थित निर्मल निवास बस्छन् । नारायणहिटी छोडेको केही समय उनी मौन थिए । जब उनले राजतन्त्र घोषणा अन्त्य भन्ने कुरा ‘हाइपोथेटिकल’ भनेर मौनता तोडे, पुन: चर्चामा आउन थाले । त्यसयता उनी निरन्तरजसो विदेश सयर, देश दौडाहा, समाजसेवा, वक्तव्यबाजी र धार्मिक अनुष्ठानहरूमा व्यस्त छन् । दसैंमा टीका लगाइदिने, राजसी शैलीमा शक्तिपीठ र धार्मिक अनुष्ठान निस्कने, देश भ्रमणमा निस्किएर जनताका गुनासा र जयजयकार सुन्ने, दान दिने, राजारानीकै नाममा विशेष पर्वहरूमा शुभकामना पठाउनेजस्ता कामहरूमा पनि ज्ञानेन्द्रले निरन्तरता दिइरहेका थिए । पछिल्ला वर्षहरूमा पनि उनको धार्मिक तथा सांस्कृतिक सक्रियता कम भएको छैन । बुहारी हिमानीले सुरु गरेको हिमानी ट्रस्टमार्फत उनी समाजसेवामा पनि सक्रिय छन् । 

प्राय:जसो पुस–माघमा मधेस झर्ने कार्यतालिका हुन्छ । निर्मल निवास स्रोतका अनुसार राजा जाडो छल्न तराई झरेका बेला त्यो अवसरलाई जनता तथा शुभचिन्तकसँग भेटघाट तथा त्यहाँका शक्तिपीठमा पूजाआजाका लागिसमेत प्रयोग गर्छन् । ‘उहाँको दमकमा घर छ, जाडो छल्न सधैंभन्दा पनि प्राय: तराई झर्नुहुन्छ,’ निर्मलनिवास स्रोत भन्छ, ‘त्यसक्रममा घेटघाट तथा शक्तिपीठमा पूजाआजा पनि गर्नुहुन्छ ।’ 

गत वर्षको फागुन २९ गते जनकपुर पुगेका शाह चैत ३ गते झापा पुगे । यो अवधिमा उनले तराईका विभिन्न जिल्लाका शक्तिपीठ मात्रै घुमेनन्, जनमत बुझ्ने प्रयास पनि गरे । काठमाडौंमा एकथरी उनका भारत, सिंगापुर र थाइल्यान्डमा हुने व्यक्तिगत भ्रमणलाई पनि शक्तिकेन्द्रसँगको साँठगाँठका रूपमा चर्चा गर्ने गर्छन् ।

जब–जब चर्चामा आए

    २०६६ चैतमा इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘राजतन्त्रको अन्त्य हाइपोथेटिक’ भएको धारणा व्यक्त 

    ९ जेठ २०६७ नेपालगन्ज भ्रमण, धार्मिक कार्यक्रममा सरिक 

    २ असार २०६७ पर्साको परवानीपुरस्थित वैष्णो मन्दिरबाट सुरु गरेर ७ असारसम्म बारा, पर्सा र रौतहटका प्राय: सबै धार्मिक धाममा पूजा

    १० साउन २०६७ भक्तपुरको चित्तपोलमा पूजाआजा, महायज्ञमा सरिक

    १५ साउन २०६७ बाराको प्रस्कोटमा विद्यालय भवनको उद्घाटन

    २८ साउन २०६७ भारतका पूर्वराजदूत केभी राजनसँग होटल अन्नपूर्णमा भेट

    २१ भदौ २०६७ फुटुङमा सप्तऋषेश्वर महादेवको उद्घाटन 

    २६ भदौ २०६७ विराटनगरमा गणपति महोत्सव उद्घाटन

    ६ असोज २०६७ सरकारले कुमारीको दर्शन गर्न रोक लगाएपछि पूर्वकुमारीहरूसँग निर्मल निवासमा भेट 

    २२ असोज २०६७ बुहारी हिमानीले सञ्चालनमा ल्याएको हिमानी ट्रस्टको होटल सोल्टीमा उद्घाटन 

    २३ असोज २०६७ पाटनस्थित बंगलामुखी मन्दिरमा पुजा तथा सवा १ करोड दीप प्रज्वलन 

    १६ वैशाख २०७३ नयाँदिल्ली भ्रमणमा  

    ७ साउन २०७३ सपरिवार युरोप भ्रमणमा 

    ४ कात्तिक २०७३ विराट हिन्दू सम्मेलनमा राजनीतिक रंग दिने भाषण 

    २४ कात्तिक २०७३ सिंगापुर प्रस्थान 

    १२ मंसिर २०७३ तीन साता लामो सिंगापुर भ्रमण सकेर स्वदेश फिर्ता 

    ७ पुस २०७३ तराई, पहाड, हिमाल एक रहनुपर्छ भन्ने धारणा व्यक्त  

    २६ पुस २०७३ पृथ्वीजयन्तीका अवसरमा दशक नबित्दै नेपाल बच्ने हो कि होइन भन्ने चिन्ता बढेको धारणा सार्वजनिक

    पुस २०७४ नेपालगन्जमा सोल्टी होटलको उद्घाटन, धनगढीमा धार्मिक कार्यक्रममा सरिक

    २३ पुस २०७४ नेपालगन्जबाट स्थलमार्ग हुँदै लखनउ प्रस्थान 

    २४ पुस २०७४ पूर्वराजा शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनउमा भेट 

    २६ पुस २०७४ नयाँ नेपालको सपना देखाउँदै गरिएका राजनीतिक परिवर्तनपश्चात् सार्वभोमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको धारणा सार्वजनिक 

    २२ माघ २०७४ साताव्यापी भारत भ्रमण निस्कँदा हिन्दुत्वलाई सरल, व्यावहारिक र स्वीकार्य बनाउनुपर्छ भन्ने धारणा व्यक्त 

    १३ माघ २०७५ एक महिना तराई यात्रामा प्रस्थान 

    १ चैत २०७५ जानकी मन्दिरमा वर्तमान नेतृत्वसँग जनता सन्तुष्ट नरहेको धारणा व्यक्त 

    १ वैशाख २०७६ नयाँ वर्षको शुभकामनामा राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाली जनताको साथमा रहेको धारणा व्यक्त  

    २ असार २०७६ एक महिना लामो थाइल्यान्ड बसाइपछि स्वदेश फिर्ता 

    असोज २०७६ दसैंको शुभकामना सन्देशमा राष्ट्रियता धर्मराएको, शान्ति र अमनचयन हराएको र फेरि विद्रोहको भुसको आगो भित्रभित्रै सल्किँदै गएको अवस्थाले कसैको हित नहुने धारणा व्यक्त ।

 १२ कात्तिक २०७६ परिवर्तनकर्तालाई अप्ठ्यारो पर्न सक्छ भन्ने धारणा व्यक्त  । (साप्ताहिकबाट)