उच्च अदालतले महरालाई माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’ 

२०७६ मङ्सिर ६ शुक्रबार १५:१३:०० मा प्रकाशित

काठमाडौँ । जिल्ला अदालतको निर्णयमाथि उच्च अदालत पुगेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ । 

महराकातर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो । 

निवर्तमान सभामुख कृष्णबहादुर महराले दर्ता गराएको निवेदनको सुनुवाइ पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासमा भएको थियो। संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास अभियोग लागेपछि काठमाडौं जिल्ला अदालतको आदेशमा डिल्ली बजार कारागारमा रहेका महरा १७ नम्बर निवेदन उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुवेदीको इजलासमा दर्ता भएको थियो।   

महराले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दर्ता गराएको निवेदन शुक्रबार मुख्य न्यायाधीश सुवेदीको इजलासमा पेस भएको हो। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध महरा उच्च अदालत पुगेका थिए ।