नवनियुक्त मन्त्रीले लिए शपथ

२०७६ मङ्सिर ५ बिहीबार १२:०४:०० मा प्रकाशित

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भुसाललाई कृषिमन्त्रालय, रामेश्वर राय श्रम मन्त्रालय र भट्टलाई उद्योग मन्त्रालय, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए ।