३६ लाख नगदसहित भारतीय हुण्डी कारोबारी पक्राउ 

२०७६ मङ्सिर १ आइतबार १७:४६:०० मा प्रकाशित

काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद रहेको कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले  जनाकारी दिए । अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचना प्राप्त भएपश्चात खटिएको टोलीले प्रसादलाई पक्राउ गरेको उनको भनाई छ । 

प्रहरीले उनलाई आइतबार बिहान कुलेश्वरबाट पक्राउ गरेको हो । उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल पनि बरामद भएको छ ।