एउटै परिवारमा संसारका सबैभन्दा बढी अल्जाइमर्स रोगी 

२०७६ कार्तिक २३ शनिबार १४:०२:०० मा प्रकाशित

मानिसको उमेर छिप्पिँदै जाँदा अनुभव धेरै हुने र व्यावहारिक ज्ञान बढ्ने भए पनि उसको बौद्धिक क्षमता कम हुन्छ भन्ने मान्यता छ । उमेर खाइसकेका व्यक्तिहरु कार्यक्षमतामा पनि कमजोर हुँदै जान्छन् भनिन्छ । 

तर, सबैतिर यस्तो मान्यता छैन । कुनै–कुनै समुदायमा, परम्परागत मान्यता र मूल्यअनुसार चल्नेहरुमा जति–जति पाको उमेर भयो, उति सक्षम मानिन्छ । आधुनिकताबाट अलग रहेर आफ्नै खालको जीवनशैली अपनाउने कतिपय आदिवासी समुदायमा उमेर छिप्पिएको व्यक्तिलाई वरिष्ठ मानेर मात्र हैन कि क्षमतावान, अनुभवी र बुद्धिमान ठानेर विशेष आस्था र सम्मान गरिन्छ । हाम्रो देशमा पनि कुनै–कुनै जाति, समुदाय या समूहमा सबैभन्दा बूढोलाई आफ्नोे समूहको ‘थकाली’ मानेर उसैको आदेशमा सांस्कृतिक र परम्परागत चलन पालना गरिन्छ । त्यस्ता थकालीको रायलाई अन्तिम फैसला मानिन्छ । उसको क्षमता र बौद्विक स्तरमा कसैले प्रश्न उठाउँदैन ।

उमेर छिप्पिएका व्यक्तिको मस्तिष्कले ढिलो र बिस्तारै काम कम गर्छ तर परिपक्व निर्णय लिन्छ र खतरा मोल्ने बानी कम हुन्छ । बोल्दा आवेश र वेग कम हुन्छ । तर, शब्द चयन र वाक्य बनावट गहकिलो हुन्छ । एक पटक निर्णय लिइसकेपछि धरमराउँदैन र आफ्ना निर्णयमा अडिग हुन्छ । जवान र पाको मस्तिष्कबीच यस्ता केही सूक्ष्म फरक छन् । तर, अहिलेको बिकसित सभ्यतामा भने त्यसको ठीक उल्टो चलन छ । मानिस बूढो हुँदै गएपछि शरीर मात्र हैन मन, भावना र बुद्वि पनि कमजोर हुन्छ भन्ने सिद्धान्तका आधारमा एउटा निश्चित उमेर पुगेपछि उसलाई जिम्मेवारीबाट हटाइन्छ र साधारण मात्र काम दिइन्छ । धेरैजसो देशमा ६० देखि ६५ वर्षको अवधिभित्र त्यो सीमा तोकिएको हुन्छ ।

समाज या राज्यले ६० या ६२ वर्षमा अब काम गर्न नसक्ने भनिदिएपछि व्यक्ति आफू पनि दुर्बल बुद्धिको र कमजोर भएको अनुभव गर्छ । यसरी समाजले नै मानिसलाई बुढ्यौलीमा कमजोर ठान्ने सोच स्थापित भइसकेको छ । तर, वास्तविकता भने केही फरक छ । भनिन्छ, हामी जीवनभरिमा आफ्नो सम्पूर्ण मस्तिष्कको ऊर्जाको सानो अंश मात्र प्रयोग गर्छौं । जीवनभर प्रयोगमा ल्याएको मस्तिष्कको शक्ति, क्षमता भण्डारणको ढकनी नखुली बन्द अवस्थामै मान्छेको मृत्यु हुन्छ र शरीरसँगै नाश हुन्छ ।

यदि हामीले आफ्नो काम व्यवसायबाट छुटकारा लिए पनि बाँकी सुशुप्त अवस्थामा रहेको असीमित बौद्विक भण्डारलाई कुनै जुक्तिले खोल्न सक्यौं भने बूढेसकाल पनि उत्तिकै क्रियाशील र रचनात्मक हुन्छ । त्यसैले उमेर ढल्किसक्यो, बूढो भइयो, खासै केही गर्न सकिएन, भ्याइएन भनेर हरेस खानु जरुरत छैन । बरु पारिवारिक जिम्मेवारी र व्यावसायिक दायित्वबाट मुक्त भएपछि अझसम्म प्रयोगमा नआएको विशाल क्षमता भण्डारलाई स्वतन्त्र रूपले क्रियाशील गर्न सकेमा पहिलाभन्दा अझ सिर्जनशील बन्न सकिन्छ । तर, सधैं जीवनको रेखा यसरी कोरिँदैन । यसमा बाधा हाल्छ– उमेर छिप्पिएपछि लाग्ने एउटा विशेष रोग डिमेन्सियाले ।

तीन दशकअघि मैले नेपालमा काम गर्न सुरु गर्दा यस्ता रोगी खासै भेटिँदैनथे । हाम्रो समाजमा सायद खान–पान, रहन–सहन र आनुवंशिक कारणले यो काम भएको होला भन्ने लाग्थ्यो । तर, आज त्यो अवस्था छैन । हामी प्रायजसो प्रत्येक दिन डिमेन्सियाका बिरामी परीक्षण गरिरहेका हुन्छौं । अहिले औसत आयु लामो भएकाले पनि यस्ता रोगीको संख्या बढेको हुनुपर्छ । साथै उच्च रक्तचाप, मधुमेह जस्ता मस्तिष्कलाई प्रत्यक्ष प्रभाव पार्ने रोग बढ्न थालेपछि तिनीहरुले पनि डिमेन्सियालाई सहयोग पु¥याउँछन् ।

डिमेन्सियाबाट प्रभावित व्यक्तिको अवस्था नाजुक र दयनीय देखिन्छ । उनीहरु परीक्षण कोठामा पसेपछि मैले अभिवादन गर्दै ‘बस्नोस्’ भने पछि अगाडि खाली कुर्सी हुँदाहुँदै कता बस्ने भन्ने मेलो पाउँदैनन् । ‘यसमा बस्नोस्’ भनेर कुर्सी अलि घचेटेर उनीतिर पु¥याइदिएपछि बल्ल बस्छन् । किन मलाई यहाँ ल्याइयो, यो के ठाउँ हो, मेरो अगाडि सेतो कोटसहित काँधमा स्टेथोस्कोप भिरेको को मान्छे हो भन्ने पनि उनलाई आभास हुँदैन ।

संवाद गर्न थालेपछि ‘अँ ठीक छ’ भन्दै प्रश्नकर्ताको वाक्यको केही भाग दोहो¥याएर बिनाकारण हाँस्न थाल्छन् । सोध्यो भने ‘केही पनि भएको छैन’ भनेर आफू स्वस्थ्य भएको जवाफ दिन्छन् । अक्सर जानकारीसहितको उत्तर दिनुप¥यो भने बिनाअर्थको सर्वनाम शब्द प्रयोग गर्छन् । यस्ता समस्याको समयमा देखिने एउटा छोटो प्रतिनिधि संवाद यस्तो हुन्छ । 

डाक्टर:  तपाईंको  नाम के हो ?
रोगी:  मेरो नाम रामप्रसाद हो ।
डाक्टर:  कति वर्ष हुनुभयो ?
रोगी: कति वर्ष ? त्यै त हो नि !
डाक्टर: तपाईंको घर कहाँ हो ?
रोगी:  त्यहीं हो ।
डाक्टरः आज खाना खानुभयो ?
रोगी: खाएँ ।
डाक्टरः के खानुभयो ?
रोगी:  त्यै......
डाक्टरः के, भात कि रोटी ?
रोगी: रोटी ।
डाक्टरः रोटी कि भात ?
रोगी:  भात ।
डाक्टरः कहाँ खानुभयो ?

रोगी: त्यहीं ।
डाक्टरः कसले खान दियो ?

रोगी: त्यसैले ।
डाक्टरः (कलम देखाएर) यो के हो ?
रोगी:  लेख्ने हो ।
डाक्टरः यसलाई के भन्छन् ?
रोगी:  त्यही हो ।
डाक्टरः (आफन्तलाई देखाएर) उहाँ को हो ?
रोगीस् छोरा ।
डाक्टरः  छोरा कि भाइ ?

रोगी: खोइ त्यही हो ।
डाक्टरः उहाँको नाम के हो ?
रोगी:  त्यही हो ।
डाक्टरः हामी अहिले कहाँ छौं ?

रोगी: यहीं ।

यसरी प्रायः एउटै शब्दले उत्तर दिने, आफन्तलाई पनि नचिन्ने, समय र स्थानको ख्याल नहुने अलि कडै अवस्थाको रोग हो । तर, सबै रोग यस्तै खाले हुँदैनन् । अक्सर डिमेन्सिया सुरु हुँदा कुनै कुरा बिर्सने तर सम्झाइदिएपछि चाहिँ याद गर्ने हुन्छ । तर, यो बिर्सने बानी बढ्दै जान्छ । हुँदाहुँदा टोल छिमेकबाटै आफ्नो घर आउन नसक्ने, घरभित्र आफ्नो कोठा फेला नपार्ने, पारिवारका मानिस नचिन्ने, आफ्नोे साविकको दैनिकी पालना गर्न नसक्ने र अरूको सहायता चाहिने हुन्छ । सुरुमा स्मृति मात्रै हराउँदै गए पनि पछि गएर भाषा कमजोर हुने, शब्द–कोष हराउने, सिकी राखेको बानी सबै भुल्ने हुन्छ । सुरुमा हिजोआजका नयाँ कुरा मात्र बिर्सने र धेरै पुराना कुरा चाहिँ सम्झने हुन्छ । 

यो रोगबाट पीडित कतिपय महिलाले आफ्नो बचपन र किशोरावस्थाको मात्र याद गर्ने र पछि हालसम्मकै कुरा बिर्सिने गर्छन् । आफ्नै घरमा परिवारसहित बसिरहेका बेला ‘मलाई मेरो घर लगिदेओ’, ‘यो मेरो घर हैन’, ‘कहाँ ल्यायौ रु’ भनेर झगडा गर्छन् । एक पटक एउटा संकटको स्थिति पैदा भएको थियो । डिमेन्सिया भएकी महिलाले परिवारका कसैलाई पनि चिन्दिनथिईन् । परिवारले जसोतसो उनलाई सम्हालेर स्याहार गरिरहेका थिए । श्रीमान्मा बढी नै जिम्मेवारी आएको थियो । परिवारका अरू सदस्य आफ्नो काममा व्यस्त हुनुपरेको र श्रीमान् पनि अवकाशप्राप्त हुनाले रोगीको रेखदेख गर्ने मुख्य जिम्मा उनकै थियो । ‘विवाह गरेदखि यो रोग नलागेसम्म यसले मेरो सेवा गरेकी थिई, अब त्यो ऋण चुकाउन पनि मैले नै यसको स्याहार गर्नुपर्छ’ भन्ने उनको सोचाइ थियो । तर, महिलाको स्मरण शक्ति पूरै क्षीण भएकाले उनले श्रीमान्लाई अपरिचित व्यक्ति आफ्नो बिछ्यौनामा सुत्न आयो भनेर पिटेर धपाउने, चिच्याउने गर्न थालिन् । उनको यो व्यवहार अति भएपछि श्रीमान् अर्को कोठामा गएर सुत्नुपर्ने भयो । 

यस्ता बिरामीमा रोग बढ्दै गएपछि फोहोर र सफा कुराको अन्तर थाहा हँुदैन र लाज शरमको अनुभूति हराउँछ । आफूलाई भोक तिर्खा लागेको पनि व्यक्त गर्दैनन् । कहीँ दुख्यो वा दिसा–पिसाब लाग्यो भने त्यो पनि जानकारी दिँदैनन् । स्याहार गर्ने व्यक्तिले आफ्नो अड्कलले खुवाउने र बाथरुम लाने गर्नुपर्छ । अरूले भनेको कुरो नबुझेर एकोहोरो ढिपी गर्ने र रोक्न खोज्दा रिसाउने, पिट्ने र तोडफोड गर्ने समेत हुन्छ । यस्ता बिरामी परिवारका लागि कतिसम्म समस्या बन्छन् भन्ने सहजै अनुमान लाउन सकिन्छ । रोकतोक नगरी सहज घुमफिर गर्न दिन मिल्ने अवस्थामा स्याहार गर्न केही सजिलो हुन्छ । त्यसैले यस्ता बिरामीलाई शहरको घरमा राख्दा जति गाह्रो हुन्छ, गाउँमा त्यति हँुदैन । फेरि गाउँमा टाढाटाढाका आफन्त र छिमेकीले पनि चिन्ने हँुदा कतै भौँतारिएको देखेपछि घर जान सहयोग गर्छन् । तर, शहरमा हराएपछि फेला पार्न गाह्रो हुन्छ । 

उच्च रक्तचाप, मधुमेह, टाउकोको चोटपटकजस्ता शारीरिक रोगको प्रभावबाट देखापरेको डिमेन्सिया केही हल्का खालको हुन्छ । यो रेखदेख गर्न सजिलो हुन्छ । त्यसबाहेक यस किसिमका रोगीको अवस्था आफैँ केही घटबढ भइरहन्छ । बौद्धिक ह्रास भए पनि व्यक्तित्वका सम्पूर्ण आयाम क्षीण हुँदैनन् । तर, कारणबिना नै मस्तिष्क आफैँ सुक्दै र खिइँदै गएर पैदा हुने डिमेन्सिया गम्भीर हुन्छ । यसले बिरामीको परिवारलाई ठूलो चुनौती दिन्छ । किन र कसलाई यस्तो रोग लाग्छ भन्ने पहिल्यै भन्न सकिँदैन ।

केही दशकअघि बेलायतको राजनीतिमा विशेष स्थान राख्ने चर्चित र आफ्नो पालाको शक्तिशाली प्रधानमन्त्री मार्गरेट थ्याचरलाई ‘लौह महिला’ भनिन्थ्यो । हालै दिवङ्गत भएकी थ्याचर पछिल्लो समय यही रोगबाट पीडित थिइन् । उनलाई म मार्गरेट थ्याचर हुँ र भूतपूर्व प्रधानमन्त्री हुँ भन्ने ज्ञानसमेत थिएन । त्यस्तै, उनैका समकालीन अमेरिकाका चर्चित राष्ट्रपति रोनाल्ड रेगन पनि यसैको गम्भीर रूप अलजाइमर्सबाट पीडित थिए ।

पाको उमेरमा देखिएको व्यापक बौद्धिक ह्रासलाई मात्र डिमेन्सिया भनिन्छ । अक्सर डिमेन्सिया पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । डिमेन्सिया हुनमा आनुवंशिक र शरीर तथा मस्तिष्कको बनावट मुख्य रूपले जिम्मेवार छ । तैपनि बाह्य कारणले पनि यो रोग पछि घचेटिन या चाँडो निम्तिन मद्दत पुग्छ । डिमेन्सिया लाग्नु नै छ भने अस्वस्थ खानपान, धूमपान, मद्यपान र निस्क्रिय जीवन शैलीले छिटो निम्तिन सक्छ । त्यस्तै, शारीरिक व्यायाम गर्ने, सामाजिक रूपले सक्रिय, मित्रहरुबीच निरन्तर घुलमिल हुने, लेखपढमा व्यस्त हुने, चेस, बाघचाल, क्तस–वर्ड जस्ता दिमागी खेलमा संलग्न हुने जस्ता कुराले डिमेन्सिया पछि धकेलिन्छ । यस्ता व्रिmयाकलापले रोग लाग्ने समय पछि घचेटेर निकै ढिला गराइदिए भने त्यस बेलासम्म हामी आफ्नो जीवन चक्र घुमिसक्छौँ । डिमेन्सियाले नभेट्टाउन पनि सक्छ । ऊ आउँदै गर्छ, हामी अगाडि नै स्वस्थ अवस्थामा बिदा हुन्छौँ ।

उमेर बढ्दै गएपछि डिमेन्सियाको सम्भावना पनि बढ्दै जान्छ । ६० वर्षदेखि ७० वर्षका व्यक्तिको समूहमा यो औसत १ देखि ५ प्रतिशतसम्म हुन्छ भने ७० देखि ८० वर्षमा २० प्रतिशत र ९० देखि १०० वर्षमा झन्डै ४० प्रतिशतसम्म देखा पर्छ । सय वर्षमाथिका व्यक्तिमध्ये आधाजति डिमेन्सियाबाट पीडित हुन्छन् । हिजोआज दशैंमा टीका थाप्दा म आफ्ना मान्यजनसँग मलाई आशीर्वाद दिँदा “आयु द्रोणसुते।।।” भनेर दीर्घायू हुने कामना नगर्नोस् बरु निरोगी भएर बाँचुन्जेल सक्रिय भएस् भन्नोस् भन्ने गर्छु । मेरो यस्तो गम्भीर ठट्टा सबैले बुझ्दैनन् । मानिसलाई कडा खालको डिमेन्सिया किन हुन्छ अझै यकिन भइसकेको छैन । किन हुन्छ भन्ने थाहा नभए पनि यो रोग लाग्दा मस्तिष्कमा के–के हुन्छ, त्यो चाहिँ थाहा छ ।
अल्जाइमर्स भनिने डिमेन्सिया हुँदा मस्तिष्क सुक्दै, खिइँदै गएर सानो हुँदै जान्छ । भित्रका खाली चरहरु चौडा भएर पूरै दिमाग नै खोक्रो हुन्छ । यस्तो हुनुमा हाम्रो मस्तिष्क, स्नायु–तन्तुहरुको ठूलो संख्यामा मृत्यु हुँदै जानु हो । न्यूरोनको मृत्यु हुनुको मुख्य कारणमा त्यसभित्रको तरल पदार्थ दूध फाटेजस्तै फाटेर छोक्रा–छोक्रा बन्नु हो । 

न्यूरोनभित्र जम्मा भएका छोक्रा घातक र विषालु हुन्छन् र न्यूरोनको मृत्यु हुन सघाउँछन् । यस्ता छोक्रालाई विटाएमिलोइड प्रोटिन भनिन्छ । जुन एकत्रित भएपछि एमिलोइड प्लाक बन्छन् । यस्ता प्लाक डिमेन्सियाका बिरामीको मस्तिष्कमा माइक्रोस्कोपबाट देख्न सकिन्छ । कसैको न्यूरोनमा उमेर पाको हुँदै जाँदा किन यसरी सिटोल्पाज्म फाटेर यस्ता छोक्ता पैदा हुन्छन् त्यो भने स्पष्ट छैन । माथि भनेजस्तै आनुवंशिक कमजोरी र अवस्थ्य जीवनशैली नै आजसम्म यसका कारक मानिन्छन् ।

झन्डै २० वर्षअगाडिको कुरो हो । मेरा छोरीहरुले भर्खरै पढाइ सुरु गरेका थिए । तिनीहरुलाई अङ्ग्रेजी बोल्न सजिलो होस् र अरू देशका मान्छेसँग पनि घुलमिल गर्ने मौका मिलोस् भनेर म नेपाल घुम्न र अध्ययन गर्न आउने विदेशी विद्यार्थीलाई पाहुना बनाएर घरमा राख्न लालायित हुन्थेँ । मेरी जीवनसाथी डा।अरूणा उप्रेतीको व्यक्तिगत सम्पर्क धेरै हुनाले उनीमार्फत् अमेरिकी कलेजका छात्राहरु ३–४ महिनाका लागि हामीसँग बस्न आउँथे । प्रायः दशैँको बेला पर्ने हुनाले उनीहरुलाई लिएर म स्याङ्जाको गाउँमा रहेको मूलघर जान्थेँ । मेरो घरमा बाजेबज्यै नभए पनि छरछिमेकमा बुबाआमा, बाजेबज्यैसहित चार पुस्ता सँगै बसिरहेका हुन्थे । 

ती विद्यार्थीहरु त्यस्तो पारवारिक बनावट देखेर छक्क पर्थे । उनीहरुको आफ्नो देशमा एउटै मात्र सन्तान पनि १८ वर्ष उमेर पुग्नासाथ घर छोडेर साथीसँग वा एक्लै बस्ने चलन छ । यदि कोही १८ वर्ष पुगेपछि पनि बाबुआमाकै घरमा बसेको छ भने उसलाई कमजोर, परनिर्भर, हुतीहारा, बाआमासँग टाँस्सिएको छाउरो भनेर गिज्याउने चलन छ । यहाँको छोराबुहारी, नातिनातिना अझ पनाती–पनातिनीसँगै बस्ने चलन उनीहरुका लागि अचम्म लाग्थ्यो । कति विदेशीले मलाई ‘तिम्रो देशमा जरुरत नपर्ने भएकाले वृद्वाश्रम नै छैनन् होला’ भन्ने गर्थे । केहीले यसरी मिलेर बस्दा त डिमेन्सिया र अल्जाइमर्सबाट पीडित व्यक्तिलाई पनि परिवारमै राख्न सकिन्छ होला हैन भन्ने प्रश्न गर्थे ।

हुन त यहाँ वृद्वाश्रम जरुरत नभएर भन्दा पनि देश गरिब भएर खुलेका थिएनन् । तर, त्योबेला डिमेन्सिया भने समस्याको रूपमा नभएजस्तो लाग्थ्यो । मैले हाम्रो समाजमा पारिवारिक सम्बन्ध र वृद्ध अवस्थासम्म सक्रिय रहने र महत्वपूर्ण जिम्मेवारी लिने हुँदा वृद्ध व्यक्ति मानसिक रूपले सक्रिय हुन्छ, डिमेन्सियाको गुञ्जायस रहँदैन भनेर अलिक बढी गर्व गर्थें । हुन पनि त्यसबेला डिमेन्सियाका बिरामी अपवादको रूपमा अस्पताल या क्लिनिकमा ल्याइन्थे । तर, अब त्यो अवस्था छैन । डिमेन्सियाका बिरामीलाई उचित सेवा दिने स्थान नहुनाले तिनीहरु परिवारका लागि ठूलो चुनौती बन्दै गएका छन् । यो समस्याले पश्चिमा मुलुकमा गम्भीर रूप लिएको छ । यसको सफल उपचारको अभाव र रोकथामको कुनै उपाय नभएकाले पनि स्थिति अझै जटिल बनेको छ । 

२०१२ मे ५ देखि ९ मा बैंककमा आयोजित रोटरी इन्टरनेसनलको कन्भेन्सनमा क्योर अल्जाईमर्स फण्ड भन्ने संस्थाले केही रोचक तथ्य प्रस्तुत गरेको थियो । इराक र अफगान युद्वमा अहिले अमेरिकाको वार्षिक खर्च १ सय ५० अर्ब डलर जति छ रे १ अनि अमेरिकाको पूरै राष्ट्रिय स्वास्थ्य सेवा मेडिकेयर र मेडिकेडको कुल खर्च २ सय अर्ब डलर छ भने अल्जाईमर्सका बिरामीका लागि मात्र कुल खर्च २ सय ५० अर्ब डलरभन्दा बढी पुग्छ रे १

यो रोगको क्षेत्रमा केही सफलता पनि प्राप्त भएका छन् । त्यही सम्मेलनमा त्यही संस्थाद्वारा प्रस्तुत जानकारीअनुसार जीनेटिक अनुसन्धानबाट यो रोगसँग सम्बन्धित ५ वटा मुख्य र १ सय जति सहायक जीन फेला परेका छन्, जसले यो रोग पैदा गराउन बीउको काम गर्छन् । ती पाँचमध्ये एउटा चाहिँ जीन भेटियो भने त्यो व्यक्तिलाई अल्जाइमर्स हुने झन्डै शतप्रतिशत सम्भावना रहन्छ । कहिले र कत्तिको रूपमा देखा पर्छ, त्यो चाहिँ वातावरणले निर्धारण गर्छ । १७ मे, २०१२ को ‘इन्टरनेसनल हेराल्ड ट्रिब्युन’ मा एउटा लेख छापिएको छ, जसमा अल्जाइमर्सको उपचारका बारेमा लेखिएको छ । यसमा मुख्यतः आनुवंशिक रूपमा जीनका कारण नै कमै उमेरमा देखापर्ने कडा खालको अल्जाइमर्सको उपचारको सम्भावना दर्शाइएको छ । 

कोलम्बियामा एउटा यस्तो परिवार रहेछ, जसमा एउटै परिवारमा संसारका सबैभन्दा बढी अल्जाइमर्सका रोगी रहेछन् । कोलम्बियाको मेडेलिनको दुर्गम पहाडी गाउँमा बसोबास गर्ने पाँच हजार संख्याको ठूलो बृहत् पारिवारिक समूहका व्यक्तिमा एउटा विशेष विकृ जीन फेला परेको छ । यसको कारण ४५ देखि ५० वर्षकै उमेरमा उनीहरुमा गम्भीर खालको अल्जाइमर्स सुरु हुन्छ । अझै रोगले नछोएका तर भविष्यमा यस्तो रोग लाग्ने खतरा भएका यी व्यक्तिमाथि एउटा औषधिको प्रयोग हुँदैछ । तिनीहरुको रोग रोकथाम हुन सक्यो भने त्यो काम अल्जाइमर्सको उपचारमा कोसेढुङ्गा सावित हुन्छ । हुन त त्यस प्रकारको पूरै आनुवंशिक कारणले ४५ वर्षमै लाग्ने खालको अल्जाइमर्सको संख्या अन्यत्र न्यून छ । अधिकांशमा यो समस्या ६५ वर्षपछि सुरु हुन्छ । तर, यो औषधिको प्रयोग सफल भयो भने अल्जाइमर्सबारे धेरै कुरा थाहा हुन्छ र भविष्यमा सफल उपचारको खोजी गर्न सजिलो हुनेछ ।

आशा गरौँ, केही वर्षभित्रै यसको उपचार पद्धति विकास हुनेछ ! (मनोचिकित्सक डा. विश्वबन्धु शर्माको व्यवसायिक अनुभव उनको पुस्तकबाट)