भारत र पाकिस्तानले सागमा भाग नलिने

२०७६ कार्तिक २२ शुक्रबार १८:५०:०० मा प्रकाशित

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग०मा भारत र पाकिस्तानले क्रिकेटमा सहभागीता नजनाउने भएका छन् । 

नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।
भारत र पाकिस्तानले क्रिकेटको टिम दर्ता गराएनन् ओलम्पिक कमिटीले भन्यो । 

अब क्रिकेटमा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । जस अनुसार नेपालको पदक सम्भावना बलियो देखिन्छ । 

यस्तै फुटबलमा बंगलादेशले नाम दर्ता गराएन । 

नेपालमा हुने १३ औ  सागमा ३२ सय ९ खेलाडी सहभागी हुने भएका छन् ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशले ३२ सय ९ खेलाडी सहभागी हुने जनाएका हुन् ।


नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको संख्या अनुसार सबै भन्दा धेरै आयोजक नेपालका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी    हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

मार्सल आर्ट नपाएपछि अफगानिस्तान नखेल्ने

अफगानिस्तानले मार्सल आर्टको विधामा सहभागी हुन नपाउने भएपछि १३ औ साग नखेल्ने भएको छ । मध्यपुर्वी एसिया छाड्दै दक्षिण एसियामा फर्कने निर्णय गरेको अफगानिस्तानले १३ औ सागमा सहभागीताका लागि पत्राचार गरेको थियो ।

एसियन ओलम्पिक काउन्सिलले समेत अफगानिस्तानलाई सागमा सहभागी गराउन दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई आग्रह गरेको थियो । तर आयोजक नेपालले मार्सल आर्ट बाहेक अन्य खेलमा मात्र सहभागी गराउने बताएपछि अफगानिस्तान पछाडी हटेको हो ।