अयोग्य नेतृत्वको परिणाम: कुवेत नेपाल आउन मानेन, घरेलु मैदानका दर्शक निराश

२०७६ कार्तिक २२ शुक्रबार १३:००:०० मा प्रकाशित

 काठमाडौं ।  सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट खेलिरहेको नेपाललाई पहिलो घरेलु खेलको चटारो थियो । १२ औँ खेलाडी (दर्शक/समर्थक) पनि रंगशालामा खेल हेर्न उत्साहित देखिन्थे । छनोटको दोस्रो चरण अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अवे चार खेलमध्ये तीन खेलमा लज्जाष्पद पराजय व्यहोरेको बदला लिने सोच बनाएको थियो । ४ अवे खेलमा ३ अंक मात्र हासिल गरेको नेपाल घरेलु मैदानमा दर्शकको साथ लिएर कम्तिमा पनि केही जीत निकाल्ने दाउमा थियो । यही लक्षको साथ मंसीर ३ गते घरेलु मैदान दशरथ रंगशालामा आउन कुुवेतलाई निम्तो पनि दिईएको थियो ।

कुवेत बिरुद्धको खेलको लागि रंगशाला पनि तयार हुँदैथियो । स्कोर बोर्ड, फ्लड लाइट र घाँसे मैदान तयार भएको थियो भने प्याराफिटमा कुर्सी हाल्ने काम चलिरहेको थियो । भीआईपी प्यारापिटको छाना, चेन्जिङ रुम लगायतका अन्य संरचना बन्ने क्रममै थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि घरेलु मैदानमा हुने खेलका लागि तयारी थालेको थियो । तर बिहीबार अचानक कुवेतसँग नेपालमा खेल नहुने भन्दै एन्फाले निराशाजन बिज्ञप्ति निकाल्यो । 

नेपाल र कुवेत बीचको खेल रंगशालामा किन नहुने ?

मंसीर ३ गते नेपाल र कुवेत बीचको खेल दशरथ रंगशालामा हुने तय भएको थियो । त्यसका लागि तयारी चलिरहेको थियो । रंगशाला समयमै निर्माण सम्पन्न नहुने तर खेलाउनका लागि पर्याप्त हुने गरि राष्ट्रिय खेलकुद परिषदले निर्माण गर्ने योजना बनाएको थियो । 

रंगशालामा रातीको समयमा खेल खेलाउने उदेश्यले फ्लड लाईट परीक्षण पनि सकिएको थियो । तर एन्फाले अचानक बिहीबार नेपालमा खेल हुन नसक्ने भन्दै सबै समक्ष माफी माग्यो । कारण थियो– रंगशालाको निर्माणप्रति एएफसी प्रतिनिधिलाई चित्त नबुझ्नु !

एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको अनुगमन पछि रंगशालामा मंसीर ३ मा खेल खेलाउन नसकिने प्रतिवेदन एएफसीलाई बुझाए ।  “अनुगमन रिपोर्टका आधारमा एएफसीले नेपाल र कुवेतको खेल दशरथ रंगशालामा गराउन नसकिने ठहर गरे । हामीले अन्तिमसम्म प्रयास गर्यौं तर सम्भव भएन ” एन्फा स्रोतले भन्यो । 

कुबेतको आनाकानी

२०७२ सालको भूकम्पले क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणको काम जारी रहँदै गर्दा गत भदौको १९ गते नेपालले घरेलु मैदानमा कुवेतसँग खेल्ने तालिका तय गरेको थियो । तर रंगशाला निर्माण नभएका कारण नेपालले कुवेतलाई फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ फिफा मार्फत पहिले अवे खेल खेल्ने प्रस्ताव गर्यो । सोही प्रस्ताव अनुसार नेपालले १९ भदौमा कुवेतको घरेलु मैदानमा पहिलो खेल खेल्यो । खेल कुवेतलाई ७–०ले सुम्पियो ।  

अब नेपालले दशरथ रंगशालामा कुवेतलाई निम्तो दिएको थियो । घरेलु मैदानमा कुवेतलाई कम्तिमा पनि बराबरीमा रोक्ने नेपालको लक्ष थियो । तर कुवेत मंसीर ३ मा हुने खेलका लागि नेपाल आउन राजी भएन । 

किन कुवेतले नेपाल आउने इच्छा गरेन त ?

एन्फा स्रोतका अनुसार, लामो यात्रा र काठमाडौंको चिसोका कारण कुवेतले नेपाल आउन असहज मानेको हो । निकै गर्मीबाट यात्रा गरेर काठमाडांैको चिसोमा खेल्न कुवेतले गाह्रो मानेको छ । पहिलो लिगमा ७–० को जीतको साख जोगाउन पनि कुवेत नेपालसँग थप राम्रो खेल्नुपर्ने दवावमा हुनेछ । त्यसकारण रंगशालाको बिषयलाई निहुँ बनाएर कुवेतले नेपाल आउन आविष्कार गर्यो । 

अब न्यूट्रल भेन्यू कहाँ ? 

कुवेत नेपाल नआउने भएपछि अखिल नेपाल फुटबल संघले न्यूट्रल भेन्यूको खोजी सुरु गरेको छ । नेपालले आफ्नै जस्तो मौसम भएको भुटानको चाङ्लीमिथाङ रंगशाला एन्फालाई प्रस्ताव गरेको छ । “काठमाडौंकै जस्तो चिसो मौसम भएका कारण नेपाली खेलाडीलाई उक्त मैदानमा खेल्दा फाईदा पुग्नसक्छ त्यसकारण एन्फाले भुटानको प्रस्ताव गरेको हो ।” प्रवक्ता किरण राईले भने । तर भुटानमा खेल्न पनि कुवेतले आनाकानी गरिरहेको एन्फाले बताएको छ । यदि भुटानमा नभए भारत वा फिफा तथा एसियाली फुटबल महासंघले तोकेको भेन्युमा खेल हुनसक्छ । 

निराश समर्थक/घाटामा एन्फा

२०१५ देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन । झण्डै ६ वर्षपछि रंगशालामा फुटबल फर्किने कुराले सबैभन्दा धेरै उत्साहित १२ औँ खेलाडी अर्थात् दर्शक समर्थक थिए । कुवेत विरुद्धको खेल प्रत्यक्ष हेर्न पाउने उनीहरुको आशा थियो । खेल नहुने भएपछि उनीहरु निराश भएका छन्  । 

झण्डै १५ हजार हाराहारीमा दर्शकले मैदानमा गएर खेल हेर्ने एन्फाको अनुमान थियो । सोही बराबर टिकट निर्माण र बिक्रीको योजनामा एन्फा थियो । टिकट बिक्रीबाट १ करोड बराबरको रकम उठाउने योजना थियो । खेल नहुँदा सबैभन्दा धेरै घाटा एन्फालाई भयो । न्यूट्रल भेन्युसम्म आउने जाने लगायतको लाखौँ खर्च पनि थपियो । 

मुख्य कारण असक्षम नेतृत्व !

एकमात्र अन्तर्राष्ट्रिय मापदण्डको रंगशालाको भूकम्प पछिको पुनर्निर्माणमा देखिएको सुस्तता नै नेपालमा खेल नहुनुको मुख्य कारण हो । १३ औँ दक्षिण एसियाली खेलकुद र विश्वकप छनोट फुटबलाई लक्षित गरेर थालिएको पुनर्निर्माणको कामले पछिल्लो एक महिनामा मात्रै तिब्रता पाएको थियो । प्रतियोगिताको समय नजिकै आएपछि मात्रै तिब्रता दिईएको पुनर्निर्माणले रंगशाला तयार हुन सकेन ।

 “रंगशाला समयमै निर्माण गर्न नसक्दा कुवेतले अड्को थाप्ने मौका पायो । जसको कारण नेपाललाई घाटा भयो ।” एन्फा प्रवक्ता राईले भने । 

दशरथ रंगशालामा जसरी पनि खेल गर्ने नेपाली पक्षको अडान थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जोडतोडका साथ तयारी थालेका थिए । राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले एक कार्यक्रममा पाल नै टाँगेर भएपनि कुवेतविरुद्धको खेल गराएरै छाड्ने घोषणा गर्न भ्याएका थिए । उनको घोषणामा नै एन्फा रमाएको थियो । तर नेतृत्व तह र जिम्मेवार निकायले कहिलै पनि पूर्वाधार तयार भइनसक्दै कसरी खेल होला भन्ने सोचेनन् । सदस्य सचिवले पनि बोल्नु बाहेक रंगशाला निर्माणमा कसरी तिब्रता दिने ध्यान दिएनन् । 

रंगशालाको पुनर्निर्माण समयमा नसकिनुमा सबैभन्दा ठूलो दोषी खोज्ने हो भने केही नाम आउँछन् । ती नाम हुन् राखेपका पूर्व सदस्य सचिव केशवकुमार बिष्ट र खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा । झण्डै ५ बर्ष बित्दा पनि रंगशाला खेल गराउन लायक नहुँदा यी जिम्मेवार ब्यक्तिहरुले पनि छातीमा हात राखेर गल्ती स्वीकार गर्नुपर्छ । 

७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रंगशाला यत्तिका समय बित्दा पनि पुनर्निर्माण नसकिनुमा खेल पदाधिकारीको असक्षमता मुख्य दोषी हो । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप), र यसका जिम्मेवार तहमा बस्ने ब्यक्तिहरु आजको दिनको दोषी हुन् । पुनर्निर्माण सुरु भए लगत्तै तिब्रताका साथमा काम भएको भए रंगशाला केही समय अघिनै पुनर्निर्माण सम्पन्न हुन्थ्यो । यस्तै अखिल नेपाल फुटबल संघ एन्फा पनि आजको दिनको सामना आफ्नै कारणले गरिरहेको छ । महत्वपूर्ण प्रतियोगितालाई लक्षित गर्दै एन्फाले राखेपलाई समयमै घच्घच्याएको भए आजको दिन आउँदैन थियो कि ? 

साग प्रभावित हुने शंका 

रंगशाला पुनर्निर्माणको बिषयले थप शंका उव्जाएको छ । आगामी १३ औं दक्षिण एसियाली खेलकुद साग पनि रंगशालाको कारण प्रभावित हुने अवस्थामा छ । रंगशालाकै कारण पटकपटक मिति सरेको साग फेरि प्रभावित भए त्योजति लाजमर्दो अरु केही हुनेछैन । भलै रंगशालाको पुनर्निर्माण रोकिएको छैन तर मध्य मंसीरमा पुनर्निर्माण सकिने आधार भने छैनन् । 

साग आउन तीन हप्ता मात्र बाँकी छ । त्यसबेलासम्म मुख्य आयोजनास्थल दशरथ रंगशालासहितका पूर्वाधार सकिने सम्भावना निकै कम छ । सदस्य सचिव सिलवालको अडान कात्तिक भित्रै रंगशालासहित सबै पूर्वाधार निर्माण सम्पन्न गर्ने हो । तर कात्तिकमा काम सकिने सम्भावना छैन । अबको तीन हप्तामा रंगशालामा भीआईपी प्यारापिटको छानो आउँछ की आउँदैन भन्ने टुंगो पनि छैन । 

 नजिकिँदो १३ औँ दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोह सहितका बिभिन्न महत्वपूर्ण खेल रंगशालामा हुने तय भएको छ । तर मंसीर तीनमा हुने खेल खेलाउन अयोग्य ठहरिएको रंगशाला मंसीर १५ सम्ममा कसरी योग्य बन्ला ? आशंका यथावत् छ ।