प्रदेश प्रमुखले के–के पाउँछन् सुविधा ? मासिक तलब कति ?

२०७६ कार्तिक २० बुधबार १०:४३:०० मा प्रकाशित

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा नियुक्ति भएका प्रदेश प्रमुखहरुलाई हालै केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पदमुक्त गरेर नयाँ नियुक्ति गरिएको छ ।

प्रदेश प्रमुखलाई कति सुविधा हुन्छ ? कतिपयलाई थाहा नहुन सक्छ । अन्यको भन्दा प्रदेश प्रमुखहरुको सुविधा आकर्षक हुने गरेको छ । उनीहरुलाई बस्नको लागि आवास, मासिक पारिश्रमिक, बीमा, भत्ता, पोशाक र सचिवालयसहितको आकर्षक सुविधा हुने गरेको छ ।

प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ का अनुसार प्रदेश प्रमुखहरूले मासिक पारिश्रमिक (अहिले बढेको) ७४ हजार २ सय ४० रुपैयाँ पाउँछन् । अन्य विविधसहित जोडेर प्रदेश प्रमुखहरुले मासिक १ लाख १४ हजार २ सय ४० रुपैयाँ बुझ्ने गरेका छन् ।

त्यसोत त उनीहरुले चार जना स्वकीय सचिवसहित १२ जनाको सचिवालय राख्न पनि पाउँछन् । प्रदेश प्रमुखहरुलाई पोशाक बापत वार्षिक रुपमा १८ हजार रुपैयाँ आउने गर्छ भने अतिथि सत्कार र भैपरी आउने खर्चबापत ४० हजार पाउँछन् ।