किन गर्ने बूढानिलकण्ठको रक्षा ?

२०७६ कार्तिक १९ मंगलबार १३:२५:०० मा प्रकाशित

काठमाडौं । धेरै वर्ष अघिदेखि बूढानिलकण्ठलाई ‘विश्व सम्पदा सूची’मा राख्ने तयारी भइरहेको छ । सूचीमा राख्नलाई यस मूर्तिको स्वरुप बिग्रन हुँदैन । यसको चमक हराउनु हुँदैन । त्यसैले यसको रक्षा गर्नै पर्ने थियो । 

बूढानिलकण्ठको स्वरुप हरिहरको स्वरुप हो । संसारमै हरिहरको स्वरुप भएको मूर्ति कमै मात्र पाइन्छ । 

बूढानिलकण्ठ शालिग्राम पत्थरबाट बनेको हो । शालिग्राम आफैंमा सुन्दर पत्थर हो । यसलाई बजारमा पाइने अबीर दल्दा सुन्दर नहुने तर झन् चमक बिग्रने हुँदा सात वर्षयता बूढानिलकण्ठमा अबीर–केसरीलाई प्रतिबन्ध गरिएको हो ।

शालिग्रामलाई अन्य मूर्तिभन्दा फरक मानिन्छ । अन्य मूर्ति ढुंगाबाट बनाइएको हुन्छ भने, शालिकराम आफैंमा मूर्तिको स्वरुप हो । यसलाई ढुंगा, तामा, काठ जस्ता अन्य मूर्तिकलालाई झैं कुँद्ने गरिँदैन । स्वस्थापित मूर्तिको रक्षा गर्नैपर्ने हुन्छ ।  

बूढानिलकण्ठको मूर्ति विराजमान भएको पोखरी करिब तीन फुट गहिरो छ । पोखरीको पानी १५–१५ दिनमा सफा गरिन्छ । पानी साधारण नै हो । तर पनि यहाँ असाधारण र असम्भव कुरा देख्न पाइन्छ । 

त्यो असाधारण कुरालाई शास्त्रसम्बन्धी ज्ञाताहरुले ‘छायाँ दर्शन’को नाम दिएका छन् । 

छायाँ दर्शन के हो ?

छायाँ दर्शन बुझ्न सबैभन्दा पहिला बूढानिलकण्ठको मूर्ति कसरी बसेको छ र कहाँ बसेको छ, त्यो बुझ्नुपर्छ । 

बूढानिलकण्ठ उत्तानो परेर सिधा माथि हेरेको अवस्थामा छन् । यसको तलपट्टि केही छैन, पोखरीको भित्रि सतहसम्मै मूर्तिको जग गाडिएको छ । पानी सफा गर्दा देख्न सकिन्छ– यो एउटा सामान्य मूर्ति हो । 

तर मूर्तिको दाहिनेपट्टीको भागबाट पोखरीको बाहिरी सतहमा बसेर पानीमा हेरियो भने जस्ताको तस्तै बूढानिलकण्ठको अनुहार प्रष्टै देख्न सकिन्छ । छेउ छाउको कुरा छायाँ बनेर देखिनु त सामान्य नै भयो । मूर्तिको बीच भागमा रहेको बूढानिलकण्ठको अनुहार कसरी देखियो ? यसको कुनै जवाफ छैन । 

पोखरीमा पानी भएको बेला देखिने र पानी नभएको बेला नदेखिने यो छायाँलाई वैज्ञानिक रुपमा असम्भव मानिन्छ । र यसैलाई ‘छायाँ दर्शन’ भनिन्छ । 

मठाधीश निगमानन्दका अनुसार केही समयपहिले विदेशबाट वैज्ञानिकको एक टोली आएर अनुसन्धान गरेको थियो । तर उनीहरुको अनुसन्धानले यसको कुनै पनि निष्कर्ष निकाल्न सकेन । 

हालसम्म पनि बूढानिलकण्ठमा कसरी ‘छायाँ दर्शन’ हुन्छ, त्यो पत्तो पाउन सकिएकै छैन । बूढानिलकण्ठ परिसरका पुजारीहरु यसलाई ‘अद्भूत’ भन्न रुचाउँछन् । मठाधीश निगमानन्द यसलाई ‘भगवान छन् भन्ने प्रमाण’ हो भन्न रुचाउँछन् । यसैकारण पनि बूढानिलकण्ठको मूर्तिको रक्षा गर्नैपर्ने भएको हो । 

अरु के–के प्रतिबन्ध गरिएको छ बूढानिलकण्ठमा ?

बूढानिलकण्ठमा अरु कुराहरु पनि प्रतिबन्ध छ । कुनै धार्मिक आस्थाका कारण प्रतिबन्ध छ, कुनै अरु कारणले प्रतिबन्ध छ । सात वर्षअघि मूर्तिको रक्षा गर्न अबीर–केसरी प्रतिबन्ध गरिएको थियो । हाल मैनबत्ती पनि प्रतिबन्ध भएको छ । 

मैनबत्ती चाहीँ किन प्रतिबन्ध गरियो भन्ने प्रश्नमा मठाधीश निगमानन्द भन्छन्– ‘मैनमा बोसो मिसाएको भन्ने कुरा सुन्नमा आएदेखि हामीले मैन पनि प्रतिबन्ध गरेका हौं । पहिला घ्युको दियो बालिन्थ्यो, पछि तेलमा झर्यो । विस्तारै मैन बाल्न थालियो । अब यसबाट पनि ठाडै बोसो नै हालिएको मैन बाल्न थालियो भने त धर्ममाथि यो ठूलो अपराध हुन्छ भनेर सुरुमै रोकथाम गरिएको हो ।’

बूढानिलकण्ठ शालिग्रामको मूर्ति भएकाले यहाँ चामल चढाइँदैन । शालिग्रामलाई चामल नचढाउने तर तिल, जौ तुलसी, चन्दन आदी चढाउने गरिन्छ ।