महरा प्रकरण : थुनछेक बहस सकिएन, भोलि हुने 

२०७६ कार्तिक १७ आइतबार १७:००:०० मा प्रकाशित

काठमाडौँ । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस आज सकिएन । आज बहस नसकिएपछि सोमबार (भोलि) हुने भएको छ । 

काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् । 

महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो । 

जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका हुन् । 

नेपाल सरकारको तर्फबाट भने आज ४ जनाले बहस गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका हुन् ।