अस्थिपञ्जर रहँदासम्म पनि

२०७६ कार्तिक १७ आइतबार १२:११:०० मा प्रकाशित

घट्न थाले कुराकानी
केहीदिन अघिदेखि
सुस्तरी सुस्तरी सुस्तरी ।

अनगिन्ती खहरेहरू बग्थे 
हामी भित्रबाट निस्कँदै
दुःख सुखका यादहरू बोकेर
अतितलाई सप्तरङ्गी ईन्द्रेणीमा टाङ्दै
हामीबाटै निस्कँदै निरन्तर झरनाहरू झर्थे 
तिमीहरूका संझनाका डोरीहरू बाटिरहन्थ्यौं लगातार
बिहान होस् या साँझ 
दिन होस् या रात 
तिमीहरूको यादको धून नबजेको समय नै हुँदैनथ्यो ।

बिस्तारै बिस्तारै मेरो आवाजले 
अँगालो हाल्न छाड्यो 
तिमीहरूकी आमाको आवाजलाई
र एक्लै भयो आमाको आवाज ।

आँसुले जोड्न थाल्यौं
हाम्रो प्रेम, स्नेह र तिमीहरूलाई पनि 
जोडिँदा जोडिँदै निख्रिए हाम्रा आँसु पनि
चुँडियो अर्थ जोड्न टाँगिएको 
हाम्रै आँसुको पुल पनि
आँखाहरू मात्र खुलिरहे
आँखाहरूले नै बोल्यौं केही दिन
बुझ्यौं अब्यक्त जिन्दगीको सरगम
बिस्तारै बिस्तारै पर्दा लाग्यो मेरै आँखा अगाडि
छेकिए तिमीहरूकी आमाका आँखाहरू !

हामी मुटुका ढुकढुकीमा मात्र जोडियौं अब
ढुकढुकीहरूले सुमसुम्याए ढुकढुकीहरूलाई
ढुकढुकीले नै बोल्यो
ढुकढुकीले नै सुन्यो 
ढुकढुकीले नै बुझ्यो
बिस्तारै मेरो छातीभित्रको मुटुले छाड्यो 
ढुकढुकी सुनाउन तिमीहरूकी आमाको मुटुलाई
उनको मुटुमै गएर मिसियो 
सायद मेरो मुटुको ढुकढुकी पनि
जेडजोडले उनकै मुटु ढुकढुकाउन थाल्यो
दोब्बर तेब्बर अझ तीब्र गतिमा
यो बेला तिमीहरूको मुटु पनि 
राखेकी हुनुपर्छ आमाले आफ्नो छातीभित्र !


खिड्किनी लगाउन नसकिएका झ्यालका च्यापहरूबाट
आमाको विक्षिप्त आवाज बाहिर निस्कियो
र ठोक्कियो सबभन्दा पहिले-
        नजिकै तरकारी बेच्ने बहिनी फूलमायाको कानमा
        छोयो त्यसले दूध पसले प्रेम कुमारलाई 
        कपाल काट्ने ठाकुर भाइलाई
        पत्रिका पसले बुध्दिसागरलाई
होलसेल पसलको दीपकलाई
बैंकको गार्ड भिमबहादुरलाई
चिया पसले राजुलाई
छोयो त्यसले टोल छिमेका हाम्रा धेरै मान्छेहरूलाई पनि
भरियो हाम्रो कोठा 
छिमेकीहरूसँगै आएको 
उनीहरूको प्रेम, माया र स्नेहको सुगन्धले !

आमाको चेतना अत्यासको हुरीसँगै बाहिरिएछ 
छिमेकीहरूको भिडलाई छक्याउँदै अघि नै 
सायद कसैले अस्पताल लग्यो होला उनलाई
दिसा पिसाब बिग्रिएर दुर्गन्धित मेरो शरीर 
प्रेमपूर्वक उठाए उनीहरूले 
दुःख्ला झैं ठानेर मलाई बिस्तारै पुर्याएर आँगनमा
र राखे तुलसीको मठनेर जतनले 
शव बाहन आइपुग्यो हाम्रो आँगनमा 
मधुसुदन बाजेले धर्मको कर्म सक्दानसक्दै !

खबर भयो कि भएन कुन्नि तिमीहरूलाई
केही दिन अघि देखिनै 
मेरो मोवाइलको ब्याट्री सकिएको थियो
टाढाका देशका वासिन्दा भयौ तिमीहरू
सायद तिमीहरूको ठेगाना 
कसैलाई पनि थाहा छैन हाम्रो टोलमा !

छिमेकीहरूले नै ल्याए मेरो लागि सेतो कपडा 
बेरेर मेरो शरीर त्यसैमा
चढाए शव वाहनमा पनि उनीहरूले नै
मलिन अनुहार लिएर मलामी आए घाटसम्म उनीहरू नै 
जल पनि उनीहरूले नै हालिदिए मुखमा
मेरो शरीर घुमाए बोकेर चिता वरिपरि
झारे आँसुका ढिक्का पनि
चढाएर चितामा मेरो मुखमा दिए दागवत्ती पनि 
दागवत्ती दिए मेरा छिमेकीहरूले नै मलाई
तिमीहरूकी आमाको चित्कार सुनेर आएका छिमेकीहरूले
दागवत्ती दिए मलाई !

अब केही दिन पछि
पक्कै चल्न छाड्छन्
तिमीहरूकी आमाका पनि जीवनका रिडहरू
घाम जूनजस्तै अस्ताउने छिन् उनी
टोल छिमेक कतै थाहा पाउन्नन् कसैले उनी अस्ताएको
कोही पनि हुँदैनन् जोडजोडले रोइदिने
हाम्रो घर कुरेर बसिरहनेछ आमाको शरीर
प्रिय, छोराछोरीहरूलाई पर्खिएर
सायद अस्थिपञ्जरमात्र बाँकी रहँदासम्म पनि !

 


                 इलाम । 

    [email protected]