देशमा वैकल्पिक शक्ति उदाउन सक्छ

२०७६ कार्तिक १७ आइतबार ११:३६:०० मा प्रकाशित

देशमा नयाँ सोच र नयाँ शैलीको राजनैतिक शक्तिको खोज सुरु भएको छ । यही परिकल्पनाबाट केही वर्षअघि डा.बाबुराम भट्टराइले नयाँ पार्टी खोले । पार्टीको नाम नै रह्यो नयाँ शक्ति । तर नयाँ शक्ति पुराना शक्तिको सामु यति निरीह देखियो कि आफ्नो अस्तित्व जोगाउन पनि उनीहरुकै सहारा खोज्नु पर्यो । त्यसैगरी वैकल्पिक शक्तिका रुपमा उठ्न खोजेको पार्टी विवेकशील साझा पनि राष्ट्रिय पार्टीको रुपमा आफूलाई स्थापित गर्ने लक्षका साथ प्रतिनिधि सभाको चुनावमा होमियो । गाउँ बस्तिहरुमा चुनाव चिन्ह तराजु भन्ने साना मसिना स्वर सुनिन थालेको थियो । तर नयाँ दललाई जनस्तरमा नपत्याइएको पाइयो । अघिल्लो चुनावमा बैकल्पिक दलहरुले आफूलाई चुनावमा उभ्याउन मात्र सफल भए । 

क्षेत्रीय र जातीय पार्टीले पनि आफूलाई राजनीतिक शक्तिको रुपमा स्थापित गराउन प्रयास गरेकै हुन् । जातीय पार्टीले अस्तित्व समेत जोगाउन नसक्दा क्षेत्रीय पार्टीहरु भने प्रान्तिय सरकार बनाउन सफल भएका छन् । तराइका राष्ट्रिय जनता पार्टी र समाजवादी दलले मिलेर प्रदेश २ मा सरकार बनाए भने समाजबादी दल संघीय सरकारमा सहभागी नै भएको  छ । पछिल्लो निर्वाचनको परिदृश्यलाई हेर्ने हो भने नेपालमा जातीय राजनीतिको भविष्य केही दशकलाई चाहिं छैन भन्न सकिन्छ । क्षेत्रीय र संघीय सरकारमा सहभागी हुन सफल भएको तराइका पार्टी पनि बैकल्पिक राष्ट्रिय पार्टीको रुपमा उदाउने सम्भावना कसैगरी देखिँदैन ।

त्यसो भए वैकल्पिक शक्तिको भविष्य के त ? के यो शक्तिको आवश्यकता छ ? अनि नयाँ सम्भावना के छ त ? 

अहिले जनस्तरबाटै जोडदार रुपमा उठेको आवाज हो– देशमा नयाँ शक्तिको आवश्यकता छ, जसले जनताको भावना बुझेर समय सापेक्ष राजनीति गरोस् । सरकारमा योग्य मान्छे जाउन् । व्यक्तिगत स्वार्थ भन्दा देशको स्वार्थ हेरुन् । हरेक मन्त्रालयका मन्त्री सम्बन्धित बिषयका विशेषज्ञ होउन् ।  ती मन्त्रीहरु पार्टीका नेताप्रति भन्दा जनताप्रति वफादार होउन् । 
जनस्तरको आवाज सामाजिक संजाल र अभियन्ताहरुको सडक बहसमा उठेको छ ।   

यी बहसमा उठेका र सामाजिक संजालमा तीब्र प्रतिकृया पाइरहेका जल्दाबल्दा मुद्धाहरु भ्रष्टाचार नियन्त्रण र सुशासनमा केन्द्रित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गतिविधिले हरेक क्षेत्रमा जरा गाडेर बसेको भ्रष्टाचारलाई नियन्त्रण त टाढाको कुरा भयो, न्युनिकरण गर्ने सम्भावना पनि देखिएको छैन ।  वर्तमान ५ वर्षे स्थायी सरकारले भ्रष्टाचार नसहने भनेर दिएको आश्वासन व्यवहारमा अर्थहिन भएको छ । 

दुई तिहाइको सरकारबाट देशको कायापलट हुने अपेक्षा गरेका जनताले परिस्थितिमा कुनै अन्तर नआउँदा नेतृत्व पुरानै रहेसम्म केही नहुने रहेछ भन्ने मानसिकता बनाउन बाध्य   भए । निर्वाचन पछि जब नेकपाको अत्यधिक बहुमत आयो, अझ सरकार बनाउँदा समाजवादी समेत मिसिएर दुइ तिहाइको बन्यो तब जनताको आशा पनि उकालिएर हिमालको टुप्पोसम्म पुगेको हो । 

एक त स्थिर सरकार, दोस्रो कम्युनिष्ट पार्टीको जो पहिलो प्रयोग थियो नेपालमा । नेपाली जनतामा स्थिर सरकार हुने बित्तिकै देशले फड्को हान्छ भन्ने विश्वास एकातिर, देशमा उथलपुथल गर्न भनेर ‘जनयुद्ध’ गरेको पार्टी नेतृत्वसहितको सरकार बनेको । अधिकांश नेपालीको धारणा बन्यो देशको स्वर्णकाल सुरु भयो भनेर ।

नेकपाको घोषणा पत्रमा उललेखित योजना पुरा हुने मात्र काम गरे बिकासले तिब्रता लिएसँगै लाखौं लाख युवाहरुले स्वदेशै रोजगारी पाउने थिए । बालकका शिक्षाको लागि अनि बृद्धका स्वास्थको लागि कोही पिरोलिन पर्ने थिएन । राजधानीवासीले दिनहुँ भोगिरहेको धुवाँधुलो र अव्यवस्थित यातायातको पीडालाई निरन्तरता दिइराख्नु पर्ने थिएन ।  

यो सरकारप्रति जनताको अझ गुनासो त निर्लज्ज भएर आफ्ना सुविधा थप्दै जानेमा हो । जनताको आवाजलाई वेवास्ता गर्दै एकपछि अर्को सुविधा मन्त्रीलाई, प्रधानमन्त्रीलाई अनि राष्ट्रपतिलाई थप्दै गएको समाचारहरु निरन्तर आइरहनु जनताको आक्रोशको अर्को कारण हो । सत्तामा बस्नेहरुले जनताका अगाडि देखाउने सामन्ती प्रवृत्तिको रवाफले मनको घाउमा नुनचुक दल्ने काम गरेको छ । सामान्य जनताका नेताले आफूलाई राजा महाराज जस्तो नदेखाउन् भन्ने स्वाभाविक चाहना हो । त्यति पनि भावना बुझ्न नसक्ने नेता कसरी जनताका नेता भइरहन सक्छन् ? अहिलेसम्म कुनै सरकारले आँट नगरेको प्रधानमन्त्रीदेखि सम्पूर्ण सांसदलाई चाडबाड भत्ता बाँड्ने मन्त्री परिषदको निर्णय पनि भरखरै सार्वजनिक भएको छ । 

बर्तमान सरकारप्रति जनताको असन्तुष्टिको विकल्प अव यथास्थितिको नेपाली काँग्रेस हुन सक्दैन । एमाले र काँग्रेसको आलोपालोको चक्रमा देशले दशकौं बिताएको हो । त्यसको परिणाम भ्रष्टाचार, नातावाद, कृपावाद, गरिबी, नैतिकताविहिन राजनीति र गुण्डाराज भन्दा अर्को केही पाइएन । देशको अर्थतन्त्र ओरालो लाग्यो र नेताहरुको सम्पत्तिको थुप्रो उकालो लाग्यो । फेरि त्यही चक्रमा देश फस्न सक्दैन । 

त्यसो भए अवको विकल्प के त ? यो गम्भीर प्रश्न हो । अब वैकल्पिक शक्तिको आवश्यकता छ । त्यो जनस्तरबाट उदाउन पनि सक्छ । नेकपा र नेपाली काँग्रेसबाट नयाँ पीढी अर्थात् युवा पुस्ता उठेर जतामा नयाँ उर्जा र विश्वास भर्न पनि सक्छन् । एउटा सत्य के भने अब यथास्थितिको राजनीतिबाट देश उठ्न सक्दैन । आम जनताका भावना, चाहना र आवश्यकतालाई पूरा गर्न सक्दैन । 

समाजको यथार्थलाई बुझेर नेकपा र काँग्रेसका युवा नेता अघिल्लो पुस्तालाई पन्छाउँदै पार्टीलाई समय सापेक्ष बनाउन जरुरी छ । अन्यथा आगामी निर्वाचनसम्म सडकबाटै जुर्मुराएर उठ्न सक्ने छ– कसैले कल्पना नगरेको बैकल्पिक राजनैतिक शक्ति ।