राष्ट्रपति किन जान मानिनन् बूढानिलकण्ठ मन्दिर ?  

२०७६ कार्तिक १६ शनिबार ०९:०२:०० मा प्रकाशित

काठमाडौं । बूढानिलकण्ठ मन्दिर होइन, मूर्ति हो । किनकी नागलाई छाना लगाउने चलन छैन । छानोबिना घर हुँदैन । मन्दिर भनेको भगवानको घर हो । 

अनि बूढानिलकण्ठको मूर्ति नाग, विष्णु र शिवको संयुक्त स्वरुप हो । यद्यपि चलनचल्तिको भाषामा यो मन्दिर नै हो ।

यहाँ दुईटा कुरा पस्दैनन् । यसो भन्न सकिन्छ, पस्न पाउँदैनन् । एउटा परापूर्वकालदेखि पस्दैन थियो । अर्काे बिगत सात वर्षदेखि पस्न पाएको छैन । 

परापूर्वकालदेखि भित्र पस्न नपाएको भनेको राजा र उनको वंश हो । तर नेपालमा त गणतन्त्र आइसक्यो । राजा रहने कुरै भएन । तैपनि राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारी पनि बूढानिलकण्ठ प्रवेश गरेकी छैनन् । 

केही समयअघि बूढानिलकण्ठ परिसरमा नयाँ भवन उद्घाटन गर्नु परेको थियो । उद्घाटनको लागि राष्ट्रपति विद्यादेवि भण्डारीलाई निम्त्याउने कुरा भयो । बूढानिलकण्ठका मठाधीश स्वामी निगमानन्द आफैं राष्ट्रपति भण्डारीलाई निम्तो दिन पुगे । तर राष्ट्रपतिले राष्ट्र प्रमुख आजसम्म त्यहाँ नगएको हुँदा आफू पनि आउन नमिल्ने भन्दै मठाधीश निगमानन्दलाई जवाफ दिइन् । 

उनको यस निर्णयले नयाँ नजीर बस्यो, राजा र उनको वंशलाई मात्र प्रतिबन्धित बूढानिलकण्ठ अब गणतन्त्र नेपालका राष्ट्र प्रमुखलाई पनि प्रतिबन्ध लागेजस्तै भयो । 

मठाधीश स्वामी निगमानन्द भन्छन्– ‘खासमा गणतान्त्रिक नेपालका राष्ट्र प्रमुखलाई यो प्रतिबन्ध हुँदै होइन । राज्यसत्तामा रगत र वंशको सिलसिला कायम रहने हुँदा राजा र उनको वंशलाई मात्र यस परिसरमा पस्न प्रतिबन्ध थियो । अब त्यो प्रतिबन्ध फुकिसक्यो । राष्ट्रपति यहाँ दर्शन गर्न आउँदा केही पनि असर पर्दैन ।’

किन प्रतिबन्धित थिए राजा र उनको वंश ?

यो जवाफ खोज्न द्वापरयुगमै फर्किनुपर्ने हुन्छ । जतिबेला शिवपुरी राज्यमा सूर्यकेतूले राज गरेर बस्थे । त्यसबेला शिवपुरी अहिले जस्तो पहाड पनि थिएन । सम्म र सम्पन्न राज्य थियो । ठूलो राज्य थियो । 

किंवदन्ती अनुसार, सूर्यकेतू हरेक दिन केदारनाथ र बद्रीनाथको दर्शन गर्न जान्थे । तर उमेर ढल्किँदै गएपछि उनी हरेक दिन धाएर पूजाअराधना गर्न सकेनन् । 

त्यसैले उनले ‘ह्रदयमा स्मरण गर्दै’ केदारनाथ र बद्रीनाथकै सामुन्ने आफ्नो प्राण त्याग्ने निधो गरे । उनको आस्था देखेर भगवान पनि पग्लिए । पग्लिएनन् मात्र, खुशी भएर उनको सामु प्रकट भए । प्रकट भएर भने– ‘तिमीले यहाँ प्राण त्याग्नु पर्दैन । म तिमीलाई तिम्रै राज्यमा दर्शन दिन्छु ।’

भगवानले नै यति भनेपछि बाबा विश्वकर्माले हालको मूर्ति निर्माण गरे । १२ वटा नागले ढाकेको एउटा सुन्दर मूर्तिको रचना गरे । मूर्ति हरिहरको थियो । हरि अर्थात्– विष्णु । हर अर्थात्– शिव । 

विष्णु अर्थात्– बद्रीनाथ । शिव अर्थात्– केदारनाथ । विश्वकर्माले भगवानकै आदेश बमोजिम बद्रीनाथ र केदारनाथको स्वरुपलाई एकै मूर्तिमा ढालेका थिए । भिमसेनले सो मूर्ति हालको स्थानमा स्थापित गरेका थिए । मूर्ति निकै अद्भूत थियो । 

तर भयो के भने– सो मूर्ति कुनैपनि आधारबाट न त बद्रीनाथ जस्तो देखिन्थ्यो न त केदारनाथ जस्तो । गज्याङगुजुङ परेको नागको आशसनमा सुतिरहेका विष्णु देखेर सूर्यकेतू हैरान भए । उनले भगवानसँग चित्त दुखाए । आफूलाई ढाँटेको भन्ने आरोप लगाए । 

किनकी उनलाई थाहा नै थिएन– सो मूर्ति बद्रीनाथ र केदारनाथको संयुक्त स्वरुप हो भनेर । उनले विश्वकर्माको मूर्तिकला र भगवानको विवेकपूर्ण निर्णयलाई चिन्नै सकेनन् । 

भगवानले पनि भने– ‘यदी तिमीलाई यस मूर्ति र स्वरुपप्रति शंका छ भने, यहाँ दर्शन गर्न नआउ । तिमीमात्र होइन, तिम्रो वंश पनि यहाँ दर्शन गर्न नआउनु ।’

र त्यसदिनदेखि राजा र उनको वंश बूढानिलकण्ठको दर्शन गर्न गएको छैन । 

एकपटक राजा प्रताप मल्लले हिम्मत गरेका थिए । उनले पनि दर्शन गर्न पाएनन् । उनी दर्शन गर्न आउँदैछन् भन्ने थाहा पाएर बूढानिलकण्ठको सो मूर्तिबाट एउटा नाग बाहिर निस्केर परिसरको ढोकामै पुगे । ती नागले बूढानिलकण्ठको दर्शन गर्न पाउने कि नपाउने भन्दै अनुमति दिन्थे । त्यहाँ उनले दर्शन गर्न भनि आउँदै गरेका प्रताप मल्ललाई रोके । 

प्रताप मल्ल, आफूलाई रोकेको भन्दै रिसले चूर भए । उनले पनि श्राप दिए । यदी मैले भगवान बूढानिलकण्ठको दर्शन गर्न पाउँदिन भने, तिमीले पनि पाउँदैनौं भन्दै ती नागलाई सदाको लागि अन्धो हुने श्राप दिए । 

त्यस उप्रान्त ती नाग पहिलेको आफ्नोे स्थानमा जान पाएका छैनन् । बूढानिलकण्ठको शिरमा रहेर रक्षा गर्न पाएका छैनन् । सोही दिनदेखि बूढानिलकण्ठको शिरमा जम्मा ११ वटा मात्र नाग छन् । 

अझैपनि बूढानिलकण्ठको दर्शन गर्न जानुअघि सबैभन्दा पहिला सोही अन्धो नागको पूजा गरिन्छ । ती नागको अनुमति लिएर मात्र भित्र पूजा गर्न जाने चलन छ । 

सात वर्षदेखि पस्न नपाएको अबीर–केसरी

धेरै कमलाई थाहा होला कि, बूढानिलकण्ठको मूर्तिमा अबीर–केसरी चढाउन पाईँदैन भनेर । थाहा होस् पनि कसरी यो कुनै औपचारिक निर्णय गरेर पालना गराइएको नियम पनि त होइन । न त ‘यहाँ अबीर–केसरी छर्न पाईंदैन’ भनेर लेखिएको नै छ । 

चेतनाको स्तर बढ्दै गएपछि बसेको एउटा चलन मात्र हो यो । चेतनाको स्तर बढेपछि भएको सकारात्मक कामको यो एउटा गज्जबको उदाहरण हो । 

बूढानिलकण्ठका मठाधीश निगमानन्दका अनुसार शास्त्रमा कतैपनि भगवानलाई अथवा मूर्तिलाई अबीर–केसरी चढाउनु पर्छ भनेर लेखिएको छैन । न त चढाउन हुँदैन भनेर नै लेखिएको छ । 

अबीर र केसरी श्रृङ्गारको साधन हो । हुँदा राम्रो, नहुँदा पनि फरक नपर्ने । 

तर परापूर्वकाल जस्तो अबीर–केसरी अब कहाँ पाउनु ! 

विभिन्न केमिकल मिसाएर अबीर र केसरीको उत्पादन हुन थालेपछि र संसारका थुप्रै मन्दिरका मूर्तिमा यसको असर देखिन थालेपछि बूढानिलकण्ठ मन्दिरमा विगत सात वर्षदेखि अबीर–केसरी चढाइएको छैन । 

दशैंमा एकदिन लगाएको अबीरको टीकाले त कतिदिनसम्म असर गर्छ भने मूर्तिले त सँधै अबीरको सामना गर्नुपर्ने हुन्छ । मानिसले नै लामो समयसम्म अबीरको टीका लगायो भने निधारमा कालो दाग बस्न थाल्छ । छाला बिग्रिन सक्छ । मानिसको छाला त बन्ने क्रम जारी रहेको हुन्छ, त्यसले समाधान गर्ला । तर मूर्तिमा लागेको दाग त सहजै जादैन । न त मूर्ति घटबढ हुनेवाला छ । 

मठाधीश निगमानन्द भन्छन्– ‘नेपालमा पहिलो पटक अबीर–केसरी चढाउन रोक लगाएको बूढानिलकण्ठमै हो । हामीले रोक लगाएपछि पछि पशुपतिनाथमा पनि रोक लगाइएको थियो । अहिले त धेरै मन्दिरहरुमा अबीर–केसरी चढाईंदैन ।’   

तर अबीर–केसरी रोक लगाएको भन्दैमा थोपो पनि नरहने गरी रोक लगाइएको हैन । भक्तजनहरुमा अझैपनि अबीर–केसरी चढाएमात्र भगवान खुशी हुन्छन् भन्ने भ्रम छ । सबैचिजलाई रोक लगाउन सकिएला तर आस्थालाई रोक लगाउन सकिँदैन । 

पूर्ण रोक नलगाइनुको अर्काे पाटो के हो भने, अबीर–केसरी हालमात्र केमिकलयुक्त भएका हुन् । परापूर्वकालमा वनस्पतीबाट बनाइन्थ्यो । शुद्ध हुन्थ्यो । वासनादार हुन्थ्यो । अझैपनि भारतको वृन्दावनमा त्यस्ता वनस्पती पाइन्छ, जसबाट शुद्ध अबीर–केसरी बनाउन सकिन्छ । 

बूढानिलकण्ठ, पशुपतिनाथ लगायतका धार्मिक आस्थाका केन्द्रमा वृन्दावनबाट बनेर आएका यस्ता शुद्ध अबीर–केसरी छन् भने अझैपनि चढाउने गरिन्छ । मूर्तिलाई श्रृङगार दल्ने काम गरिन्छ ।