महरालाई फेरि म्याद थप्ने तयारी, अदालत लगियो

२०७६ कार्तिक ३ आइतबार ११:५०:०० मा प्रकाशित

काठमाडाैं । संसदकै महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेकाे आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः अदालत लगिएको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीका अनुसार हिरासतमा राखेर अनुसन्धान गर्न यसअघि अदालतले दिएको म्याद सकिएपछि पुनः म्याद थप्न अदालत लगिएको हाे ।

गत असोज १९ मा पक्राउ परेका महरालाई अदालतले १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद यसअघि दिएको थियो । दसैं बिदा सकिएपछि २८ असोजमा अदालत खुलेर उपस्थित गराइएका उनलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो । त्यो म्याद १ कात्तिकमा सकिएको थियो। त्यस लगत्तै शनिबार परेकाले उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

अहिले उनलाई नर्भिक अस्पतालबाट जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ ।  काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दिएको समय सकिए पनि महराको बयान भने अझै सुरु नै भएको छैन् । महराले आफनो स्वास्थ्यको कारण देखाउँदै आजसम्म बयान दिन मानेका छैनन् । प्रहरीले कुनै पनि मुद्दामा आरोपित व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । उनले बयान नदिए पनि प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन सक्नेछ । सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनसहित अभियोग पत्र अदालतमा दायर गर्नसक्छ ।