प्रधानमन्त्री ओली बिहीबार अजरवैजन जाने

२०७६ कार्तिक ३ आइतबार ११:३९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रका प्रमुख (एनएएम)हरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार (२४ अक्टोबर) अजरवैजन जाने भएका छन् । सम्मेलन आगामी २५ अक्टुबरदेखि २६ अक्टुबरसम्म आयोजना हुनेछ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भ्रमण बारे जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको नेतृत्व प्रधानमन्त्री ओलीले गर्ने छन् । सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् । उक्त अवसरमा प्रधानमन्त्रीले  राजनीतिक भेटवार्ता पनि गर्ने छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसंग पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रका सचिव शंकरदास बैरागी रहने छन् । प्रधानमन्त्रीको टोली २७ अक्टोबरमा नेपाल फर्किने कार्यक्रम रहेको छ ।