प्रचण्ड पुग्दा माधव नेपाल किन उठेनन् ?

२०७६ असोज २९ बुधबार १७:०६:०० मा प्रकाशित

काठमाडौं । नेकपाको चियापान कार्यक्रममा नेता बस्न सजाईएको मञ्चमा प्रधानमन्त्री पुग्नुअघि अनौठो दृश्य देखेर दर्शकहरु कानेखुशी गरिरहेका देखिन्थे- 'उनी किन उठेनन् हँ ?' 

प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमस्थलमा पुगिसकेका थिएनन् । ओली दम्पतिका लागि दुइवटा कुर्सी खाली राखेर लहरै नेताहरु बसिरहेका थिए, त्यतिकैमा अर्का अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा चढे । दाहाल चढेपछि सबै नेता जर्याकजुरुक उठे अनि पालैपालो हाल मिलउन थाले दाहालसँग । 

तर लहरको उत्तर कुनामा बसेका वरिष्ठ नेता माधवकुमार नेपाल भने उठ्न आँटेजसरी घुँडामा हात राखे तर उठेनन् । नेपालको यो आनाकानी देखेर सेल्फी खिच्दै, चिया सुक्र्याउँदै नेताका सामु उभिएर दण्डवत् गर्दै गरिरहेका सहभागी अचम्भित भएका देखिन्थे । उनीहरुको एउटै जिज्ञासा सुनिन्थ्यो- 'किन उठेनन् नेपाल ?'