प्रधानमन्त्रीलाई ‘तपाईँ’ भन्न पाईयोस् !

२०७६ असोज २८ मंगलबार १६:२९:०० मा प्रकाशित

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषाको प्रयोगमा शिष्टता र मर्यादा स्खलन हुँदै गएको भनेर चिन्ता जाहेर गरेछन् । प्रधानमन्त्री ओलीको यो चिन्तासँग असमत हुनुपर्ने कुनै पनि कारण र तर्क हामीसँग छैन ।

घामजत्तिकै छर्लङ्ग सत्य के हो भने नेपाली भाषाको अराजक प्रयोगले यसको लिनुसम्म हुर्मत लिईएको छ । यसमा प्रयोगकर्ताको ठूलो भूमिका छ भने केही तथाकथित भाषाविद्हरुको अकर्मण्यताले पनि हाम्रो भाषामाथि नजायज दख्खल परेको छ । यी दुइ पक्षलाई बिर्सन मिल्दैन र सरोकारवाला सबैले यसलाई गम्भीर रुपले चिन्तन मनन गर्नुपर्दछ । 

प्रधानमन्त्री ओलीले नै भाषाको चिन्ता गरिरहँदा यही समयमा भाषाको हुर्मत लिने कार्य रोक्न र भाषाको मानकको शतप्रतिशत सम्मान हुनेगरी यसको जगेर्ना गर्न पनि सम्बन्धित निकायले सोच्न जरुरी छ ।

देश,भाषा र संस्कृतिको रक्षा गर्नु,सम्मान गर्नु र प्रतिष्ठा बढाउनु सबैको कर्तव्य हुनआउँछ । तर यसमा अरुलाई जिम्मेवार ठहर्याएर मात्र पुग्दैन, आफू स्वयं र आफ्नो समुदाय यसमा कति जिम्मेवार अनि जवाफदेही छ भन्ने कुरा पनि बिर्सन मिल्दैन । यहाँ प्रधानमन्त्री ओलीले पत्रकारलाई भाषाको शिष्टता र मर्यादा बिर्सेको भनी आरोपित गरेका छन्, भाषाको शिष्टता कमजोर बनाउन राजनीतिक क्षेत्रले पुर्याएको योगदान चैं बिर्सन चाहेका छन् । हो, पत्रकारिता नै सबैभन्दा बढी भाषाको प्रयोग गरिरहने पेशा हो । भाषाको शिष्टता कमजोर पार्नमा यसको भूमिका छैन भनेर चोखो बन्न सकिने ठाउँ छैन । तर राजनीतिक क्षेत्रको सार्वजनिक व्यवहार, आचरण, निष्ठा र प्रवृत्तिले गर्दा पनि भाषाको शिष्टता गिराउन योगदान गरेको पक्ष पनि बिर्सन मिल्दैन ।

प्रधानमन्त्रीको भनाईमा केन्द्रित हुँदा उनले ‘पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको’ आरोप छ । उनले उदाहरण नै दिएर भनेका छन्– ‘अंग्रेजीको यू भन्ने शब्दको लोभ लागेर अचेल बालाई तपाईँ भन्न बिर्सिए ।’ अझ उनले त ठूलालाईं ‘तपाईँ’ र सानालाई ‘तिमी’ भन्ने हाम्रो परम्परागत चलन अनुसार नै पत्रकारले पनि समाचार लगायतका सामग्रीमा भाषाको प्रयोग गरुन् भन्ने चाहेको प्रष्ट बुझ्न सकिन्छ । सायद पदीय मर्यादा अनुसार पनि यसै भैदिए हुन्थ्यो भन्ने उनको चाहना हुनसक्छ, सरकारी सञ्चारमाध्यमले जस्तै ।

प्रधानमन्त्रीको यो चिन्ता र अपेक्षालाई अन्यथा भन्न मिल्दैन । तर उनले अपेक्षा गरेजस्तै सम्बन्धित सबैले आफ्नो हैसियत अनुसारको मर्यादा स्वयंले राखिदिएको भए पो भाषाको शिष्टताबारे गरिएको चिन्तामा पुरै सहमत हुन सकिएला । तर यथार्थ त अर्कै छ । 

उदाहरणका लागि केही प्रसंग चर्चा गरौं न । राजनीति र अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सार्वजनिक रुपमै नंगानाच गरेका घटना कति होलान् ? हालैको महरा प्रकरण समेत यसअघिका कैयौं विभिन्न निन्दनीय घटनाले शिष्टता र मर्यादा भन्ने शब्दकै अमर्यादा गरेका छैनन् र ? गधाले पनि बोक्न नसक्ने वजनको माला लाउने भद्दा चलन कसले चलाएको छ ? कार्यकर्ताको पिठमा बोकिएर खोलो तर्ने नेता र सुरक्षाकर्मीलाई वयस्क सन्तानको जुत्ताचप्पल बोकाउने लाजमर्दो काम कम्तीमा नेपाली जनतालाई पाच्य नभएका घटना हुन् । यी त केही उदाहरण मात्र हुन्, भ्रष्टाचारतिर प्रवेश गरियो भने कहालीलाग्दो पहेली छँदैछ । यिनै घटना र पात्रले शिष्टता र मर्यादा शब्दको घोर अपमान गरेकाले नै हुनसक्छ तपाईँ भनिनुपर्ने पात्र पनि तिमी भनिएको होस् । तर यसो भनेर पत्रकारिताले चैं जे पनि लेख्न पाउँछ वा पाउनुपर्छ भन्ने हाम्रो मान्यता होइन । 
 

प्रधानमन्त्रीका चिन्ताका पक्ष नियाल्दा उनीसँग पुरै असमत हुनुपर्ने ठाउँ देखिँदैन । राजनीतिक क्षेत्रमा शिष्टता र मर्यादाको उचित मानक बनाउन थालियो भने यसको प्रभाव सबैतिर पर्दै जानेछ । देश बनाउन पहिलो शर्त अनुशासन हुने हो भने समाजमा रुपान्तरणको प्रष्ट परिणाम देख्न धेरै समय छट्पटिईरहनु पर्दैन । तर राजनीतिले यसको नेतृत्व गर्नुपर्दछ । 

विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँपुस्ताले बिर्सँदै गएको कुरामा असमत हुने ठाउँ छैन । तर यसको कारण पनि खोजिनुपर्छ र समाधानको ठोस खाका पनि हातमा हुनु पर्दछ । पढ्दा पढ्दैको संस्कृत भाषाको पाठ्यक्रम अचानक गुमाउँदाको पीडा र परिणाम के हो भन्ने कुरा प्रधानमन्त्री केपीशर्मा ओलीको राष्ट्रवादी चिन्तनधारामा समेटिन जरुरी छ, यदि भाषाको चिन्ता लागेकै हो भने ।  

प्रधानमन्त्रीका यी भनाई सही हुन् तर एकपक्षीय पो छन् कि ! जस्तो उनले भनेका छन्– ‘सभ्यताका पर्खालहरु बागमतिमा फालिए । शिष्टता, मर्यादा केही पनि छैन । पत्रकारले बाउलाई पनि तपार्इँ भन्दैन । तिमी भन्दा माथि उठेर । यो एउटा ट्रेन हो । अंग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईँ भन्न गाह्रो लाग्यो । किन भने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने ? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ । सानालाई तिमी भन्ने ठूलालाई तपार्इँ भन्ने स्वभाविक हो । भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई धन्यवाद छ, उनले भाषाको चिन्ता सही ठाउँमा गरेका छन् । तर समस्याको उजागर गर्ने अनि सभाकक्षबाट बाहिर निस्केपछि बिर्सँदै जाने खराब प्रवृत्तिको अन्त्य गर्नेतर्फ पनि प्रधानमन्त्रीको ध्यान जान जरुरी छ । हाम्रो देशमा जति पनि राजनीतिक परिवर्तन भए र गए, यसको मूल कारण भनेको बोली र व्यवहारमा विद्यमान विसंगति नै हो । यसको सकेसम्म चाँडो अन्त्य हुन आवश्यक छ । अनिमात्र समृध्द नेपाल सुखी नेपालीको आकर्षक नाराले नेपालीजनलाई आश्वस्त तुल्याउन सक्छ ।

भाषाको शिष्टता र मर्यादाको चर्चा गरिरहँदा समग्र राष्ट्रिय चरीत्र र प्रवृत्तिमा आमूल सुधार आवश्यक छ । यसलाई देश बिकासको पहिलो शर्त मानेर काम गर्ने तर्फ प्रधानमन्त्री ओली र सिंगो राजनीतिक क्षेत्रको ध्यान जाओस् । यसमा परिणाममुखी सुधार गर्न सकियो भने सबै क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्ने नै छ । सबै क्षेत्रमा शिष्टता र मर्यादा फक्रिँदै गयो भने प्रधानमन्त्री समेत सबैलाई ‘तपाईँ’ भन्न र लेख्न पाईने छ । सकारात्मक सोचको बिकास गरौं, शुभकामना !