ह्वाट इज इन अ नेम ?

२०७६ असोज १८ शनिबार १३:२०:०० मा प्रकाशित

कुरा म छ कक्षामा पढ्दाखेरिको हो ।

साँझको समय थियो । बा कामबाट फर्किसक्नु भएको थियो र ढल्किनु भएको थियो ओछ्यानमा । म उहाँको छेउमा बसेर आफ्ना पाठ्यपुस्तक पल्टाइरहेको थिएँ । मेरा अभ्यासपुस्तिकाहरु छेवैमा थिए । बालाई के लागेर हो मेरा कापी हेर्न थाल्नुभयो । उहाँले मेरो कापी लिएर पढ्न लागेकोमा मलाई एक प्रकारको डर र खुशी दुवै लाग्यो । कापी पल्टाउनुअघि उहाँको नजर कापीको आवरणको पुछारमा लेखिएको परिचय खण्डमा प¥यो । उहाँ मुसुक्क हाँस्नुभयो । वातावरण खुकुलो भयो र मेरो डर भाग्यो । म आफ्नो किताब पढ्न तल्लीन भएँ । केही बेर नबित्दै बाले कापीको आवरणमा मैले लेखेको मेरो नाम देखाउँदै सोध्नुभयो, ‘यो पढ् त ।’
मैले फुर्तीसाथ पढेँ, ‘विप्लव तामाङ ।’

अर्को कापी देखाउँदै भन्नुभयो, ‘अनि यो पढ् ।’

‘विप्लव खान ।’

‘अनि यो?’ अर्को कापी देखाउँदै फेरि सोध्नुभयो ।

‘विप्लव भारती ।’

मेरा मन पर्ने साथी थिए, वीरबहादुर तामाङ, मकबुल खाँ र राजु भारती । तिनीहरूजस्तै तिनका थर प्रिय थिए मेरा लागि । मेरा अरू पनि प्रिय साथी थिए जसका थर बैजु, श्रेष्ठ, राजभण्डारी, पनेरु, ढुंगाना, राणा, केसी र हमाल थिए । मैले कापी र किताबपिच्छे साथीहरूका थरलाई आफ्नो नामसँग जोडेर तिनलाई आफ्नो बनाएको थिएँ ।

‘पछाडिको नाम किन यसरी फरकफरक लेखेको ?’

‘सबै मेरै साथी हुन्, केही भन्दैनन्,’ मैले बालाई आश्वस्त पारेँ ।

‘जहिले पनि यसरी फरक फरकै लेख्छस् त ?’

मैले अँ भनेर मुन्टो हल्लाएँ ।

बाले भन्नुभयो, ‘तँलाई जे लेख्न मन लाग्छ लेख्, तर एउटै लेख् बुझिस् ? नत्र पछि झन्झट हुन्छ ।’

त्यो पछि कहिले हो र त्यो झन्झट कस्तो खालको हो भनेर न उहाँले मलाई बुझाउनु भयो, न म बुझ्न सक्ने उमेरकै थिएँ । उहाँले भन्नुभयो, ‘कुनै एउटा राख, खान लेख् वा तामाङ ।’
बाका कुरा म काट्दिनँ थिएँ, न उहाँको आदेश उल्लंघन गर्थेँ ।

बाले नै भन्नुभएको थियो उहाँको कोही साथीसँग कुनै दिन र कुँदिएको थियो मेरो बालमनमा, जातपातको कुरै नगर्नू भनेर । फेरि, बाले नै भन्नुभयो, ‘एउटै लेख्नू, पछि झन्झट हुन्छ ।’ म धर्मसंकटमा परेँ । फेरी फेरी थर लेखिरहेको बानी, एउटै कुलनाम लेख्न मलाई मन लागेन । बाको आदेश त्यसै कारणले चित्त बुझेन । तर, त्यो साँझ बासँग टाउको हल्लाएर स्वीकृति जनाएँ र उहाँले भनेको मानेँ । करिब दुई वर्षसम्म मैले एउटै कुलनाम लेखेँ कुमार– विप्लवकुमार । परीक्षाकापीमा पनि म विप्लवकुमार मात्रै लेख्थेँ । स्कुलको आन्तरिक परीक्षा भएकाले होला, गुरुहरूलाई मैले पूरा नाम नलेखेकामा आपत्ति नभएको वा उहाँहरूको ध्यानै नपुगेको पनि हुन सक्छ । तर, कुमार अधूरो लागिरहेको थियो मलाई । समयको अन्तरालमा मैले कहिले विप्लव कुमार अञ्जाना लेखेँ, विप्लव कुमार अकेला लेखेँ । तर, आफूले खोजी गरेका कुनै पनि कुलनामसँग म सन्तुष्ट हुन सकेको थिइनँ ।

त्यसैले यी कुलनामसँग धेरै समयसम्म साइनो गाँसिराख्न सकिनँ । ममा कस्तो धून सवार थियो कुन्नि ? किन आफ्नो पारिवारिक कुलनाम मैले लेखिनँ, मलाई थाहा छैन । त्यसको कारण कुनै मनोवैज्ञानिक हुनसक्छ, जसको म कुनै अनुमान गर्न सक्दिनँ । बाले आफ्नो नाममा ‘सर्वहारा’ जोड्नुभएको थियो । राजा महेन्द्रले ‘सर्वहारा’ उपनाम नराख्नू भन्दा बाले मान्नुभएन । त्यसपछि फलानालाई सरकारी जागिर नदिनू भनी मौखिक फरमान जारी गरिएको थियो बाका लागि । मेरो आदर्श र मेरो नायक हुनुहुन्थ्यो मेरा लागि बा । शायद सिको गर्न पुगेको थिएँ म उहाँको । मलाई पनि त्यस्तै कुनै नाम, उपनाम वा विशेषणको प्रबल मोह हुन पुग्यो ।

जे होस्, म कुनै स्थायी कुलनामको खोजीमा थिएँ । कक्षा ८ को मध्यतिर होला, मैले स्कुलको दक्षिणपट्टि रहेको झ्यालमाथि काठको पाटीमा कुन धूनमा हो, ‘माई नेम इज विप्लव कुमार प्रतीक’ लेख्न पुगेछु । त्यसको मुनि त्यसैलाई नेपालीमा उल्था पनि गरेछु । कसैले ध्यान दिएन । तर, शान्तबहादुर सरको ध्यान त्यता गयो एक दिन । उहाँ मेरा प्रिय शिक्षकमध्ये एक हुनुहुन्थ्यो । हाफ टाइमपछिको पिरियड थियो, सोध्नुभयो, ‘ए विप्लव, यो प्रतीक भनेको क्या हो?’
मैले प्याट्ट भन्न पुगेछु, ‘यो भनेको म विप्लवको प्रतीक भनेको हो सर ।’

अहिलेको सन्दर्भमा यो उत्तर केही खास नलागे पनि पञ्चायतको सिद्धान्तसम्बन्धी एउटा विषय नै पढ्नुपर्ने पञ्चायती व्यवस्थाको उत्कर्ष कालमा यसो भन्नु भनेको अनावश्यक खतरा मोल्नु हुन्थ्यो । त्यतिखेर मलाई त्यसको हेक्का थिएन । 

‘विप्लवको माने थाहा छ ?’ सरले सोध्नुभयो।

‘थाहा छ सर । क्रान्ति ।’ मैले भनेँ ।

सरले पुलुक्क झ्यालबाहिर बरन्डातिर हेर्नुभयो, सुनसान थियो त्यता र मतिर हेरेर भन्नुभयो, ‘ल गज्जब ।’ मानौँ मलाई ठूलो स्याबासी मिल्यो र स्वीकृति पनि । मेरो भुइँमा खुट्टा भएन । मैले कापी र किताबभरि विप्लव कुमारमा प्रतीक थपेँ । घर गएँ, आमा घरैमा हुनुहुन्थ्यो, सुनाएँ । बालाई बेलुकी सुनाएँ ।
‘अञ्जाना र अकेला के भयो त ?’ बाले सोध्नुभयो ।

‘अब नराख्ने । अब प्रतीक मात्र लेख्छु सधैँ ।’ मैले भनेँ । यसरी प्रतीकलाई पाएपछि मेरा ‘अञ्जाना’ र ‘अकेला’ अञ्जान भए, गुमनाम भए ।
आमाले बालाई मामा भनेर सम्बोधन गर्नुहुन्थ्यो, कोठामा पस्दै मानौँ बे्रकिङ न्युज सुनाउनुभयो, ‘मामा, यसले त प्रतीक पो लेख्छु भन्छ त ।’
बा मुसुक्क हाँस्नुभयो, ‘ठीकै छ, लेख्न देऊ न त ।’ बाको स्वीकृति पाएर म दंगदास परेँ ।
अब कुलनाम के लेख्ने भन्ने अन्योलको अवस्था रहेन ।

कति महिनासम्म त स्थिति यस्तो थियो, कसैले मेरो नाम सोधोस् सोधोस् जस्तो लाग्थ्यो । तर, बाका साथीले सोध्ने कुरा भएन, मेरा साथीले मेरो नाम सोध्ने त झन् प्रश्नै आएन । त्यसैले कुनै नयाँ ठाउँ जहाँ आफ्नो नाम भन्न पाइयोस्, त्यहाँ जान मन लाग्थ्यो या बाआमाका नयाँ साथी भेट्न मन लाग्थ्यो, जसले सोध्नासाथ आफ्नो नयाँ पूरा नाम भन्न पाइयोस् । घरमा कुनै कापी, किताब भएनन् होला जसमा मैले विप्लव कुमार प्रतीक लेखिनँ । अस्पताल जाँदा प्रेस्किप्सनमा नाम लेखाउने बेला मेरो टाउको यसरी तन्किन्थ्यो मानौँ लेख्ने मान्छेले मेरो नाम लेख्न अलि बेर लगायो भने त्यो मेरो शरीरबाट फुत्किएर प्रेस्किप्सनमा फुत्त खस्नेछ र भन्नेछ ‘प्रतीक लेख्नुस् प्रतीक’ । त्यतिखेर कस्तो खालको उमंगले मलाई वशीभूत गरेको थियो म अहिले सविस्तार भन्न सक्दिनँ ।

दुई वर्ष बित्यो । दश कक्षाको मार्कसिटमा बकाइदा मेरो नाम विप्लव कुमार प्रतीक लेखिएर आयो । घरघरमा नागरिकता बाँड्न आएका थिए । धन्न, यो प्रतीक भनेको क्या हो भनेर कसैले सोधेनन् । नत्र नागरिकतामा प्रतीकले स्थान पाउने थिएन शायद । नागरिकता पाएकै वर्ष तत्कालीन सोभियत संघ जाने अवसर पाएँ । राहदानी लिँदा त्यहाँ पनि विप्लव कुमार प्रतीक नाम दरियो । प्रतीक विप्लवमा मजाले मिसियो । सोभियत संघमा जातपातको कुनै महत्व दिँदैनन् भन्ने सुनेको थिएँ । त्यस्तै रहेछ । आफूले आफ्ना लागि तय गरेको कुलनामबाट अन्जान तृप्ति मिलेको महसुस भयो र अन्जान शक्तिबाट स्याबासी पाएझैँ लाग्यो ।

अनपेक्षित घुम्ती आएन भने निरस हुन्छ कथा । मेरो पनि निरसै हुन्थ्यो होला, म किशोरवयमा छँदा मेरो परिवार विखण्डित नहुँदो हो त । बाआमाको वात्सल्यमा लाडिएर बाँचिरहेको मैले अचानक जीवनको नौका एक्लै चलाउनुपर्ने अवस्था आइलाग्दा त्यतिखेर पहाडै खसेजस्तो लागेकोे थियो । आमाबाले आआफ्नो बाटो समात्नुभयो र हाम्रो परिवार भताभुंग भयो । हेर्दाहेर्दै म एक्लो भएँ त्यस शहरमा, काठमाडौँमा । त्यसरी म एक्लिएको समय मेरो प्रवेश काव्य कुञ्जमा भयो र शुरु भयो कविता लेख्ने अभ्यास । म कवितासँग लहसिँदै गएँ । त्यही समय कतिखेर कुमार उड्यो र म विप्लव प्रतीकमा सीमित भएँ, थाहै भएन ।

म मिलनसारै थिएँ क्यार र, थिएँ शायद मनोरञ्जनकर्ता पनि । त्यसैले होला जता गए पनि स्वागत हुन्थ्यो मेरो । धेरजसो जमघटमा रक्सी चल्थ्यो र हेर्दाहेर्दै म पनि मजाले रक्सी खान सिपालु भएँ । रसरंगमा मेरा साथीभाइलाई मेरो जात सोध्ने फुर्सद थिएन । जसलाई फुर्सद थियो, तिनले सोधेनन्, सट्टामा लख काटे मलाई नेवार भनेर, क्षत्री भनेर वा राणाजी भनेर । मैले तिनीहरूको लखलाई इन्कार गरिनँ, जे भनुन् त्यसलाई वास्तै गरिनँ । साथीहरूले सके आफ्नो तीक्ष्ण अनुमानलाई क्याबात् भने होलान्, मचाहिँ जातको जन्जिरबाट मुक्त भएको ठान्दो थिएँ । मेरी पूर्वपत्नीलाई शुरुशुरुमा म असनको घिउपसले जस्तो लागेको थियो रे । कतिले मलाई विप्लव थापा र विप्लव श्रेष्ठ भनेर निम्तो पठाएको पनि याद छ । जसले जे लख काटून्, मलाई त्यसले तनाव हुँदैनथ्यो । प्रतीक भनेको के भनेर सोध्दा मात्र लाग्थ्यो नरमाइलो । मलाई जात सोध्दा मन पर्दैनथ्यो । म यस धरतीको वासिन्दा कहलिन चाहन्छु, अर्थोक होइन पनि भन्न सक्दिनथेँ । 

साथीहरूसँग घनिष्टता भए पनि उनीहरूको घर जान भने म रुचाउन्नथेँ । नयाँ परिचय आदानप्रदानमै जात र कुन ठाउँको भनेर निधिखुदी गर्ने नेपाली बानीका कारण जहाँ गयो त्यहाँ मेरो वंशको इतिहास खोजबिन हुन्थ्यो । जहाँजहाँ जान्थेँ, बाबुको घर कहाँ ? बाको नाम के हो ? आमाको नाम के हो ? भनेर प्रश्न कथम् उठेन भने त्यस कुरामा बाजी राखे पनि  हुन्थ्यो । प्रतीक भनेको जातविहीन हुन चाहेको एक ठिटाको कुलनाम हो । मलाई विनाजातको मान्छेका रूपमा कृपया यस समाजमा बाँच्न दिनुहोस् न भनेर त्यतिखेर भन्ने आँट मसँग  थिएन ।

साथीहरूलाई सब स्वीकार्य हुन्छ । विनाजातको वा जातपातको विभेद नरुचाउने प्रतीक उनीहरूलाई स्वीकार भयो । हामीबीच न जातपातको कुरा चल्थ्यो, न धर्मको । किनभने म नास्तिक पनि हो भन्ने पनि मेरा अधिकांश साथीलाई थाहा थियो । कहिले पनि मन्दिर, गुम्बा वा मस्जिदमा नछिरेका मेरा बाको चरित्रको सिको थियो म नास्तिक हुनुमा । अनि बाले नै त भन्नुभएको थियो, ‘मान्छे मात्र मान्छे हो । मान्छेको मान्छेबाहेक अर्को जात छैन । भगवान छ भने त्यो मानिसमा बाहेक अन्यत्र भेटिँदैन ।’

विनाजात बाँच्ने क्रममा अनेक अनौठा अनुभव भए । सबै याद पनि छैन । जातभातको ठेगान नभएकालाई केटी दिँदैनौ भन्ने अपमानको अनुभव गर्न पाएँ । कसैसँग परिचय हुँदा वा काम खोज्न जाँदा प्रतीकले नपुगेर कति चोटि खिस्रिक्क पर्नु प¥यो । म मेरो जात बिर्सिन चाहन्थेँ, तर मानिसहरू सम्झिन जोड गरिरहन्थे । ‘नानी कुन थरी ? विप्लव प्रतीक अनि के ?’ भन्ने अक्सर मेरा कानमा बज्रिरहन्थे । मैले क्रान्ति गर्न चाहेको थिइनँ, जातविहीन समाजको वकालत गर्न हिँडेको थिइनँ, न कुनै नौलो पथको सिर्जना गरेर आफूलाई नायक बनाउन चाहेको थिएँ । न कसैले मेरो अनुशरण गरोस् भन्ने न आग्रह नै मेरो थियो । जातपात र धर्मका कारण हुने भेदभावबाट व्यवहारमै भिन्न हुन, अलग रहन एउटा संकल्प थियो मनमा मेरो । यसले कसैलाई बिगार पनि गर्दैनथ्यो । जतिजति उमेर बढ्दै गयो उतिउति आफ्नो अठोटप्रति अडिग हुन थालेँ । जतिजति जवाफ खोजिन्थ्यो, म पनि त्यतित्यति थेत्तरो हुँदै    गएँ । जतिजति सम्झाउन खोजिन्थ्यो, म उतिउति बिर्सिँदै जाँदै थिएँ । किन यस्तो जिद्दी भएँ म कुन्नि ? तर, सत्य हो, जतिजति मेरो जातको खोजबिन भयो, मेरो निम्ति प्रतीकको महत्व झन्झन् बढ्दै गयो । एउटा ‘निजी रहर’ अब अभियान बन्दै थियो मेरो चिन्तनभित्र ।

मेरालागि बरु प्रिय मित्र, पे्रयसी, परिवारसँग अलग रहन मञ्जुर थियो, आफूले सिर्जना गरेको प्रतीकको ठाउँमा कुनै जात या थर हाल्न स्वीकार्य थिएन । जागिर पाउन जात भन्नैपर्ने शर्तबाट उम्किन आफैँले कुनै काम सुरु गर्नु उचित ठानेँ । तर, गर्ने के ? शुरुमा व्यापारकै सोच आयो । तर, कोठामा कार्ल माकर््सको पुँजी थियो, कारोबार सुरु गर्न पुँजी भने थिएन । तिनताक पुराना मूर्ति, प्राचीन सिक्का, एकमुखे रुद्राक्ष, स्यालको सिङ, नागमणिजस्तो चीज बेचबिखन गरेर रातारात मालामाल भएको सपना देख्ने चलन थियो । म पनि लागेँ पुँजी नै लगानी नगरी पुँजी कमाउने बाटोमा । फलाना ठाउँमा छ रे बेच्ने मान्छे भनेर कहिले गोकर्ण पुग्यो, कहिले मातातीर्थ, कहिले बनेपा त कहिले बुढानिलकण्ठ । तर, कुनै पनि चीज देख्न त परै जाओस्, सुँघ्नसमेत कहिल्यै पाइएन । हल्लाले जन्माएको व्यापारबाट एक डेढ वर्षपछि छुटकारा पाइयो । नायक विश्व बस्नेतले चिनजान गराएका शिव खड्काले जनज्योति साप्ताहिक निकाल्थे । केही महिना प्रतीककै भरमा काम पाइयो । त्यसपछि केही साथीसँग मिलेर महिनाको २ हजार भाडा तिरेर न्युरोडमा एड एडभर्टाइजर्स भन्ने विज्ञापन एजेन्सी खोलियो । चौधरी ग्रुपको लालदरबारमा ‘ग्रुप थ्री’ भन्ने विज्ञापन एजेन्सी खुलेको ताका थियो त्यो । दस जना पार्टनर मिलेर खोलिएको हाम्रो एजेन्सी तीन महिनापछि बन्द भयो । आफूसँग विप्लव प्रतीक लेखिएको एजेन्सीको भिजिटिङ कार्ड मात्र खल्तीमा रह्यो एजेन्सी बन्द गरेर सडकमा निस्किँदा ।

राष्ट्रिय नाचघरमा नारायणगोपाल जिएम हुनुहुन्थ्यो । गौतमरत्न तुलाधर साथी थिए । यहाँ प्रतीकले काम चल्यो । नाटकमा खेलेर केही गरिएला भन्ने सपना लिएर छिरेको थिएँ, तर दर्शक हलमा भरिएको बेला रंगमञ्चमा प्रवेश गर्नु मेरा लागि साँच्चिकै सपना भयो । हरिप्रसाद रिमालले नायक खेलाउँछु भन्नुभएको थियो ‘श्रीकृष्ण चरित्र’ मा मलाई । तर, त्यो नाटक वर्षौँसम्म बनेन । बल्लबल्ल गणेशप्रसाद श्रेष्ठको ‘निर्वाण मार्ग’ मा मन्त्रीको भूमिका पाइयो, मात्र ठिंग उभिने । तुलमा नाम लेखिनु त आकाशको फल भइहाल्यो । विप्लव प्रतीक भनेर नाम नआए पनि नाचको दृश्यमा बदलिँदो आकाश र जुनीमा एक्स्ट्राको भूमिका पाइयो, चलचित्रको पर्दालाई प्याट्ट छोएर फुत्त फर्केको सिनेमाको प्रोजेक्टरको प्रकाशजस्तै । यी सबै सुनाउनुको कारण के हो भने म त्यहीँत्यहीँ गएँ जहाँजहाँ विप्लव प्रतीक स्वीकार्य हुन्थ्यो । त्यतातिर सरेनन् मेरा पाइला जताजता स्वीकार्य थिएन प्रतीक । तर, प्रतीक स्वीकार्य भएका ठाउँमा भनेजसो आम्दानी नभएपछि पत्रिका निकाल्ने सुर चढ्यो । बाका साथी हुनुहुन्थ्यो– भवानी घिमिरे र वासु शशी । भवानी घिमिरेको सम्पादनमा ‘भानु’ र वासु शशीको सम्पादनमा ‘सञ्चय डाइजेस्ट’ निस्कन्थे । ती दुई पत्रिका थिए पत्रिका निकाल्ने मेरो प्रेरणाका लागि । रिडर्स डाइजेस्ट, कादम्बिनी र सोभियत संघबाट प्रकाशित स्पुतनिक मासिकको पाठक मलाई पनि डाइजेस्ट निकाल्ने रहर जाग्यो । 

केही वर्षमै पब्लिसिङ हाउस खोल्ने परिकल्पना गरेर निकालेको आफू भन्ने डाइजेस्ट दुई अंकमै थचक्क बस्यो, कसैले बीचैमा पैसा खाइदिएर । प्रतीक लिएर अब विप्लव अर्को स्वरोजगारतिर लम्कियो । फोटोग्राफी गर्न थाल्यो । राष्ट्रिय नाचघरका कलाकारको तस्बिर खिचेर शुरु भयो यो पेशा । तर, आफैँ त महादेव उत्तानो पर, कसले देला वर भनेजस्तै जसोतसो गुजारा चलाइराखेका कलाकार अनि चिनजानको भरमा काम निकाल्ने बेलामा कसले दिने पैसा ? फोटो व्यवसायी साथी योगेन्द्र आलेसँग तीनचार हजार उधारो लिइसकेपछि र तिर्ने गुञ्जायस नदेखेपछि प्रतीकको नाम्लो बोकेर म चलचित्रको पटकथा लेख्ने र निर्देशन गर्ने कामतिर लागेँ । निकै वर्ष पापड बेलेपछि र निकै हन्डर खाएपछि केही भिडियो चलचित्रमा अर्कैको नाम आउने गरी निर्देशन र पटकथा लेख्ने काम पायो प्रतीकले । नामी कलाकार नीर शाहको सदाशयले हास्य कलाकारका रूपमा उतिखेरका चर्चित सन्तोष पन्तलाई नायक र ‘मालती मंगले’ बाट ख्याति कमाएकी कलाकार लक्ष्मी श्रेष्ठलाई नायिकाको भूमिका दिएर मैथिल प्रदेशको सेरोफेरोमा आधासरो मैथिली र भोजपुरीमा टेलिचलचित्र पनि बनायो प्रतीकले २०४२ सालतिर ।

चलचित्र बनाउने सिलसिलामा पाकिस्तान पनि पुग्यो प्रतीकसँगै विप्लव । आज पाकिस्तानमै हुन्थ्यो विप्लव प्रतीक । तर, नेपालमै बसेर चलचित्र बनाउँछु भन्ने अठोटले फर्किएको प्रतीक, नेपाल आएपछि जति चलचित्र बनाउन मच्चियो, उति थच्चियो । त्यसका अनेक कथा छन् र बीचमा अनेक गाथा छन् चलचित्र छाडेर पत्रकारितामा आउँदासम्म । दाइ वसन्त थापा नहुँदा हुन् त म आउने थिइनँ पत्रकारितामा । उहाँले गर्दा नै हो म दुई दशकसम्म रत्तिएको त्यस क्षेत्रमा ।

पत्रकारितामा हुँदा पनि अनेकपल्ट प्रतीकले दुःख पाएको छ । विप्लव अरु नै कोही हो भनेर खोजीनीति र छानबिनसम्म भएको छ, मलाई अनाहकमा मेरो विनम्र बानीबाट च्युत गराउने गरी । एकपटक साहित्यका मणिमध्ये एक कमलमणि दीक्षितले भन्नुभयो, ‘ए थाहा पाएँ तपाईँ लामिछाने हुनुहुँदो रहेछ ।’ म मुसुक्क हाँसेँ, केही बोलिनँ, तर भन्न मन थियो, ‘हो म लामिछाने नै हो । लामिछाने गुरुङ ।’ कारण म त्यतिखेर वैवाहिक बन्धनमा थिएँ । मेरी पूर्वपत्नी थिइन् पनि गुरुङ । प्रतीकका श्रीमतीले प्रतीक वरण गर्नुहुने र गुरुङको श्रीमान्ले गुरुङ हुन नपाउने ? मेरो मनमा अनेक प्रश्न झुत्ती खेलिरहेका थिए । तर, जवाफ नदारद ।

नेपाल वातावरण पत्रकार समूहमा एकपल्ट पार्टी चलिरहेको थियो । सिंखडा थरका एक जना पत्रकार मसँग परिचय गर्न आए । मैले विप्लव प्रतीक भनेर आफ्नो परिचय दिएँ ।
‘प्रतीक त प्रतीक भो, थर के हो ?’ उनले सोधे । ‘मसँग नाम थर जे छ यति नै छ,’ मैले भनेँ । तर, उनी चुप लागेनन्, सुर्रिएर चर्चरी बाझ्न थाले मानौँ मैले कुनै अपराध नै गरेको छु प्रतीक बनेर । शायद उनलाई अलिकता नशा लागेको थियो क्यार, मेरो मानमर्दन गर्ने मनसाय त पक्कै थिएन । तर, त्यसकारण वातावरण अलिकता बेग्लै बन्न पुग्यो । साथी मोहन मैनाली, रविन्द्र पाण्डे हो वा रघु मैनालीले बीचमा ती पत्रकार मित्रलाई जसरी काठमाडौँस्थित परोपकार विद्यालयमा पढ्ने सबैको थर नेपाली हुन्छ मेरो पनि त्यस्तै प्रतीक भनेपछि उनी चुप लागे । के बुझे कुन्नि, अघि नै भन्नुपर्दैन भनेर कुर्लिए । राम्रै भयो कुर्लिएको किनभने त्यसपछि मत्थर भए उनी । मेरो त के कुरा भयो र, म आफ्नो प्रतीकसँग सानन्द थिएँ ।

एकपल्ट मेरा डाक्टर मित्रसँग इनरवा गएको थिएँ, उनको काकाको घरमा । दिउँसो पुगियो, चिया सिया खाइयो । बेलुकी खाना खाने बेला भयो । खाना तयार भयो भन्ने थाहा भयो तर बोलावट आएन । साथीलाई पनि देखिनँ । बल्लबल्ल खाना खान बोलाए साथीले, उनको मुहार अलि अँध्यारो थियो । त्यतिखेर त्यति याद भएन । भान्छाभित्र पसेको, पस्ने बित्तिकै ढोका छेउमैै जुटको बोरा ओछ्याइएको थियो मेरालागि । परिवारका अरु सदस्य चुलोको छेउछाउ पिर्कामा बसेका थिए । खाना खाइसकेर अम्खोरा लिएर म हिँडेँ मुख चुठ्न । हामी तीन दिन जति बस्यौँ त्यहाँ । तर, भोलिपल्टदेखि साथीले घरको खाना त्यति मीठो लागेन, बाहिरै खाऊँ भनेर त्यहाँ बसुञ्जेल बजारको रेस्टुराँमा दुवै छाक मलाई लिएर खान थाले ।

पछि थाहा पाएँ, उनका काकाकाकीले मेरो जात सोधेछन्, जुन डाक्टर मित्रलाई पनि थाहा थिएन । जात थाहा नभई भान्छामा नछिराउने कुरा काकाकाकीले गरेछन् । साथीले मलाई जात नसोध्ने अडिग निर्णय सुनाएछन् र त्यो राति भने त्यहीँ खान दिन मनाएछन् । प्रतीकले उनलाई धर्मसंकटमा पारेको मलाई कहिलेकाहीँ अझै सम्झना आउँछ ।

म बाँचेको समाजको अर्कै नियम रहेछ । मैले कसैलाई मेरो अनुशरण गर भनेर कहिल्यै आग्रह नगरे पनि उनीहरूमध्ये अधिकांशको चाहना छ प्रतीक भनेको के हो भनेर जान्ने । त्यसैले म बाँचुन्जेल मलाई कसै न कसैले कहिले न कहिले प्रतीक भनेको के हो भनेर सोध्नेछन् भन्नेमा म विश्वस्त छु ।

पारिजातलाई विष्णुकुमारी वाइबा, प्रेमध्वजलाई प्रेमध्वज प्रधान, फत्तेमानलाई फत्तेमान राजभण्डारी र नारायणगोपाललाई नारायणगोपाल गुरुवाचार्य बनाउने समाजले मलाई पनि विप्लव प्रतीक फलानो भन्न चाहेको होला । त्यसो गरेर एउटा जातको घेरामा राख्न चाहेको होला । तर, म यस देशको राउटे, चेपाङदेखि सारा जनजाति र जातको रगत मिसिएको मान्छे बन्न चाहेको हुँ, नेपाली हुँ । त्यसबाहेक म संसारभरिका सारा मानिसका पुर्खा अफ्रिका महादेशको काला जाति भएको कुरामा विश्वास गर्ने, संसारभरिका सारा मानिस र ममा केही फरक छैन भन्ठान्ने मान्छे हुँ । म कसरी कुनै एउटा घेराभित्र अटाऊँ ? मान्छेले मलाई जे भनून्, जे देखून्, तर कसरी एउटै प्रान्तको बनूँ म ? कसरी एउटा वर्णको मात्र व्यक्ति बनूँ म ? 

बाल्यकालमा अँगालेको प्रतीक मेरो परिचयको अभिन्न अंग बन्न पुगेको छ । कसैले यसलाई मानुन् नमानुन्, म भने यही नै रुचाउँछु र यसमै रम्छु । प्रतीकका कारण अझै केही बाँकी हन्डर खानुपरे पनि त्यो मलाई सहर्ष स्वीकार छ । दुःख दिएर, सुख दिएर, आँसु दिएर, मुस्कान दिएर, सपना देखाएर र सपना चुँडाएर, जे गरेर होस् समाजले र युगले मलाई ठूलो गुण लगाएको छ । आशा छ, यसले एउटा अर्को गुण लगाउनेछ मलाई, विप्लव प्रतीक रहन दिएर । (पुनर्प्रकाशन)