युरोपा लिग फुटबल : मार्टिनेलीको दुई गोलमा आर्सनलको सहज जित

२०७६ असोज १७ शुक्रबार १६:१०:०० मा प्रकाशित

गाब्रिएल मार्टिनेली प्रेरित आर्सनलले युरोपा लिग फुटबलमा स्ट्यान्डर्ड लिएजमाथि सहज जित हात पारेको छ।

गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले ४-० को जित हात पारेको हो। आर्सनलका लागि उत्कृष्ट प्रदर्शन गरेका मार्टीनेलीले १३औं र १६औं मिनेटमा गोल गरेका थिए।

खेलको २२ औं मिनेटमा जोए विल्लकले गोल गर्दै आर्सनललाई ३-० को अग्रता दिलाएका थिए। मध्यान्तरपछि पनि आर्सनलले स्ट्यान्डर्ड दबाब कायम राख्यो। खेलको ५७ औं मिनेटमा डानी सेबालसले गोल गर्दै आफ्नो टोलीलाई ४-० को फराकिलो जित दिलाए। सेबालसको यो गोल आर्सनलका लागि पहिलो हो।

यसअघि पहिलो खेलमा आर्सनलले फ्रान्कफर्टलाई ३-० ले पराजित गरेको थियो। लगातार २ खेलमा जित हात पारेको आर्सनल ६ अङ्कका साथ समूह ‘एफ’ को शीर्षस्थानमा छ। समान खेलबाट ३-३ अङ्क जोडेको स्ट्यान्डर्ड र फ्रान्कफर्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा दुवै खेल गुमाएको गुइमारस पुच्छारमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा फ्रान्कफटले गुइमारासलाई १-० गोलले पराजित गरेको छ।