हेलम्बुका एकल पुरुषलाई पनि भत्ता 

२०७६ असोज १७ शुक्रबार १३:२४:०० मा प्रकाशित

सिन्धुपाल्चोक, १७ असोज । हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्य्विधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । 

गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाले जनाए । 

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हेलम्बु कम आन्तरिक आय भएको गाउँपालिकामा भएको समेत उनको भनाइ छ । गत आर्थिक वर्षमा ४० लाख आन्तरिक आम्दानी गरेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए । 

हेलम्बुले यस आर्थिक वर्षमा ६१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको समेत बताए । वृद्धभत्ता लिइरहेका एकल पुरुषको हकमा भने एकल भत्ता लिन नपाउँने व्यवस्था गरेको छ । सरकारी तर्फबाट दोहोरो सुविधा नपाउने भएकाले यस्तो व्यवस्था पालिकाले गरेको हो । हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ । 

करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जनाए । एकल पुरुषलाई भत्ता दिने व्यवस्था गत आर्थिक वर्षबाट झापाको झापा गाउँपालिका, ललितपुरको बाग्मती नगरपालिका, बैतडीको मेलौली नगरपालिका, रामेछापको खाँडादेवि गाउँपालिका र बझाङको जयपृथ्वी नगरपालिका लगायत स्थानीय तहले सुरु गरेका छन । स्थानीय सरकार आएपछि स्थानीय तहले आफ्नो लोकप्रियताको लागि विभिन्न खालका जनप्रेमी कार्यक्रम ल्याउँदै आएका छन ।