महरा प्रकरण: रोशनीले नबताएको कथा

२०७६ असोज १७ शुक्रबार ०७:३०:०० मा प्रकाशित

काठमाडौं । २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो । बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल भइरह्यो ।

कहिले कसैसँग बोलिनन्, कहिले सबैसँग झगडा गरिन् । घरमा धेरै सामान फुटे, संसद् सचिवालयका सहकर्मी रुष्ट हुँदै गए, आफन्त र नातेदार टाढिँदै गए । गहिरो प्रेममा परेर बिहे गरेका श्रीमान्को माया पनि उनी डिप्रेसनमा गएपछि बिस्तारै तैरिँदै तैरिँदै किनारा लाग्यो । ‘म त एक्ली छु, बाँच्नै मन लाग्दैन, मर्छु भनेर दुईपटक कोसिस गरें, मरिनँ,’ रोशनी शाहीले यसो भनिरहँदा अनुहार भावशून्य थियो ।

बुधबार साँझ साढे ७ बजेतिर म उनको कोठामा छिर्दा नीलो सलले टाउको बाँधेर सोफामा सुतिरहेकी थिइन् । मलाई देख्नेबित्तिकै हत्तपत्त उठेर हात जोड्न तम्सिएकी उनका हात थरथराइरहे । सोधें, ‘सञ्चो छैन ?’ उनले ‘हो’ भनेर टाउको हल्लाइन् । मलाई रोशनीसँगै कोठामा छाडेर उनका श्रीमान् चित्रजंग शाही बाहिर निस्किए ।

मलाई रोशनीबाट कुनै सनसनी खोज खुलासा गराउनु थिएन, न ‘मिडियामा किन बोली फेरिरह्यौ ?’ भनेर र्‍याखर्‍याख्ती पार्नु थियो । धेरै प्रमाणले उनी पीडित हुन् भन्ने आधार तयार गरिसकेको थियो । त्यही आधारमा उनीसँग कुराको सुरुवात मैले आइतबार साँझकै प्रसंगबाट गरें ।

सोधें, ‘के भएको थियो त्यो रात ?’ उनको भारी मन तौलिएर मात्रै कुरा बाहिर निकाल्न अभ्यस्त भइसकेको रहेछ । भनिन्, ‘मैले धेरै औषधि खाएँ, औषधिसँगै भोड्का पनि खाएँ, के गरिरहेकी थिएँ, म आफैंलाई थाहा छैन ।’ उनले त्यो रात आफू घरमा एक्लै भएको जिकिर बारम्बार गरिरहिन् ।

‘तर सीसीटीभी फुटेजले महराजी यहीं आएको देखाएको छ,’ मेरो यो कुरा सुनेपछि रोशनी एकछिन झस्किइन्, टोलाइन् र केहीबेरपछि भनिन्, ‘हो र ?’

कोठामा फेरि एकछिन सन्नाटा छायो । उनले सन्नाटा चिर्दै भनिन्, ‘तर उहाँले मलाई बलात्कार गर्नुभएको हैन ।’ रोशनीको पहिलो अन्तर्वार्ता सार्वजनिक भइसकेपछिको खोजबिनले त्यस दिन कृष्णबहादुर महरा उनको घरमा गएको पुष्टि भइसकेको छ । रोशनीको शरीरका चोटहरूले उनी कुटिएको प्रमाण दिएकै छन् । सोमबार साँझ मसँगै भएको पहिलो कुराकानीमा उनले ‘महराले आफूलाई हातपात’ गरेको बताएकी थिइन् । मंगलबार बिहान प्रहरीको सम्पर्कमा पुगेकी रोशनी त्यसपछि एकाएक हराइन्, मोबाइल ‘अफ’ गरिन्, उनको नामबाट ‘अपडेट’ हुँदै आएको फेसबुक ‘डिएक्टिभेट’ भयो ।

मंगलबार साँझ सोह्रखुट्टेमा रहेको आफन्तको घरमा बसेर केही सञ्चारमाध्यमलाई लगालग अन्तर्वार्ता दिइन् । त्यतिन्जेल महराले सभामुख पदबाट राजीनामा दिइसकेका थिए । अन्तर्वार्तामा रोशनीको बोली फेरियो, महरा आफ्नो घरमा आउँदै नआएको उनले बयान दिइन् । ‘तपाईंको मोबाइल अफ थियो, त्यो अन्तर्वार्ताका लागि कसरी पुग्नुभो ?’ मैले सोधें । रोशनीका अनुसार उनलाई तीनकुनेको कोठाबाट ट्याक्सीमा राखेर सोह्रखुट्टे पुर्‍याइएको थियो । त्यो काम पूर्वमाओवादीका एक स्वास्थ्यकर्मीले गरेका थिए । स्रोतहरू भन्छन्, ‘पूर्वमाओवादी कार्यकर्ता भएकाले उनी रोशनीका श्रीमान् चित्रजंगसँग घनिष्ठ थिए ।’ के उनैले रोशनी र महराका बीचमा ‘मध्यस्थ’ को भूमिका खेलेका थिए ? उत्तर अहिले पनि पर्दा पछाडि नै छ । रोशनीका अनुसार भने उनले घटनापछि महरासँग एकपटक मात्रै फोनमा कुरा गरेकी छन् ।

मलाई मंगलबार दिउँसै नेकपाका एक माथिल्ला नेताले भनेका थिए, ‘पीडित महिलाले महरासँग घटना बाहिर ल्याएर गल्ती गरें भनेकी छन् रे, केहीबेरमा तपाईंले पनि थाहा पाउनुहोला ।’ त्यसपछि मैले ‘उनको मोबाइल त बिहानैदेखि अफ छ, कसरी कुरा भयो होला र ?’ भनेर ती नेतालाई सोधें । नेताले मलाई दिएको जवाफ थियो, ‘उहाँहरूका सयौं सम्पर्क सूत्र हुन्छन्, तीमध्ये एउटामार्फत महरा पक्ष र पीडित महिलाबीच कुरा भइरहेको छ ।’ त्यसपछि पनि मैले रोशनीलाई बारम्बार सम्पर्क गर्ने प्रयास गरें तर उनी भेटिइनन् । सोमबार साँझ हामीसँगैको कुराकानीमा महराले आफूलाई कुटपिट गरेको बताएकी रोशनीले मंगलबार साँझ कान्तिपुरलाई भनिन्, ‘अब यो च्याप्टरै क्लोज भयो ।’

मलाई बन्द भएको अध्यायभित्र केही न केही कहानी छ भन्ने लागिरहेको थियो । उनी कुनै गहिरो संकटमा रहेको संकेत मिलिरहेको थियो । बुधबार बिहान फेरि फोन गरें । रोशनीले ‘पत्रकार सम्मेलन हुँदै छ, त्यहीँ भेटौंला तर म तपाईंलाई भेट्न सक्दिनँ’ भन्ने जवाफ दिइन् । मैले सोधें, ‘कतिखेर कहाँ पत्रकार सम्मेलन हुन्छ ?’ उनले समय र ठाउँ बताउन सकिनन् । भनिन्, ‘उहाँहरूले सबै ठिक्क पारिसकेपछि मलाई लिन आउनुहुन्छ ।’

ती ‘उहाँहरू’ बारे मैले जिज्ञासा राखें । रोशनीले मान्छेको नाम भन्न चाहिनन् । उनले भनेको पत्रकार सम्मेलन पनि भएन । उनलाई भेट्ने मेरो हुटहुटी भने रोकिएन । बुधबार साँझ म उनलाई अघिल्लो दिन मिडियामा ल्याउने सम्पर्क सूत्रहरूमार्फत रोशनीको कोठामा पुगें । साँझ खुलाइन्, पत्रकार सम्मेलन आयोजना गर्ने तयारी र स्थगित गर्ने निर्णय तिनैको थियो, जसले रोशनीको पछिल्लो अन्तर्वार्ताका लागि मिडियाहरूसँग समय मिलाउने काम गरेका थिए ।

रोशनीले बारम्बार ‘महरा सर निर्दोष हो’ भनिरहेपछि ‘त्यसो भए तपाईंले उहाँलाई फसाउनुभएको हो त’ भनेर मैले सोधें । उनले उल्टै प्रश्न गरिन्, ‘उहाँ कहाँ फस्नुभएको छ र ?’ तपाईंको फेसबुकमै त्यो अपडेट छ भनेर जब मैले रोशनीलाई फेसबुक देखाएँ, म आफैं छक्क परें । उनको फेसबुक मेरो कुराकानीको दौरान पनि अद्यावधिक गरिँदैथ्यो । उनले त्यो घटना भएको दिनदेखि आफूले फेसबुक नै नचलाएको दाबी गरिन् । फेसबुकको पासवर्ड उनका श्रीमान्लाई पनि थाहा रहेछ । यसबारे मैले उनका श्रीमान् चित्रजंगलाई पनि सोधें । उनको जवाफ थियो, ‘खोइ अपडेट त भइरहेको छ तर कसले चलायो, मलाई थाहा छैन ।’ रोशनीमाथि नै ‘ब्याकफायर’ हुने गरी फेसबुकका स्टाटसहरू उनै चित्रजंग या उनीनिकट अरू कसैले अपडेट गरेका त थिएनन् ? रहस्यको पर्दा खुलिसकेको छैन ।

घटना भएपछि रोशनीले प्रहरीमा उजुरी गर्नका लागि तनहुँ पुगेका श्रीमान् फर्किने दिनसम्म कुरेकी थिइन् । तर बिचौलियाहरू यसरी सलबलाए कि श्रीमान् फर्किनुअगावै रोशनीले आफ्नो कुरा फेर्नुपर्ने परिस्थिति उत्पन्न भयो । ‘मलाई मंगलबार बिहान सेभ नभएको नम्बरबाट फोन आएको थियो, यो घटनाबारे अरू बोलिस् भने तेरो र तेरो श्रीमान्को ज्यान बच्दैन भनेको थियो,’ रोशनीले भनेको यो कुराको रेकर्ड हामीसँग सुरक्षित छ । त्यसपछि दिनभर उनको मोबाइल अफ भयो । जब रोशनी सार्वजनिक भइन्, कुरा फेरिन् । त्यसपछिको दैनिकी उनको वशमा छैन । जोसँग जसरी बोल भनेर सिकाइएको छ, उनले त्यसै गर्ने गरेजस्तो प्रतीत हुन्छ । त्यसको छनक बुधबार साँझको कुराकानीमा पनि देखाइन् ।

मैले उनलाई महरासँगको सम्बन्धबारे जिज्ञासा राखें । रोशनीले आफूहरू दुई जनाबीच हार्दिक र आत्मीय सम्बन्ध रहेको बयान गरिन् । कहिलेकाहीँ आफू महरासँग रिसाउने र उनले फकाउने गरेको सुनाइन् । ‘म डिप्रेसनको औषधि खाइरहन्छु, मेरो स्वभाव बदलिइरहन्छ भन्ने उहाँलाई थाहा थियो,’ रोशनीले भनिन्, ‘म हाम्रो सम्बन्ध, अफिसका काम र उहाँले गरेको बेवास्ताबारे उहाँसँग कराउँथें, गाली पनि गर्थें ।’

यसअघि पुसमा रोशनीले आत्महत्याको प्रयास गर्दा महराले सबैभन्दा पहिले थाहा पाएका थिए । उनले आफ्नो स्वकीय सचिवालयका एक सदस्यलाई रोशनीबारे बुझ्न पनि पठाएका थिए । रोशनीको अस्वाभाविक स्वास्थ्य अवस्थाबारे जानकार महरा उनी एक्लै घरमा भएका बेला किन गए ? १ घण्टा १९ मिनेटसम्म रोशनी कुन अवस्थाबाट गुज्रिइन् ? घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले महरालाई बोलाएर यही प्रश्न सोध्न सक्ला ? या रोशनीले ‘म डिप्रेसनको रोगी हुँ’ भनेर दिएको निवेदनकै आधारमा चुपचाप बस्ला ? उदेकलाग्दो के छ भने ‘म डिप्रेसनको रोगी हुँ, महरा सर निर्दोष हुनुहुन्छ’ भनेर निवेदन दिन उनलाई श्रीमान् चित्रजंगले महानगरीय प्रहरी वृत्त बानेश्वर लिएर गएका थिए ।

कुराकानीका लागि म उनको कोठामा पुग्दा नै रोशनीले ‘क्लोनाज’ नामक औषधिको आठवटा गोली खाइसकेकी थिइन् । त्यसैले उनको बोली लरबरिएको थियो । ‘साह्रै टेन्सन हुन्छ, निदाउन सक्दिनँ, धेरै औषधि खानुपर्छ,’ उनले भनिन् । उक्त औषधि कति मात्रामा खानुपर्ने हो भनेर उनलाई डाक्टरले लेखिदिएका छैनन् । जति मन लाग्छ र जतिबेला मन लाग्छ, त्यो औषधि खाइहाल्छिन् । रातमा औषधिको साथमा अलिकति रक्सी खानु नियमित जस्तै भइसक्यो । चिकित्सकहरूका अनुसार एक ट्याब्लेट ‘क्लोनाज’ सँग एक पेग रक्सी खाँदा त्यसको असर तीन गुणा बढी हुन्छ । त्यसपछि बिरामी सुस्ताउँछन् या उत्तेजक बन्छन् । असर व्यक्तिपिच्छे फरक हुन सक्छ ।

महरा गएको दिन पनि रोशनीले यो ट्याब्लेट खाइसकेकी थिइन् । उनीहरूले सँगै रक्सी खाए, घटना भयो, महरा निस्किए । झोंकमा भएकी रोशनीले प्रहरी, नेकपाका नेत्रीहरू ओनसरी घर्ती र पम्फा भुसाल तथा नेपाली कांग्रेसकी नेत्री उमा रेग्मीलाई खबर गरिन् । नेकपाका नेत्रीहरू प्रतिक्रियाविहीन रहे, उनीहरू अहिले पनि यो विषयमा बोल्न चाहँदैनन् । रेग्मीले सुरक्षा संयन्त्रमा यही जानकारी गराउनुको साटो आफूनिकट नेता र पत्रकारहरूलाई सुनाइन् । सबैको जोड घटना लुकाउने या सनसनी मच्चाउनेमै केन्द्रित रह्यो, रोशनीको मनोदशातर्फ कसैले ध्यान दिएन ।

घटनाले हलचल ल्याएको यतिका दिन हुँदा पनि अमेरिकामा रहेका छोराछोरीले रोशनीलाई फोन गरेका छैनन् । श्रीमान् तनहुँबाट फर्किएपछि प्रहरीमा उजुरी गर्न जाऊँला भनेर कुरेकी उनलाई श्रीमान्ले नै पत्याइदिएनन् । बरु काठमाडौं आएपछि सरासर महरालाई भेट्न गए, सरसल्लाह गरे, कुरा मिलाए । घर फर्किएर श्रीमतीलाई ‘कुरा किन बाहिर ल्याइस् ?’ भनेर उल्टो झपारे ।

रोशनीसँग जबजब रोग नजिक हुन थाल्यो, आफ्नै मान्छेहरूको दूरी बढ्दै गयो । साथमा बसेर कुरा गरिदिने कोही भएन । परिवारमा एक्लिँदै गएपछि मनले जे भन्छ, त्यही गर्न थालिन् । ‘मलाई एक्लोपनले सताउँछ, बाँच्नै मन लाग्दैन, छोराछोरीको फोटो हेरेर रुन्छु,’ उनी भित्तामा टाँसिएको छोराछोरीको तस्बिर हेरेर सुस्केरा हाल्छिन् । छोराछोरी हुन्, मुटुमै पनि त धड्किन्छन् होला, आँखाबाट पनि बग्दा हुन् तर अहिले उनीसँग छैनन्, फोन गरेर के कसो छ भनेर पनि सोधेका छैनन् । रोगले बेस्सरी गिजोल्दा श्रीमान् कहिल्यै साथमा भएनन् । दुईपटकसम्म आत्महत्याको प्रयास गर्दा भवितव्यले बाँचेकी हुन् उनी । ‘यो यस्तै हो, धेरैपटक मेरै विरुद्ध पनि गएकी छ, एकपटक मैले कुटें भनेर उजुरी हालेकी थिई, प्रहरीले छलफलका लागि बोलाउँदा गइन,’ चित्रजंगले मेरै अगाडि रोशनीलाई गाली गरे । उनी हेरेको हेर्‍यै भइन् ।

बुधबार साँझ रातको ९ बज्दै थियो, चित्रजंगले रोशनीलाई खाना पकाउन उर्दी गरे । उनी सोफाको छेउमा हात टेकेर उभिने प्रयास गर्दै थिइन्, खुट्टा लडखडाए । म रोशनीलाई त्यही हालतमा छाडेर बाहिर निस्किँदै गर्दा चित्रजंगलाई खोज्दै एक अपरिचित पुरुष ढोकैमा पुगेका थिए । ती मान्छेको आवाज सुनेर रोशनी तर्सिइन्, उनको तर्साइले म झस्किएँ । गल्ली सकिनेबित्तिकैको सडकमा उनकै पहराका लागि बसेका दुई प्रहरी देख्नेबित्तिकै मलाई लाग्यो, ‘के सडकमा बसेका यी पुलिसले रोशनीको सुरक्षा गर्लान् ? खतरा त कोठाभित्र छ ।’

बिहीबार बिहान साढे ९ बजेतिर रोशनीका श्रीमान् चित्रजंगले फेसबुकमा सम्बन्धविच्छेदका लागि सहमति गरेको सूचना टाँसे । त्यो सूचनाअनुसार उनीहरूले अब सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रिया सुरु गर्नेछन् । बिहान मैले फेरि रोशनीलाई फोन गरें । ‘तिमी यति धेरै विवादमा आयौ अब सँगै बस्न सकिन्न सहमतिपत्रमा साइन गर भन्नुभो, मैले हुन्छ नि त भनेर साइन गरें, उहाँ झोला बोकेर निस्किनुभो,’ उनले भनिन्, ‘म पनि घरबाट निस्कँदै छु ।’ त्यसपछि रोशनीको मोबाइल ‘अफ’ छ । बुधबार राति दुई घण्टा सँगै बस्दा पनि मैले उनको आँखा रसाएको देखिनँ, बिहीबार बिहान करिब २ मिनेट कुरा गर्दा उनी मसँग रोइन् । प्रस्टै बुझिन्थ्यो कि उनका आँखा ओभाएका छैनन् । सायद रोशनीको अन्तिम भरोसा भाँचियो, भ्रम टुट्यो । (कान्तिपुरबाट)