निर्दोष छन् भने महरा आफैँले उजुरी दिऊन्

२०७६ असोज १६ बिहीबार १४:४३:०० मा प्रकाशित

देशको सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभाको सभामुख पदमा आसीन सत्तारुढ नेकपाका नेता कृष्णबहादुर महरा कानुनले गम्भीर फौजदारी अपराध मानेको बलात्कारको आरोपमा मुछिएका छन् । आफूलाई पीडित भन्ने महिला थिइन् उनकै कार्यालय संसद सचिवालयकी कर्मचारी । महरा र ती महिला कर्मचारीको चिनजान निकटता कति नजिकको थियो भन्ने कुरा तीन दशक अघिदेखिको शृंखलाले प्रष्ट भइसकेको छ ।

महरा सोमबार साँझ तीन महिलाका पति घरमा नभएको समयमा उनको डेरा कोठामा गए कि गएनन् भन्नेमा पनि उति माथापच्ची गरिहरनु परेन । उनको दल नेकपाको सचिवालय बैठकले सांसद पदबाट समेत नरहने गरी राजीनामा गर्न दिएको निर्देशन र उनी पार्टीमा साधारण सदस्य समेत नरहेको भन्ने नेताहरुको भनाइले अब माथापच्ची गर्नै पर्दैन भन्ने सन्देश दिएको हो । 

बिहीबार बिहान रेडियो कान्तिपुरको ‘द हेडलाइनर्स’ कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले पनि जिब्रो नचपाई घटनाबारे बोलिसकेका छन् । उनले घटनाले जुन मोड लिए पनि छानविन हुने बताएका छन् ।  

महाराले आफ्नो राजीनामापत्रमा आफ्नो ‘चरित्रमा गम्भीर प्रश्न’ उठेको भनेका छन् तर सञ्चार माध्यमले आरोप लगाएको भनेर पीडित भएँ भन्ने महिलाको बयानलाई ओझेलमा पार्ने प्रयास गरेका छन् । पार्टीले दबाब दिएर होस् वा आफ्नै विवेकले, महराले ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा’ दिए । उनले ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भनेर आफू निर्दोष रहेको संकेत दिने प्रयत्न पनि गरे । 

महराले राजीनामामा लेखेझैँ साँच्चै सत्यतथ्य पत्ता लगाउन ‘निष्पक्ष र स्वतन्त्र छानबिन’ भयो र उनी सबै निकायबाट निर्दोष सावित भए भने उनलाई लागेको कलंक मेटिन सक्नेछ । उनले भनेझैँ निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सघाउनु उनको प्राथमिक कर्तव्य हुन्थ्यो । उनको निजी सचिवालयले आरोपको खण्डन गर्न सोमबार अबेर जारी गरेको विज्ञप्तिमा जिकिर गरेझैँ आफूलाई निर्दोष साबित गर्ने अवसर महरालाई छ । यसो गर्न उनले सांसद पद पनि त्याग्नुपर्छ । यो कलङ्क नमेटेसम्म उनी सांसद रहनुको कुनै अर्थ हुने छैन ।  

कुनै उपायद्वारा घटना सामसुम पारियो वा ढाकछोप गरियो भने पनि  महरा आजीवन कलङ्कित हुनेछन् । कहिल्यै सफाइ पाउने छैनन् । त्यसैले निष्पक्ष र स्वतन्त्र छानबिन गराउन महराको कर्तव्य हुनेछ जसले उनलाई निर्दोष सावित गरोस् । म चाहन्छु महराको सचिवालयले जारी गरेको विज्ञप्ति साँचो ठहरियोस् । महिलाको फेरिएको बयानले महरालाई शङ्काको लाभ प्राप्त भएको छ । 

यहाँ भन्नै पर्छ, महरामाथिको आरोप व्यक्तिगत विषय हो । यसलाई  गणतन्त्रमाथि खतरा र प्रतिगमनको षड्यन्त्र देख्नु आत्मरति बाहेक केही होइन । यही कारणले व्यवस्था बद्नाम गर्ने वा उल्टाउने नै सपना कसैले देखेको छ भने त्यो अर्को हास्यरस हुनेछ । उच्च पदस्थहरुले आफूलाई व्यवस्थाको पर्याय नसोचून् वा यसभित्रबाट आफूलाई निर्दोष सावित गर्ने दुष्प्रयास पनि नगरून् । नखाएको विष लाग्दैन भनेर हाम्रा पुर्खाले त्यसै भनेका छैनन् । 

नेकपाको कुरा गरौँ । नेकपाले कुनै पनि किसिमले बचाउको प्रयत्न नगरी महरालाई राजीनामा गरायो । यो निर्णय सकारात्मक छ । 

यहाँ पीडित भएँ भन्ने महिलाको तर्फबाट एकपटक सोचौँ । उनले घटना भएर नै सार्वजनिक गरिन् भन्ने मानौँ । झुठो सावित नहुन्जेल साँचो र झुठो दुवै आधा–आधा हुन्छ । यही मान्यतामा छानविन र अनुसन्धान हुन्छ । यतिन्जेल ती महिलालाई पूर्ण सुरक्षा दिने अनि उनलाई निर्धक्क र निडर भएर बयान दिने वातावरण बनाउने दायित्व सरकारको हो । महरा आफैँले मागेको ‘निष्पक्ष र स्वतन्त्र छानबिन’ नहुँदै घटनाले अर्को मोड लिएको छ । महिलाले नागरिक खबर डटकसँग कुरा गर्दै आफ्नै आरोप खण्डन गरेको भन्ने विवरण आएको   छ । 

मानौँ ती महिलाले झुठो आरोप लगाएकी थिइन् । यसो हो भने सभामुखकै कार्यालयकी कर्मचारी ती महिलाले किन त्यति गम्भीर आरोप लगाइन् ? के उनले सोमबार सञ्चार माध्यमलाई दिएका बयानको विवरण फगत सनकीको परिणाम थियो । उनले तीन वर्षअघि नै आफूले उजुरी गरेको भनेर एक नेतृको नाम लिएकी छन् । यसरी जोडिन आएकी ती नेतृ केही थाहा नपाएजस्तो गरेर बस्न मिल्छ ? उनको कुनै उत्तरदायित्व हुँदैन ? उजुरी दिएको थियो भने के त्यसमाथि के कारबाही भएको थियो ? 

हाम्रा कुरा डटकममा ती महिलासँग गरिएको भनिएको कुराकानीका क्रममा उनको सेल फोनमा आएको फोन कसको थियो ? राज्यको त्यति उच्च पदस्थ पदाधिकारीमाथि लागेको यति गम्भीर आरोपमा राज्यसंयन्त्र र सरकारले उजुरीको नआएको वा महिलाको बयान फेरिएको भनेर छानविन नगर्नु फगत बहानावाजी हुनेछ । दण्डहीनतालाई प्रोत्साहन गरेको हुनेछ ।  

एक पटक सोचौँ त, एउटा सामान्य नागरिककमाथि यति गम्भीर आरोप लागेर प्रहरी कोठैमा पुगेर त्यहाँको अस्तव्यस्तता देखेको भए के हुने थियो ? कतै हाम्रा पुर्खाले ‘सानालाई ऐन ठूलालाई चैन’ ठिकै भनेका रहेछन् कि !

म चाहन्छु, महरामाथिको आरोप झुटो होस् । महरा ती महिलाकोमा गएर मदिरा पिएर दुव्र्यवहार गरेका नहुन् तर म र मजस्ताका चाहनाले मात्रै त हुने होइन । महरा गएका थिए भनेर शंकाको नजर गर्ने हो  हो भने एक्लै गएका थिए कि उनका सुरक्षाकर्मी पनि थिए ? यो प्रश्नको जवाफ आए अरू धेरै के चाहिन्छ र !

उक्त घटना भएको भन्ने सूचना पाएपछि प्रहरी ती महिलाको कोठामा पुगेको र केही प्रमाणहरू संकलन गरेको भन्ने समाचार सार्वजनिक भइसकेको छ । प्रहरीले स्वीकार पनि गरेको छ । महिलाले आफैँले आरोप खण्डन गरिन्, प्रहरीमा उजुरी दिएकी छैनन् । यस्तो घटनामा उजुरी दिने म्याद एक वर्ष हुन्छ ।  आरोप लगाउनेले ‘उजुरी नदिएको र घटना भएको होइन’ भनेको आधारमा प्रहरी सरक्क पन्छिन सक्दैन । उच्च पदस्थ व्यक्तिहरुको यस्तो गम्भीर आरोपको विषय छानविन पनि ठोस निष्कर्षमा पु¥याउने हाँक प्रहरीलाई छ । नत्र प्रहरीमाथिको विश्वासमा पनि प्रश्न उठ्नेछ । 

पीडित हुँ भन्ने महिलाले उजुरी दिइनन् वा आरोप फिर्ता लिइन् भन्ने कारणले महरा आरोपबाट मुक्त हुने छैनन् । पीडितलाई प्रलोभनमा पारेर वा धम्क्याएर छानविन नगराएको अर्को आरोप थपिने छ । यस्तो आरोपमा सत्तारुढ दल नेकपा र सरकार पनि मुछिनेछन् । र, यो आरोप गलत हो भन्ने नैतिक साहस नेकपा र सरकार दुवैमा हुनेछैन । 

एकपटक महराको तर्फबाट पनि सोचौँ । मानौँ उनी निर्दोष छन्, उनी ती महिलाकोमा गएका थिएनन् वा गएकै भए पनि त्यो घटना भएको थिएन । यसो हो भने महराले सफाइ पाउन पनि गहन छानविन आवश्यक हुने भयो । सफाइ पाउन महरा आफैँले उजुरी गर्न किन सक्दैनन् ? आफूमाथि यति गम्भीर अपराधको आरोप लगाउने महिलालाई सजाय दिलाउन महराले उजुरी गर्नुपर्छ । महिलाले मिथ्या आरोप नै लगाएकी हुन् भने यसको कारण पनि खोजी गर्नु अनिवार्य छ किनभने आरोप देशको सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभाका सभामुखमाथि लागेको हो । यस्तै झुठो आरोप अर्को कुनै उच्च पदस्थमाथि पनि लाग्नसक्छ । 

अर्को बाटो पनि छ । उजुरी नपरेको वा महिलाले बयान फेरेको बहनामा सरकार छानविन गर्दैन भने आफ्ना सभामुखमाथि लागेको यति गम्भीर आरोपबारे प्रतिनिधिसभाले छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्छ । संसदीय छाविन समिति गठन गरेर टुङ्गोमा पुग्नुपर्छ । निर्दोष सावित नभए सजाय दिलाउनु पर्छ । 

महरा दोषी छन् भने त पीडित महिलालाई न्याय र महरालाई सजाय दिलाउन निष्पक्ष छानविन अनिवार्य हुने भइगयो नत्र महरालाई सजायबाट जोगाएको र दण्डहीनता प्रोत्साहित गरेको आरोप सरकार र सत्तारुढ नेकपालाई लाग्नेछ । यसबाट महराको जति क्षति हुनु हो त्यति भइसक्यो । बाँकी क्षति नेकपाले बेहोर्नुपर्नेछ  । 

आफू डिप्रेसनको रोगी रहेको र औषधि खाइरहेको भन्ने महिलाको बयानले पनि महरालाई सफाइ दिँदैन । उनको रोगको पनि परीक्षण हुन नसक्ने होइन । उनले देखाएका घाउचोटको पनि परीक्षण हुन नसक्ने होइन । महिला रोगी होलिन् तर उनको रोग देखाएर पन्छिनु पनि दण्डहीनताको प्रमाण हो । 

कतिपयले घटना भएकै भए पनि महिलाको नियत ठिक नभएको भनेर उनलाई आरोपित गरेका छन् । यो पनि एउटा विचारणीय पक्ष हो । 

मानौँ, ती महिला यो देशभरिमा सबैभन्दा खराब हुन् रे । त्यसो हो भने तीन दशक अघिदेखि निकट चिनजान र सम्पर्कमा रहेकी व्यक्तिका बारे महरा अनभिज्ञ रहने कुरै भएन । अनि महरा ती महिलाको कोठामा साँझ रक्सीको बोतल लिएर किन गए त ? यो बेवास्ता गर्न मिल्ने पक्ष होइन । 

फेरि पनि म चाहन्छु, महरा निर्दोष देखियून । यसका लागि निष्पक्ष छानविनको विकल्प छैन । 

याद रहोस्, कुनै बहाना देखाएर छानविन हुँदैन भने हाम्रा राजनीतिक दल र सरकारले महिलामाथि हुने हिंसाका विरुद्ध बोल्न छाडे हुन्छ । महिला अधिकार, समानता, समता र न्यायको भाषण गर्न छाडे हुन्छ ।