सामाजिक सञ्जालले यसरी जमाइरहेका छन् मिडियामाथि कब्जा

२०७६ असोज १० शुक्रबार १८:२६:०० मा प्रकाशित

काठमाडौं, १० असोज । सामाजिक सञ्जाल अहिले विश्वभर लोकप्रिय बन्दै गएको छ । सामाजिक सञ्जालले सकारात्मक र नकारात्मक दुवै असर पुर्याएका छन् । सामाजिक सञ्जाल दुरुपयोग नेपालको सन्दर्भमा केहि बढ्को अनुमान सहजै लगाउन सकिन्छ ।
 
तर, सामाजिक सञ्जालको कुनै दुरुपयोग नभएको अग्रज वरिष्ठ पत्रकार किशोर नेपाल बताउँछन् । ‘नेपाली समाजमा पहिलेको जस्तो सूचनाको भोक अहिले छैन, पहिले र अहिलेको पत्रकारितामा समेत सामाजिक सञ्जालको हातमा भएकाले सामाजिक सञ्जालको दुरुपयोग भएको छैन’ उनले भने । 

परेवाले सूचना लिएर हिँड्ने समयलाई सम्झँदै पत्रकार नेपालले अहिले विश्वका जुनसुकै कुनामा पनि एकसाथ सूचना प्रवाह हुने गरेको बताए । केहि कुरा पाउन केहि गुमाउनपर्छ भनेजस्तै प्रविधिको प्रयोग गर्दा कुनै कुरामा नराम्रो सन्देश जानु सामान्य भएको नेपालको भनाई छ । 

२०१० सालपछि मात्रै विकास भएको सामाजिक सञ्जालले आआफ्नो ठाउँबाट काम गरिरेको उनको भनाई छ । ‘सामाजिक सञ्जालले गर्दा नै विश्व साँघुरीएको छ, जसले गर्दा अहिलेको परिपे्रक्षमा मिडियालाई समेत उसैको कब्जा जमाएका छन’ वरिष्ठ पत्रकार नेपालले भने । 

सामाजिक सञ्जाल पछिल्लो समयमा पावरको रुपामा स्थापित हुँदै गएको अर्का पत्रकार उमेश श्रेष्ठ बताउँछन् । सामाजिक सञ्जाललाई दुरुपयोगको हिसाबमा मात्रै नभएर त्यसको प्रयोगलले भएको फाइदालाई माथि उठाउनुपर्ने उनको भनाई छ । 

नेपालको परिपे्रक्षमा सामाजिक सञ्जाल सूचनाको एक छिटो र दरिलो स्रोतको रुपमा विकसित भएको उनी बताउँछन् । ‘प्रधानमन्त्री र मन्त्रीलाई गाली गर्ने साधनको रुपमा मात्रै सामाजिक सञ्जाललाई नलिएर त्यसबाट भएको राम्रो पक्षलाई लिनु आवश्यक छ’ उनले भने, ‘दुरुपयोग बढ्दै गएकाले नै सत्ताधारी दलहरु समेत सामाजिक सञ्जालसँग खुट्टा कमाउने गरेका पाइन्छ ।’

सदुपयोगको दृष्टिमा दुरुपयोग अलिक वढी भएको हुनाले सामाजिक सञ्जाललाई नियमन गर्नु आजको आवश्यकता भएको उनको बुझाई छ । हालै देशमा चर्किएको पत्रकार सालिकराम पुडाशैनी प्रकरणमा पनि सामाजिक सञ्जाल धेरै तातिएको हुनाले छानविन प्रक्रियामा समेत असर पुगेको उनले बताए । सामाजिक सञ्जाल सूचना प्रवाहको दरिलो आधार भएकाले त्यसको सहि सदुपयोगमा ल्याउन नियमन गर्न आवश्यक रहेको पत्रकार श्रेष्ठले बताए । 

पहिलेको जस्तो पत्रिका र रेडियोको क्रेज सामाजिक सञ्जालको प्रयोगबाट नै घटेको अर्का पत्रकार प्रवेश सुवेदीको बुझाई छ । ‘पहिलेको मिडिया शासक, व्यापारीको मात्रै हुन्थे । तर, अहिले सामाजिक सञ्जालको प्रयोग आएपछि जनताको मिडिया बन्न पुगेका छन्’ उनले भने ।

सामाजिक सञ्जालले विश्वमा सूचनाको क्रान्ति ल्याएको उनको दावी छ । अविकसित मुलुकमाभन्दा विकसित मुलुकमा सामाजिक सञ्जालको दुरुपयोग धेरै भएको उनको अनुभव छ । ‘नेपालको सामाजिक सञ्जालले अपराध बढायो, कस्को छोरी कोसँग पोइल गई भन्ने कुरालाई लिइन्छ । तर, विकसित मुलुकमा सामाजिक सञ्जालले धेरै अर्थतन्त्र र सामाजिक दुराचारमा समेत गम्भिर खालको असर गरेका छन्’ सुवेदी भने ।

नेपाल इन्टरनेट गभर्नेन्स फोरमले आयोजना गरेको छलफलमा संचारकर्मीहरुको उत्सुकतापूर्ण सहभागिता थियो ।