‘प्रेम गर्न खेताला लाउन मिल्छ र ? पितृ श्राध्द पनि त्यस्तै हो’

२०७६ असोज १ बुधबार १२:४९:०० मा प्रकाशित

नेपालीहरुको महान चाड दशैं र यसैसँग जोडिएको सोह्र श्राद्ध या  पितृ श्राद्धको विषयमा कुरा गर्नुपर्दा यसका दुई भिन्न भिन्न पक्षमा दृष्टि पुर्याउनु जरुरी हुन्छ । पहिलो धार्मिक या सांस्कृतिक पक्ष । दोस्रो मनोवैज्ञानिक पक्ष । धार्मिक पक्ष, धर्म भनेको आफ्नो हित गर्ने अथवा आफ्नो जीवनलाई सुख,शान्ति र समृद्धितिर लैजान मद्धत गर्ने राम्रा शुभ गुणहरुलाई आफुमा धारण गर्नु हो । यी सद्गुणहरु धारण गर्न अथवा आफुमा लागु गर्न अभ्यास या साधना गर्नुपर्ने हुन्छ । त्यसरी गरिने अभ्यास व्यक्तिगत या सामुहिक जुनसुकै हुनसक्छ । निरन्तर गरिने यिनै धार्मिक अभ्यासहरूले बिस्तारै सांस्कृतिक रुप धारण गर्न पुग्दछन् । तसर्थ हामीले बुझ्नैपर्ने कुरा चाहिँ के हो भने हाम्रो धर्म संस्कृति भनेको सद्गुण अथवा हाम्रो जीवनका सर्वाधिक कल्याणकारी शुभ गुणहरुलाई आफुमा धारण गर्नका लागि  प्रयोग गरिने विधि र प्रयोग गर्ने अवसर हुन् ।

 मनोवैज्ञानिक पक्ष

दोस्रो मनोवैज्ञानिक पक्ष । हाम्रा पूर्वजहरुले यस्ता सम्पूर्ण धार्मिक सांस्कृतिक विधिहरुको प्रयोग गर्दा मानव मनोविज्ञानलाई प्रमुख आधार मानेको पाइन्छ । जस्तै, कुन मौसममा मानिसको मनोभाव कस्तो हुन्छ र कस्तो मनोभाव भएको अवस्थामा कस्ता प्रकार र प्रकृतिका चाडबाडहरु राख्ने अनि शारीरिक शक्ति भाव शक्ति र बुद्धि बढाउन कस्ता कस्ता क्रिया कर्म मनोरन्जन र खानपानको व्यवस्ता गर्ने भन्ने सुक्ष्म यथार्थवादी वैज्ञानिक विश्लेषण गरेर यी चाडपर्वहरु प्रचलनमा ल्याएको पाइन्छ । प्रत्येक चाडवाडहरुले निरन्तरको एकनासे कामबाट बिरक्तिएको मनलाई उमंग, उल्लास र खुशीमा रुपान्तरित गरिदिन्छ । अझ चाडवाड नजिक आउँदैछ भन्ने बिचारले मात्र पनि मनमा आनन्दको संचार हुन्छ । चाडवाड आएपछिको रमाइलो त झन् छँदै छ । यी चाडवाड हाम्रो मनको व्यवस्थापन सन्तुलन अथवा स्वास्थ्यको लागि सर्वाधिक महत्वपूर्ण औषधि हुन् । यिनै प्रचलित विविध चाडपर्व मध्येको चाड बडा दशैं हामी नेपालीहरुको सर्वाधिक महत्वपूर्ण राष्ट्रिय पर्व हो । यसै अन्तर्गत पर्ने पितृ पूजा अर्थात् सोह्र श्राद्ध पनि एउटा चाड हो, पर्व हो । यसको पनि धार्मिक तथा मनोवैज्ञानिक प्रमुख दुइ पक्ष छन् । आफ्ना माता पिता पूर्वज पितृहरुप्रति श्रद्धाभाव भक्तिभाव सम्मान भाव र सेवाभाव प्रकट गर्नु र तदनुरुपको व्यवहार गर्नु सद्गुणलाई धारणा गर्नु   हो ।

सद्गुणलाई धारण गर्नु नै धर्म 

सद्गुणलाई धारण गर्नु नै धर्म हो । किनभने हाम्रा पूर्वज पितृ मातापिता हाम्रो जीवनका आधार हुन्, श्रोत हुन् । आफ्नो जीवनको मूल आधार मूल श्रोतको श्रद्धा सम्मान सेवा गर्नु भन्दा ठूलो सुखको आधार अर्को छैन । त्यसकारण यहि नै हाम्रो मूल धर्म हो । यसको  मनोवैज्ञानिक पक्ष आत्मसन्तुष्टि हो, तृप्ति हो । मैले मेरा लागि मात्र हैन अरुका लागि पनि केहि गरेँ है भन्ने आत्मानुभूतिबाट सन्तुष्टिको जन्म हुन्छ । अझ आफ्ना जीवनका स्रोत मातापिता या पितृहरु प्रति गरिने श्रद्धा भक्ति बढाउने कार्यले त आत्मसन्तुष्टि नहुने कुरै भएन ! शास्त्रोक्त विधि अनुसार जगतले प्रमाणित गरेको कार्यगर्दा आफ्नो कार्यप्रति मनमा पूर्ण तृप्ति र भरोसाको जन्म हुन्छ ।  जुन भरोसा हाम्रो मनलाई आल्हादित बनाउन पर्याप्त हुन्छ । त्यसकारण पितृ कार्य या देव कार्य गरेर पितृ या देउतालाई गुण लगाउने हैन कि आफ्नो आचरण र आफ्नो मनको पूर्ण व्यवस्थापन गरेर आफंैलाई चैं गुण लगाउनु हो ।

   दशैं मै सोह्र श्राध्द किन ?

पहिलो कुरा त के हो भने दशैंमा हामी बिशेष रमाइलो गर्छौं । आफुले रमाइलो गर्नुभन्दा अघि, गुणहरुलाई धारण गर्नुभन्दा अघि स्रोतलाई सम्झिउँ, आफ्ना बुवा आमालाई सम्झिउँ, पितृहरुलाई सम्झिउँ । उहाँहरुलाई श्रद्धा गरेर मात्रै अगाडि बढौं नभए पूर्णता हुँदैन भनेर यो दशैंमा नै गर्ने परम्परा रह्यो । दशैंमा रमाइलो गरिन्छ त पितृलाई पनि त दशैंमा नै रमाइलो गर्नुपर्यो नि त । आफु चाहिँ दशैंमा रमाइलो गर्ने अनि पितृहरुलाई अर्कै महिनामा रमाइलो गर्ने त्यो त मिलेन ! त्यसकारणले यो सँगसँगै राखिएको हो । अर्को चाहिँ के हो भने यो मौसम बढो गज्जब छ । दशैं भनेर जुन यो असोज महिनालाई छुट्याइएको छ । यो असोज जस्तो सुन्दर महिना अरु छैन किनभने बर्खा सकिएको हुन्छ । वातावरणमा रहेका सबै प्रकारका बिकारहरुलाई पानीले धोएर सफा गरेको हुन्छ । आकाश खुलेको हुन्छ । एकप्रकारले वातावरणमा रहेको फोहोरमैला बर्खाले बगाएर त्यसलाई यस्तो सौन्र्दय प्रकृतिमा बनाएको हुन्छ कि हाम्रो मन मस्त हुन्छ । यो बेलामा दशैं मनाउँदा त्यो भाव, त्यो श्रद्धा आफ्नो ह्रदयलाई जगाउनका लागि अत्यन्तै सहज हुन्छ । वास्तवमा उत्सव मनाउनका लागि असोज भन्दा सुन्दर महिना अरु छैन । एउटा उमंग लिएर आउने समय भएको हँदा पनि यसलाई यहि समयमा मनाइयो ।

अरुले गरिदिने प्रेमको अर्थ

यहाँ धेरै बिकृतिहरु पनि छन् । जस्तै जुवातास खेल्ने, जाँड रक्सी खाने इत्यादि कुुरा दशैंमा छ भने यो चाहिँ सोह्र श्राद्धमा पनि त्यस्तै छ । मन्दिर गयो अनि पण्डितलाई केही दिएर ल है श्राद्ध गर्दिनु पर्यो भन्यो ! यो ज्याला लगाउने कुरा त होइन ! यो त श्रद्धाको काम हो । श्रद्धा व्यक्त गर्ने काममा पनि कहीँ अर्कालाई लगाएर हुन्छ । कसैलाई प्रेम गर्नुछ भने मेरो प्रेम तँ गरेर आइज न भनेर भन्न हुन्छ । प्रेम पनि अर्कोले गरिदिने कुरा हो र ? अरुले प्रेम गरेर म आनन्दित हुन्छु कि क्या हो ! प्रेम भक्ति र श्रद्धा आफँैले गर्यो भने मात्र आनन्द आउँछ । असली मजा भनेकै प्रेम, भक्ति र श्रद्धामा छ । हामी सुख–शान्ति कहाँ छ भनेर खोजेको खोज्यै छौं । बिषयहरुमा खोज्दा कहाँ पाउनु । असली सुख त प्रेम, भक्ति र श्रद्धामा छ । अब यो चाहिँ अरुलाई नै गर्दे भनेर कहाँ हुन्छ ।

यस्तो हुनुको कारण के हो भने हामी लोकाचार मात्रै पुरा गरिरहेका छौं । हामीमा आफ्नो भित्रबाट श्रद्धा छैन । हामी अरुलाई प्रभावित गर्नको लागि जुन काम गर्छौं, यसले बिकृति ल्याएको छ । यस्तोखाले श्रद्धा गर्नुको केही अर्थ छैन । हतार हतारमा कुनै मन्दिरमा गयो र एउटा पण्डितलाई दुई चार रुपैयाँ दियो अनि त्यसपछि ल है मैले गरें भनेर आफु सन्तुष्ट भयो । अब यसले पनि केही न केही नहुनु भन्दा त होला । कमसेकम उसको चित्तमा उसको मनमा मैले गरें है, यति चाहिं मैले गरे भन्ने भाव त पक्कै हुन्छ । यसले पनि केही ढुक्कपन त ल्याउँछ । अब गर्दै नगर्दा ओहो ला मैले यति पनि गरिन । मैले गल्ती गरें भनेर एउटा गल्ती बोध भइरहन्छ । त्यसले हामीलाई बिस्तारै भित्रभित्रै खाइरहन्छ । तर गरेपछि भने ढुक्क भइन्छ । यसले हामीलाई हिनताबोधतिर जान दिँदैन । आफ्नो मन एकप्रकारले सन्तुष्ट हुन्छ । त्यसकारणले केही नगर्नु भन्दा केही गर्नु उत्तम चाहिँ छ । असली श्रद्धा र प्रेम हुनुपर्यो । सोह्रश्राध्द भनेको पनि पितृहरुप्रति चोखो र पवित्र श्रध्दा नै हो । यो अरु मार्फत गरेर श्रध्दा व्यक्त गर्ने विषय परेन !

( जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालसँग सरल पत्रिकाले गरेको कुराकानी सान्दर्भिक हुनाले पुनप्रकाशन गरिएको छ- सं.)