किन देश बिगार्छन् इन्जिनियर ?

२०७६ भदौ ३० सोमबार ११:०९:०० मा प्रकाशित

केही समय अघि झापा, अर्जुनधारा नगरपालिकाको सिस्ने र इलामको रोङ गाउँपालिकाको बरफल्याङ जोड्ने पुलको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरे । त्यो पुल उद्घाटनको क्रममा जनप्रतिनिधि तथा उपभोक्ता समितिमा बस्नेहरुले पुलको अलौकिताको बारेमा व्याख्या गरे । त्यो पुल अलौकिक हुनुको रहस्य पनि उनीहरुले खोले । भने– पुलको शुरु लागत स्टमेट अढाइ करोडको बनेको थियो,त्यसपछि डेढ करोडको बन्यो । पैसा अभाव भएका कारण अर्जुनधारा नगरपालिकाका इन्जिनियरले गरेको सस्तो डिजाइनमा सरकारी पैसा साठी लाख र स्थानीय सहभागिता सवा–सात लाख गरी त्यो पुल निर्माण भएको हो । 

    पुल गतिलै छ । अन्यत्र पनि पुलहरु हेरर त्यहाँको पुल हेर्दा सस्तो लागतमा उपभोक्ता समितिले राम्रो पुल बनाएको देखिन्छ । त्यही कुरा मैले आफ्नो फेसबुक वालमा पोष्ट गरें । मैले भनें– सस्तोमा बन्न सम्भव छ भने यसैलाई आधार मानेर भविष्यमा पुल निर्माण गर्ने हो भने भ्रष्टाचार कम हुन्छ । दुई जना इन्जिनियरहरुले मसँग दुखेसो पोखे । त्यो दुःखेसो पोख्नु जायज थियो । किनकि त्यो डिजाइन र रेखदेख उनीहरुले नै गरेका थिए । काम पनि गर्नु, गाली पनि खानुले उनीहरुको चित्त दुःख्नु स्वाभाविक नै थियो । 

    केही महिना अघिसम्म झापा जिल्ला प्राविधिक कार्यालय प्रमुख थिए इन्जिनियर सुशिल श्रेष्ठ । एक दिन अर्जुनधारा नगरपालिकाको मेयरको कक्षमा उनीसँग भेट भयो । सडकको डिजाइन निर्माणका बारेमा कुरा भइरहेको थियो । सडकको चौडाइ र लम्बाइको विषयमा मात्र त्यहाँ कुरा भएको सुनेपछि मलाई अलिक चित्त बुझेन । मैले इन्जिनियर सुशिलजीलाई भनें– ‘सुशिलजी ! तपाईँलाई थाह छ, आजसम्म जति पनि सडक दुर्घटना भएको छ, त्यसको जिम्मेवार को हो ?’

    उनी छक्क परे र आश्चर्य व्यक्त गरे । उनको आश्चर्यलाई चिर्दै मैले भनें– ‘सडकमा जति पनि मान्छे मरेका छन्, यी सबैको दोषी तपाईं हो ।’ उनी अझ आश्चर्यमा परे । भने, ‘म कसरी दोषी ?’

    मैले भनें– ‘तपाईं भनेको सुशिल श्रेष्ठ होइन, तपाईं इन्जिनियर भनेको हो । तपाईं इन्जिनियरहरुकै कारण हामी समस्यामा परिरहेका छौं । तपाईंले बनाएको गलत डिजाइनका कारण मान्छे मरिरहेका छन् । त्यसको दोष राजनीतिकर्मीले पाउँछ सधैं, तर देश बिगार्ने तपाईंहरु नै हो ।’

    थुप्रै कुराहरु भए, मैले सडकको विषयमा उनलाई भनें– तपाईंले अहिले डिजाइन गर्न लागेको हाम्रो सडक त गाडीका लागि भयो । फुटपाथ हिँड्नेका लागि खोई सडक ? साइकलवालाको लागि खोई सडक ? अपाङ्ग र जेष्ठ नागरिकको लागि खोई सडक ? तपाईंले गरेको डिजाइनभित्र यी कुरा समाविष्ट हुँदा इन्जिनियरहरुको के जान्छ ?’

    मेरो कुराले उनी गम्भीर भए । अझ मैले थपें– ‘तपाईंले गरेको डिजाइनको आधारमा राजनीतिकर्मीहरु बजेट छुट्याउँछन्, छुट्याइरहेका छन् । उनीहरुले प्राथमिकताका आधारमा बजेटलाई वरपर पार्लान्, तर जहाँ जे बन्छ, त्यो त तपाईंहरुले बनाएको मार्गचित्रकै आधारमा नै बन्ने हो । त्यसैले आफूलाई के मन लाग्छ, त्यो नबनाउनु होस् । विश्व अध्ययन गर्नुहोस् । सबैका लागि हुने गरी सडक बनाउनु होस् । गाडी फुटपाथ नचडोस्, मान्छे सडकबाट हिँड्नु नपरोस् ।’

    उनी मेरो कुराले प्रभावित भएको जस्तो लाग्यो, भने– ‘ठीकै भन्नु कुमारजी ! सडकसँगै फुटपाथ डिजाइन गर्दा धेरै पैसा खर्च हुने पनि हुँदैन । अब मैले बनाउने डिजाइनभित्र यी कुरा समाहित गर्नेछु ।’ उनले मलाई दिएको बचन पालना गर्दैछन् कि छैनन् थाह छैन अहिले । तर उनका कुराले मलाई राहत भयो कि कम्तीमा अब बन्ने कहीं न कहींको सडकमा पैदलयात्रीहरु गाडीका मुनि पर्ने छैनन्, जथाभावि सडक काट्ने सवारीहरु निश्चित ठाउँ बाहेक सवारीलाई जथाभावि कुदाउने छैनन् ।

    यी दुई घटना प्रतिनिधि पात्र हुन् इन्जिनियरका सम्बन्धमा मैले भोगेको समस्या । 

    मेरो घर छेउमा एकजना चेलीले घर निर्माण गर्ने भइन् । उनले एउटा कन्सल्टेन्सीलाई समाइन् । जग्गाको धनीपुर्जा दिइनन् र घर नक्सा बनाइनन् । तीस–चालीस हजार खर्च पनि गरिन् । श्रीमान् बाहिर बसेर दुःख गरिरहेका कारण उनले नै सबै गनुपर्र्यो  । इन्जिनियरले आएर मिस्त्रीलाई घर बनाउने ठाउँ देखाइदिए । मिस्त्रीले घर बनाइ दियो । जब नक्सा पासको सर्टिफिकेट लिने बेला भयो, इन्जिनियर सम्पर्कबाटै हराए । आफैं नगरपालिका पुगिन् उनी । नगरपालिकाका इन्जिनियरले मापदण्ड मिचेर बनेकाले नक्सा पास नहुने बताइ दिए । बैंकबाट ऋण लिएर साहु फर्साउँछु भनेर घर बनाएकी उनी झण्डै डिप्रेसनमा गइन् । महिनौंसम्म डाक्टरको परामर्शमा बसेर औषधि खानु प¥यो ।

    ती चेलीको घर बिगार्ने र उनलाई मानसिक तनाव दिने को हो ? उनले जसमाथि विश्वास गरिन् र आफ्नो जीवनको सारा पूँजी उसको विश्वासमा बालुवा र सिमेन्टमा खन्याइन्, त्यो बिगार्ने को हो ? यसको दोष कसले खप्नु पर्ने ? यिनले जस्तै अरुहरुले यो समस्या भोगेको छैनन् ? 

    अरु थुप्रै घटनाहरु आउँछन् भन्दै जाँदा । अब सोचौं– ‘विकासको आधार, भौतिक पूर्वाधार’ यो नाराको लागि सबैभन्दा पहिलो जिम्मेवार को हो ?

    बाटो त हिजो पनि थियो, घर हिजो पनि थिए । आज हामीलाई इन्जिनियर किन चाहिन्छ ? आम मान्छेले बनाउने साधारण घरमा सुत्ने कोठा, पकाउने भान्सा, स्नानगृह र शौचालय भए पुग्छ । त्यतिकै लागि इन्जिनियरको आवश्यकता परेको हो त ? वा सरकारले इन्जिनियर पाल्नकै लागि आमनागरिकमा आर्थिक भार थपेको हो ? 

    बाटोमा आवश्यक मोटाइपन र त्यसका लागि आवश्यक अलकत्रको प्रयोग गर्न त ठेकेदार र उसले अह्राउने मजदुरले पनि जान्दछ भने त्यो सडकका लागि प्रयोग गरिएको इन्जिनियरको काम के ?    सामान्य घर बनाउँदा पनि घरको क्षेत्रफल अनुसार पार्किङ, स्टोर, बेडरुम, किचन, वाथरुम लगायत सम्पूर्ण कुराहरुको व्यवस्थापन सहितको योजना आउँछ भनेर पो इन्जिनियरको प्रयोग गरिएको हो । के ती कुराहरु समेटेर इन्जिनियरले नक्सा बनाएका छन् ? घर नक्सा बनाउँदा मजबुतीको कुरा एउटा होला, ती बाहेक यी कुरा चाहिं प्रत्येक घर–नक्सा बनाउँदा छुट्नु हुँदैन भनेर कुनै इन्जिनियरले घरधनीलाई बुझाएको छ ? वा, स्थानीय सरकारका मातहत काम गर्ने इन्जिनियरले अब आफ्नो गाउँ–शहरमा बन्ने घरका संरचनाहरुको उपभोगिता हेरी यो प्रकृतिको बनिनु पर्छ भनेर योजना बनाएर प्रस्तुत गरेका छन् ?

    मलाई अर्को एउटा कुराले सधैं आश्चर्यचकित पार्छ । त्यो भनेको ‘विलो टेन्डर’ प्रक्रिया । इन्जिनियरले डिजाइन गरेको कुनै संरचना बनाउनका लागि ठेकेदारले कम्ति दररेटमा ठेक्का लिने प्रक्रिया जुन छ, त्यहाँ पूरै भ्रष्टाचारको गन्ध आउँछ । किनकि यति लागत लाग्छ भनेर इन्जिनियरले साँचो लागत स्टमेट तयार गरेको हो भने त्यो भन्दा कम रकममा कसरी निर्माण सम्भव हुन्छ ? त्यो भन्दा कम दरमा त्यो निर्माण गर्न सम्भव छ भनेर सरकारले कसरी पत्याउँछ ? त्यो कार्य पूरा गर्छु भनेर ठेकेदारले कसरी ठेक्का लिन्छ ?

    एउटा कामका लागि यी तीन तह– इन्जिनियर, राजनीतिकर्मी र ठेकेदार मिलेर देश चुसिरहेका छन् भनेर भन्न किन हिच्किचाउनु ? र, भ्रष्टाचारको आधारभूमि तयार गर्ने पहिलो व्यक्ति भनेकै इन्जिनियर हुन् भनेर आरोप किन नलगाउनु ?

    भौतिक विकासका लागि पहिलो बाधक भनेका ती तमाम इन्जिनियरहरु हुन्, जसले खास अर्थमा हामी देश निर्माणका जग हौं भन्ने नबुझेर आर्थिक प्रलोभनमा डुबिरहेका छन् । ती पनि हुन्, जसको आर्थिक प्रलोभन नहोला, तर गहन अध्ययनको कमीका कारण आम नागरिकले दुःख पाएका छन् । अनि ती पनि हुन्, जसको क्षमता र निष्ठामा शंका गर्न सकिन्न, तर उनीहरु कुम्भकर्ण जस्तो निदाएका छन् । [email protected]