के पढ्न चाहन्छन् युवा पाठक ?

२०७६ भदौ २८ शनिबार १०:३६:०० मा प्रकाशित

काठमाडौँ, २८ भदौ । “पुस्तकजतिको वफादार साथी अरु कोही हुँदैन,” प्रख्यात अमेरिकी पत्रकार तथा लेखक अर्नेस्ट हेमिङ्वेको यो भनाइ हरेक पुस्तकप्रेमीको आवाज हो । पुस्तकको महत्वबोध गर्न कम्तीमा त्यसलाई प्रेम गर्नु, त्यसलाई सुमसुम्याउनु र हरपल आफूसँगै राख्नु जरुरी हुन्छ । 

आफ्नो दैनिक कार्यतालिकाबाट थकित व्यक्ति हुन् या पाठ्यपुस्तकबाट आजित विद्यार्थी, या त घरधन्दाको भारी बोकिरहेकी गृहिणी, मन बहलाउन र जीवनजगत्लाई थोरै भए पनि बुझ्न पुस्तक अध्ययन आवश्यक छ । पछिल्लो समय युवापुस्ताको त भरपर्दो साथी नै बन्न पुगेको छ पुस्तक ।

नेपालमा मात्रै नभई संसारभरि नै पुस्तकप्रति लेखक र पाठकको रुचि बढ्न थालेको छ । नेपाली साहित्यको कुरा गर्दा, वयस्क लक्षित साहित्य त पहिलेदेखि नै थियो र अहिले पनि बढ्दो मात्रामा छ । केही समययता के युवा पाठकलाई लक्षित पुस्तकहरु पनि लेखिन थालेको हो ? यो प्रश्नको उत्तर किन पनि खोज्नु आवश्यक छ भने, लामो समयदेखि नेपाली युवा पाठक पुस्तकको लत विदेशी पुस्तक पढेर मेटाउँदै आएका छन् । 

यसबारे चिन्तनमनन गरिनुपर्नेमा साहित्यकार तथा पाठक सहमत छन् । बरु किन यस विषयमा बहस आरम्भ भएन भनेर ती चिन्तित देखिएका छन् ।

युवा लेखक, समीक्षक तथा अध्यापक राजिन पनेरु यो एकदमै महत्वपूर्ण विषय भएको बताउँछन् । उनका अनुसार युवा पुस्तालाई लक्षित साहित्य लेख्ने लेखक नेपालमा पनि छन्  । तर उनीहरुले यसलाई निरन्तरता दिन नसकेको उनको गुनासो छ । 

“युवा पाठकबीच परिचित नेपाली लेखकको नाम हो सुविन भट्टराई । साहित्यकारहरुले कहिले कुन, कहिले कुन विषय र वर्गलाई समेट्दा अल्मलिएको देखिएको छ । तर सुविनले एक वर्गलाई मात्रै लक्षित गरेर लेखेका छन्,” उनी भन्छन् ।
उनका अनुसार युवा पुस्ता बद्लिँदो समयसँगै जोडिएका पुस्तक पढ्न रुचाउँछन् । तर नेपाली लेखकहरुले त्यो चाहना पूरा गरेर लेख्न नसेकेको उनले भनाइ छ । “मलाई ठ्याक्कै याद त भएन्, तर एक युवा पाठकले फलानो कृति पढेर म विदेश जान खोजेको पनि गइन भनेर समेत भनेका छन्,” उनी भन्छन्, “युवाको ‘अनकन्सस माइन्ड’लाई छोएर लेखिदियो भने युवापाठकको नेपाली साहित्यमा रुचि बढाउन सकिन्छ ।”

युवावर्गले हँसाउने, रुवाउने र विशेषगरी आफ्ना पूर्वस्मृतिलाई खोतल्ने कृतिहरु पढ्न खोजिरहेको उनको अनुभव छ । किताबसँग आफ्नो नाता एकदमै गहिरो रहेको राजिन बताउँछन् । उनी कतै जाँदा होस् या घरमै अथवा कार्यकक्षमै हुँदा पनि उनको साथमा किताब हुन्छ । 

उनले पछिल्लो समय ‘नौ गेडी’, ‘मितिनी’, ‘सिद्धार्थ’, ‘अन्तर्दृष्टि’ पढेको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका कान्छो लेक्चररमा समेत नाम दर्ता गराएका राजिनले यो उमेरमै थुपै पुस्तक पढिसकेका छन् । उनी लेखकको स्तर, समाजको वस्तुस्थिति बुझ्नको लागि र विश्व साहित्यलाई नजिकबाट नियाल्नको लागि पुस्तक पढ्छन् ।

लेखक, प्रकाशक तथा लामो समयदेखि मञ्जरी प्रकाशनमार्फत् पुस्तकप्रेमीहरुको तिर्सना मेट्दै आएका कृष्ण अविरल स्वयम् नै पुस्तक पारखी हुन् । उनकी छोरी पनि पुस्तकको अम्मली भएको उनले जानकारी दिए । ‘तर मेरी छोरी नेपालीभन्दा पनि विदेशी पुस्तकहरु पढ्न रुचाउँछिन्,’’ उनले भने ।

अविरलकी छोरीजस्तै पछिल्लो पुस्ताका युवाको छनोटमा विदेशी पुस्तक पर्न थालेको छ । विशेषगरी अङ्ग्रेजी उपन्यास तिनको प्राथमिकतामा पर्न थालेको देखिन्छ ।

उनका अनुसार युवा पाठकहरु नयाँ थिम, नयाँ प्रयोग भएका किताब पढ्न रुचाउँछन् । कृष्णको पसलमा दिनहुँजसो युवा पाठक पुस्तक किन्न आउँछन् । तर तिनले बढीमात्रामा विदेशी पुस्तक खोज्ने उनको भनाइ छ । ‘‘नेपाली साहित्यका पुस्तक खोज्ने युवा अलि कम आउँछन्,’’ उनी भन्छन् ।

अहिले विद्यालय तहदेखि नै अङ्गेजी भाषाको प्रयोगलाई प्राथमिकतामा राखिएकोले पनि युवा पिँढी नेपालीभन्दा विदेशी पुस्तकका पारखी भएको उनको बुझाइ छ । नेपाली पुस्तकमा युवाको आकर्षण बढ्न नसक्नुमा अन्य कारण पनि रहेको उनी बताउँछन् । ‘‘लेखक नै पाठक बन्न नखोज्ने, युवा पिँढी के पढ्न चाहन्छ भन्ने बुझ्नका लागि  अनुसन्धान नगर्ने, मेहनत र फरकपन ल्याउन नखोज्नेजस्ता कारणले युवा पुस्ताको नेपाली साहित्यमा रुचि घट्दै गएको छ,’’ कृष्ण भन्छन् ।

युवा पाठकलाई लक्षित प्रेमका पुस्तकहरु बढी छन् बजारमा । तर त्यही मायाप्रेमको कुरालाई पनि अलि फरक ढङ्गले प्रस्तुत गर्नुपर्छ भन्ने चेत लेखकमा नभएको उनको भनाइ छ । 

अङ्ग्रेजी भाषाका पुस्तक पढ्न अभ्यस्त भैसकेका युवाले त्यस्तै स्वाद र गुणस्तर नेपाली साहित्यमा खोज्ने गरेको उनको अनुभव छ । चेतन भगत, पाउलो कोएल्हो, हारुकी मुराकामीका पुस्तकहरु युवा पिँढीले धेरै खोज्ने गरेको कृष्णले जानकारी दिए ।

“हामीले युवा पाठकलाई आकर्षित गर्ने खालको उपन्यास लेख्नै सकेका छैनौं,” उनी भन्छन् । तर यसको मतलब नेपाली साहित्यको सम्भावना नै नभएको भन्ने होइन । लेखनमा लगन र मेहनत गर्ने नेपाली लेखक जन्मन नसक्नाले स्थिति उत्साहप्रद नरहेको कृष्ण बताउँछन् । 

उता, एउटा उपन्यासमै मेहनत धेरै गरेर समय खर्चिन आर्थिक कारणले गाह्रो परेको कतिपय लेखकको गुनासो छ ।  दैनिक हातमुख जोर्न कमाउनैपर्ने बाध्यतामा अधिकांश नेपाली लेखक रहेका छन् । जागिर छोडेर लेखनमै लाग्न सक्ने अवस्था छैन । त्यसकारण पनि उपन्यास वा अन्य रचनाका लागि अनुसन्धानमा सममय दिन कठिन छ ।

पुस्तक विक्रेताहरुका अनुसार पछिल्लो समय युवा पाठकहरु त बढेका छन्, तर नेपाली साहित्यका नभई अङ्ग्रेजीका । विभिन्न मुलुकका लेखकका उपन्यास वा अन्य कृतिबारे मिडियामा जानकारी आउँदासाथ पुस्तक खोज्न आउने युवा पसलमा झुल्किहालल्छन् ।  

भर्खरै नेपाली साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी युवा पाठक लता मिश्रलाई साहित्यका सबै विधा मन पर्छ । तर अरु युवा पाठकजस्तै उनलाई पनि प्रेमका कथा भएका उपन्यासले अलि बढी तान्छ । 

“म निरन्तर पढ्दिनँ, तर मलाई मन लागेको किताब जति नै मोटो भए पनि दिनरात लगाएर एकदिनमै पढिसक्छु,” उनी भन्छिन् । उनले पछिल्लो समय पढेका पुस्तकमा राजेन्द्र पराजुलीको कथासङ्ग्रह ‘सपनामा माक्र्स’, ‘शुक्रराज शास्त्रीको चस्मा’, दामोदर न्यौपानेको ‘कर्म, सिकाइमा गहिरिएको खाडल’ आदि रहेका छन् । 

उनका अनुसार लेखक र पाठकहरु बढ्दैछन् । तर लेखक बढेसँगै किताबको गुणस्तर भने बढ्न नसकेको उनको गुनासो रहेको छ । “अहिले युवाहरुमा उपन्यासमा चासो बढेको देख्छु । उपन्यासमा पनि विशेष लभस्टोरीमा,” उनी भन्छिन् । 
उनका अनुसार सुविन भट्टराईका किताब नपढेका युवाहरु भेटिँदैनन् । सुविनले सन्देशमूलक भन्दा पनि रोमान्टिक पुस्तकहरु लेख्ने र युवाहरु पनि त्यस्तै किताब पढ्न चाहने उनको भनाइ छ । प्रेम र विछोडजस्ता घटना हरेक मानिसको जीवनसँग मेल खाने हुनाले युवाले त्यस्तै पढ्न खोज्ने गरेको उनको बुझाइ छ ।

तर साहित्यको प्रगति र विकासको लागि त्यस्ता किताबले मात्रै नपुग्ने उनी बताउँछिन् । अहिले दिनहुँजसो कुनै न कुनै साहित्यिक पुस्तक विमोचनको कार्यक्रम हुन्छ । त्यस्ता कार्यक्रममा पहिला निकै कम युवा सहभागी हुन्थे, तर अहिले भने उल्लेखनीय सहभागिता देखिन्छ । 

प्रेमकै विषयमा लेख्दा पनि थुपै एङ्गल हुन्छ, तर केही लेखकहरुले पात्र र परिवेशमात्रै परिवर्तन गरी विदेशी पुस्तककै कथालाई नेपालीमा उतार्ने समस्या पनि देखिएको गुनासो पाठकको रहेको छ ।

“अलि पढेका, बौद्धिक क्षमता राम्रो भएका लेखकहरु विदेशी साहित्य पढ्छन्, विदेशी चलचित्र हेर्छन् र त्यसैलाई भाषा केही परिमार्जित गरी सामान्य फेरबदल गर्दै नेपालीमा अनुवाद गर्छन्,’’ पनेरु भन्छन, ‘‘यसले नेपाली साहित्यका युवा पाठक भड्कने डर बढेको छ ।”

अहिले प्रविधिले अकल्पनीय फड्को मारेका कारण प्रविधिमै रमाउने युवा पुस्ता ठूलो छ । तिनलाई पुस्तकमा आकर्षित बिलकुलै सजिलो छैन । प्रविधिलाई जित्ने परिमार्जित ढङ्गको र स्तरीय पुस्तक आउनु जरुरी रहेको पनेरु बताउँछन् ।
भर्खरै युवालक्षित उपन्यास ‘गुलाबी उमेर’ बजारमा ल्याएका अमर न्यौपाने पनि युवाले मन पराउने पुस्तकको मात्रा निकै कम भएको स्वीकार्छन् । अहिलेको भड्किरहेको युवापुस्तालाई सम्बोधन गर्नेखालको किताब लेख्न एकदमै जरुरी भएको उनले बताए । बाह्रखरीबाट