उमेरको लुगा 

२०७६ भदौ २८ शनिबार ०७:४३:०० मा प्रकाशित

सर नमस्कार ! 

जसरी कुनै विद्यार्थीका लागि सबै शिक्षक बराबर हुँदैनन्, त्यसैगरी कुनै शिक्षकका लागि पनि सबै विद्यार्थी बराबर हुँदैनन् । त्यसैले होला, मेरा लागि तपाईं बराबर अरु शिक्षक भएनन्; तपाईंका लागि पनि म बराबर अरु विद्यार्थी भएनन् । 

एक दिन तपाईंले भन्नुभयो, “तिम्रो उमेर फुल्दै छ, ऋतु ।”

मैले विपर्याय भावमा भनें, “मेरी हजुरआमाको कपाल फुल्दै छ, सर ।” 

तपाईंले बुझाउनुभयो, “उमेर फुल्नु र फूल फुल्नु उस्तैउस्तै हो; कपाल फुल्नु र काँस फुल्नु उस्तैउस्तै हो ।”

सात कक्षा पढ्ने तेह्रबर्षे कलिलो दिमागले तपाईंको कुरा आधा बुझ्यो; आधा बुझेन । जति बुझ्यो, त्यतिमै चित्त बुझ्यो । अर्को दिन तपाईंले भन्नुभयो, “तिम्रो उमेर लेख न ऋतु; गुलाबी उमेर ।”

“किन सर ?” 

“लेखिसकेपछि आफैं था पाउँछ्यौ ।” 

हुन्छ भन्न पनि सकिनँ; हुन्न भन्न पनि सकिनँ । भूत अबोध थियो; वर्तमान बुझ्न खोज्दै छु; भविष्य रहस्यमय छ । थाहा छैन, भविष्य लेख्न लायक हुन्छ कि हुँदैन ? 

मेरो भाव बुझेर तपाईंले भन्नुभयो, “लायक र नालायक भन्ने कुरा सबै हाम्रा मान्यता मात्र हुन् ।” 

तपाईंको कुराले म अलिअलि अलमलिएँ; अलिअलि खलबलिएँ । तपाईंले लेख्ने तरिका बताउनुभयो, “उमेर भोग्दै जाँदा लेख्दै जाऊ र प्रत्येक वर्ष मलाई बुझाउँदै जाऊ । ढिलो गरे कतिपय भोगाइ र अनुभव सम्झनामा समेत नरहने गरी मेटिएर जान्छन् ।” 

मैले भनें, “सर, स्कुलको परीक्षा तीन घण्टाको हुन्छ । तर तपाईंले दिनुभएको परीक्षा त सात वर्षको ! यति लामो परीक्षा दिने धैर्य मसँग छैन ।” 

विद्यार्थीलाई सबैभन्दा ठूलो डर भनेको पासफेलको हो । पासफेलभन्दा माथि उठेर तपाईंले भन्नुभयो, “स्कुलको परीक्षा अरुका कुरा पढेर दिइन्छ, जहाँ पासफेल भइन्छ । यो परीक्षा त आफ्नै उमेर बाँचेर दिइन्छ, जहाँ पासफेल भइँदैन । खासमा, यो कुनै परीक्षा होइन; बरू आफैंसँगको साक्षात्कार हो; आफ्नै तन, मन र जीवनका इन्द्रियहरुसँगको कुराकानी     हो ।” 

तपाईंको अनुहारतिर पुलुक्क हेरें । फेल भइएला भन्ने डर नलागेर होला; फ्याट्ट भनेछु, “हुन्छ !” 

तपाईंको अनुहार उज्यालो भयो । 

उत्तिखेरै मेरो मनोलोकमा नयाँ विचार फु¥यो र मैले फेरि भनें, “तर सर, एउटा सर्त छ ।” 

“के सर्त ?” 

“प्रत्येक वर्ष मेरो उमेर पढ्दै जाँदा तपाईंले पनि आफ्नो प्रतिक्रिया दिँदै जानुपर्छ ।” 

“अवश्य,” तपाईंले खुसी हुँदै भन्नुभयो, “तिमी क्रिया, म प्रतिक्रिया; तिमी कथा, म प्रतिकथा; तिमी कथन, म प्रतिकथन ।” 

अँ सर, म कुनै लेखक होइन । त्यसैले मलाई बनाएर लेख्न आउँदैन । नबनाई लेखूँ भन्छु, आखिर अक्षरहरु त बनाइएकै हुन् । थाहा छैन, बनाइएका अक्षरहरुमा आफैं लेखिँदै र मेटिँदै जाने उमेर लेख्न सकिन्छ कि सकिँदैन ? 

तपाईंले भनेअनुसार होइन, मैले भोगेअनुसार; तपाईंले खोजेअनुसार होइन, मैले बाँचेअनुसार आफैंलाई लेख्न बसेकी छु । 

तपाईंले भन्नुभएको सम्झिएँ, “तिम्रो उमेर काँचो छ, ऋतु । काँचो उमेरका अनुभवहरु पनि काँचा हुन्छन् । काँचा भए पनि बुद्धिले नजितेका अनुभवहरु साँचा हुन्छन् ।” 

थाहा छैन, मेरा काँचा अनुभवहरु कत्तिको साँचा भएर अक्षरहरुमा अनुवाद हुन्छन् ? 

मेरो काँचो उमेरको बोटमा फलेका सबै काँचा कपास तपाईंलाई । हृदयको चर्खामा राखेर उमेरको कपासलाई कात्नुहोला र धागो बनाउनुहोला; धागोलाई बुनेर कपडा बनाउनुहोला; कपडामा अनेक रंग लगाउनुहोला; रंगीन कपडालाई गुलाबी उमेरको नापअनुसार काट्नुहोला अनि अनेक प्रकार र शैलीका लुगा सिलाउनुहोला । 

एक दिन म ती लुगा लगाउन आउनेछु । 

मेरो उमेरको लुगा । 

(मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेको नवीन कृति ‘गुलाबी उमेर’को एक अंश)