शालिकराम आत्महत्या प्रकरणः बिचरी सम्झनालाई कसले सम्झने ?

२०७६ भदौ २५ बुधबार ०८:५३:०० मा प्रकाशित

काठमाडाैं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा कतिपय बेरोजगारले रोजगारी पाएका छन् भने यससँगै सामाजिक सञ्जाललाई बहस, छलफल, गालीगलौज, अभद्रता र उच्छृंखलताले ढाकेको छ । सामान्य मानवीय संवेदनासमेत बिर्सेर राष्ट्रिय मूलधारको भनिएका सञ्चारमाध्यमसमेत पक्ष÷विपक्षमा अनेक कथा लेख्न/लेखाउन उद्यत छन् । सम्झनाको पीडा र आँशुका भेल दुनियाँलाई रमिता बनेको छ । आफ्नो परिवारमा यस्तै पीडा आइपर्दा के गर्लान् यी मान्छेहरू ! 

सम्झना एक बीस हिउँद खाएको कलिलो उमेर लिएर मनमा अनगिन्ती पीडा सम्हाल्दैछिन् तर दुनियाँ उनको आँशुमा मजाक मनाइरहेछ । शालिकरामका बा–आमा पनि यो हल्लाखल्लाबाट पर एकान्त गाउँतिर समेत सामाजिक सञ्चारको सनसनीले हैरानीमा परेका छन् ।

सिउँदोको सिन्दूर मेटेर न्यायालयको दैलोमा जाने कानुनी अधिकारको भीख माग्दै गर्दा आज दुनियाँ उनलाई अनेकौं आरोप लगाउँदै उन्मादी गीत गाइरहेछ, यो कस्तो स्वतन्त्रताको उपभोग हो ! गाई मर्दा रुनेहरू, मान्छे मर्दा मजाक गर्छन् यहाँ । कुकुरको मायामा पागल हुनेहरू मान्छेको आँशुलाई लाञ्छना लगाउँदै छन् । अस्मिताको कौमार्यको खेतीमा ओर्लिएका छन् एकथरी अधिकारकर्मीहरू जसलाई सम्झनाको प्रेम कथासँग केही मतलव छैन । शालिक अस्मिताको प्रेमवियोगमा पागल भएको कथा कल्पनेहरू, सम्झनाको बालप्रेम खोस्ने उनको नियत के थियो ? खोज्न जरुरी छैन ? किन अस्मिताको मात्रै प्रश्न उठाइन्छ ? यता, पहिलो प्रेम त सम्झनाको खोसिएको थियो । एक सचेत नारीको प्रेम खोस्न अर्की नारी किन मरिहत्ते गर्छे यथार्थको धरातल छाडेर ? प्रश्न गहन थिएन र ? सम्झनाका लागि बलिदान फिल्मको गीत नै काफी छः गाई त बाँध्यो ढुंग्रोमा मोही छैन । गरिबको चमेली बोल्दिने कोही छैन । 

सम्झनाका बा माओवादीतर्फबाट वडाध्यक्ष रहनु र रेणु, प्रचण्डको सत्तासँग साइनो जोडिनु विषयान्तर गर्ने अच्छा बहाना हुन् । यदि, सम्झनासँँग त्यही राजनीतिक पावर थियो भने उनको न्यायका लागि हजारौं उफ्रिन्थे । उनी त सिउँदो मेटेर न्याय खोज्न आएकी थिइन् । फरक यति मात्रै हो कि हिजो राजा प्रताप मल्लले पुत्र वियोगको पीडामा रहेकी रानीलाई खुशी पार्न गाईजात्रा चलाए भने आज कानुनभन्दा माथिका राजावादी चिन्तन बोक्नेहरूले सम्झनाको आलो पीडामा नुनचुक छर्कन सामाजिक सञ्जालको सहारा लिए । हिजो श्री ३ महाराजका आमाहरूलाई नै जलाउन परेपछि बल्ल राणाहरूको चेत खुल्यो र सती प्रथा खारेज भयो । आज एक सेलिब्रिटीको आडमा आत्महत्या दुरुत्साहन ऐन खारेज होला ? भए सबैलाई समान रूपमा लागू होस् तर सम्झनाले भने न्याय पाउन् । 

यसबीच, लक्ष्मीप्रसाद घिमिरेले सामाजिक सञ्जालमा लेखेछन्, धनको पोको कालो, सम्झनाको पालोः किटानी जाहेरी दिइन्, हत्या भन्न बिर्सिन् ।

सोध्न मन छ, उनी नै मरे भने तिनकी श्रीमतीले सत्य खोज्न पाउने कि नपाउने ? त्यस्तै विकिन कान्दधबाले लेखे ः रविपत्नी निकिताले शालिकरामपत्नी सम्झनालाई दुई करोड लिएर मुद्दा फिर्ता लिन दीपाश्री निरौलामार्फत आग्रह गरेको खुलासा । होला त यस्तो सत्य ? समर्थन र लोकप्रियताको आडमा यस्तो भ्रम छर्न पाइन्छ ? 

हरेक मान्छेको जिन्दगीका दुःख, पीडा फरक हुन्छन् । एकपटक कसैकी आमा बितिछन्, ऊ अलापविलाप गर्दै थियो, सबै गाउँले छिमेकी महिला आएर सम्झाए, यस्तै हो, चिन्ता नगर, हामी छांै नि ! ऊ समाजको भरोसामा बाँच्यो र त्यही समाजमा बस्यो । केही महिनापछि बा मरेछन् । फेरि गाउँले काकाहरू जम्मा भए र भने, चिन्ता नगर बाबु, हामी छांै । ऊ समाजको भरोसा गर्दै बाँच्यो । समयक्रमसँगै एक दिन श्रीमती मरिछन् । ऊ भावविह्वल भयो, यो बेला पनि सदावहारजस्तै समाज र गाउँले बा, आमाहरू आए र भने, चिन्ता नगर हामी छांै । तर, कसैले भनेन्, म पनि तिम्री श्रीमतीजस्तै हँु, यो त एक घटना हो । हाम्रो सामाजिक मनोदशा नियाल्ने । मान्छेको जीवन र माया प्रेमको क्षतिपूर्ति सामाजिक सञ्जालको उन्मादले दिन सक्छ ? आज सम्झना त्यही अधुरो सपनाको कल्पनामा आफ्नो चोखो प्रेमको हत्याराहरू खोजिरहिछन् । (जनआस्था साप्ताहिकबाट)