को हुन् ती भारतीय किसानका छोरा, जसले पठाए चन्द्रयान-२

२०७६ भदौ २४ मंगलबार १६:२८:०० मा प्रकाशित

नयाँदिल्ली, २४ भदौ । हिजो बिहान अर्थात् ७ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंगलुरुस्थित इसरो (इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन) को कार्यालयबाट फर्कन लागेका बेला इसरोका प्रमुख के. सिवन साह्रै भावुक भए ।

त्यसको केही घन्टाअघि मात्र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको चन्द्रयान–२ सँग इसरोको सञ्चार सम्पर्क विच्छेद भएको थियो । चन्द्रयान–२ सँगको सम्पर्क विच्छेदले गर्दा भारतीय ल्यान्डर ‘विक्रम’ चन्द्रमाको सतहमा अवतरण गरे नगरेको कुनै जानकारी इसरोका वैज्ञानिकसहित अवतरण हेर्न इसरोमै प्रतीक्षारत प्रधानमन्त्री मोदी लगायतले पाउन सकेका थिएनन् ।

यति मात्र नभएर खासमा विक्रम के भयो, कहाँ समस्या आयो, उत्रिएन भने किन जस्ता कुनै पनि जिज्ञासाको जवाफ इसरोका वैज्ञानिकले पाउन सकेनन् भनेर बिबिसीले उल्लेख गरेको छ ।

प्रधानमन्त्री मोदीकै अगाडि निकै नै भावुक भएका इसरो प्रमुख सिवनका तस्बिर र भिडियो टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमा भाइरल भए । चन्द्रयान–२ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउन पाएको असफलताले भावुक भए पनि इसरो प्रमुख मानसिक रुपमा अत्यन्तै सुदृढ रहेका छन् । अन्तरिक्षमा सबैभन्दा न्यून लागतमा स्याटलाइट स्थापना गर्ने मामिलामा आज भारत विश्वकै मुख्य गन्तव्य बन्नुमा इसरो प्रमुख सिवनकै अनवरत प्रयासको प्रतिफल मानिएको छ ।

भारतले यसअघि गरेको मंगल ग्रहको अन्तरिक्ष अभियानमा पिएसएलवी रकेट उपयोग गरी न्यून लागतमा स्याटलाइट पठाउने रणनीतिको विकास गर्नमा सिवनले नै प्रमुख भूमिका निर्वाह गरेका थिए ।

१५ फेब्रुअरी सन् २०१७ मा पिएसएलभीबाट एकैपल्ट १०४ वटा भूउपग्रहहरु (जसलाई बेबी भनियो) लाई अन्तरिक्षमा पठाएर स्थापना गर्न इसरोले पाएको सफलतामा पनि सिवन नै अभियानको मुख्य परिकल्पनाकार थिए । एउटा टेलिभिजन अन्तर्वार्तामा सिवनले एकसाथ सयभन्दा बढी बेबी भूउपग्रह अन्तरिक्षमा पठाउने पहिलो देश भारतलाई बनाउन सक्नु इसरोको ठूलो सफलता भएको बताएका थिए ।

यसरी भारतले अन्तरिक्ष विज्ञानमा एकपछि अर्को गर्दै पाइरहेको सफलतामा प्रमुख योगदान गरिरहेका सिवन एक विपन्न किसानका छोरा थिए भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

पिएसएलवी सुदृढ पार्न योगदान

सन् १९८२ मा जतिबेला सिवन इसरोमा आए, उनले काम गरेको पहिलो परियोजना नै पिएसएलवी थियो । उनले ‘एन्ड टु एन्ड मिसनको प्रारुप, डिजाइन, इन्टिग्रेसन र एनालाइसिसमा अत्यधिक योगदान गरे ।

अहिले सिवन एरोस्पेस इन्जिनियरिङ, स्पेस ट्रान्सपोर्टेसन सिस्टम इन्जिनियरिङ, लन्च भेहिकल र मिसन डिजाइन, कन्ट्रोल र गाइडेन्स डिजाइन, मिसनको सफ्टवेयर डिजाइन, मिसनका विभिन्न परीक्षणका नतिजाहरुको संयोजन, एरोस्पेससँग जोडिएका कुनै पनि प्रयोगको सम्पूर्ण प्रक्रिया तय गर्ने तथा त्यसको विश्लेषण गर्ने र उडान प्रणालीहरुको पुष्टीकरणलगायत सबैका विशेषज्ञ हुन् ।

उनले अपनाएका रणनीतिहरुको सबैभन्दा ठूलो योगदान पिएसएलवीलाई शक्तिशाली बनाउनुमा पनि रह्यो । यसबाट इसरोका अन्य लन्च भेहिकल– आरएलवी–टिडीलगायत जिएसएलवी एमके २ र एमके ३ लाई पनि सुदृढ बन्न पुग ।

अभावमा गुज्रिएको बाल्यकाल

परिवारको पहिलो स्नातक र पहिलो इन्जिनियरबाट इसरो जस्तो भारतको प्रतिष्ठित संस्थाको प्रमुख बन्न सफल सिवनको जन्म सन् १९५७ एप्रिल १४ तारिखमा तमिलनाडुको कन्याकुमारी जिल्लाको एउटा किसान परिवारमा भएको थियो ।

भारतीय अखबार टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले परिवारको आर्थिक विपन्नताका कारण आफूभन्दा मुनिका भाइबहिनीले उच्च शिक्षा हासिल गर्न नसकेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

पत्रकार पल्लव बागलासँगको अन्तर्वार्तामा सिवनले भनेका छन् कि उनले मेला सराकलाविल्लई गाउँको सरकारी स्कुलमा प्राथमिक तह तमिल माध्यममा अध्ययन गरेका थिए । उनले माध्यमिक तहको पढाइ पनि तमिल माध्यमबाटै गरेका थिए । स्कुलमा पढ्दा उनी आफ्ना बुवालाई खेतिपाती गर्न सघाउँथे ।

पछि सन् १९७७ मा उनले मदुरै विश्वविद्यालयमा गणित विषयमा स्नातक उत्तीर्ण गरे र आफ्नो परिवारमा स्नातक गर्ने पहिलो व्यक्ति बने । स्नातकमा उनले पूरै सय प्रतिशत अंक ल्याएका थिए । यसपछि मात्र उनका बुवाले उनलाई स्नातकोत्तर अध्ययन गर्ने अनुमति दिएका थिए ।

इसरोसम्मको यात्रा

स्नातकमा सय प्रतिशत अंक ल्याएका सिवनले सन् १९८० मा मद्रास इन्स्टिच्युट अफ टेक्नोलजीबाट एरोनटिक्समा इन्जिनियरिङ उत्तीर्ण गरे । यसको दुई वर्षपछि बेंगलुरुस्थित भारतीय विज्ञान संस्थान (आइआइएससी) बाट उनले एरोस्पेसमा नै स्नातकोत्तर उत्तीर्ण गरे । र, उनी त्यसै वर्ष इसरोमा काम गर्न थाले । उनले सन् २००७ मा मुम्बईस्थित आइआइटी (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) बाट एरोस्पेस इन्जिनियरिङमा नै पिएचडीसमेत पूरा गरे ।

भारतीय अन्तरिक्ष अनुसन्धान विज्ञान (इसरो) मा विएसएससी, एलपिएससीको निर्देशक, जिएसएलवीको परियोजना निर्देशक, अन्तरिक्ष आयोगको सदस्य र इसरो परिषदको उपाध्यक्ष जस्ता महत्वपूर्ण पद सम्हाल्दै सिवन सन् २०१८ मा इसरोको प्रमुख नियुक्त भए ।

अनेकौं प्रतिष्ठित पुरस्कारबाट सम्मानित

डा. सिवनलाई सन् २००७ मा इसरो मेरिट अवार्ड, सन् २०११ मा डा. बिरेन राय स्पेस साइन्स एन्ड डिजाइन अवार्ड, सन् २०१६ मा इसरा अवार्ड फर आउटस्ट्यान्डिङ एचिभमेन्टसहित अनेकौं पुरस्कार प्रदान गरिसकिएको छ ।

त्यस्तै कैयौं विश्वविद्यालयले उनलाई ‘डाक्टर अफ साइन्स’ सम्मान दिएका छन् । चेन्नईस्थित सत्यभामा विश्वविद्यालयले उनलाई सन् २०१४ अप्रिलमा डाक्टर अफ साइन्स र सन् १९९९ मा डा. विक्रम साराभाइ रिसर्च अवार्ड दिएको थियो ।

अनेकौं प्रतिष्ठित जर्नलमा उनका विज्ञानसम्बन्धी लेख छापिएका छन् । अन्तरिक्ष परिवहन प्रणालीको डिजाइन र निर्माणसम्बन्धी सबै क्षेत्रमा आधारित उनको पुस्तक ‘इन्टिग्रेटेड डिजाइन फर स्पेस ट्रान्सपोर्टेसन सिस्टम’ सन् २०१५ मा प्रकाशित भएको छ ।

विज्ञान र प्रविधिका क्षेत्रमा डा. के. सिवनको योगदानका लागि गएको महिना तमिलनाडु सरकारले उनलाई डा. कलाम पुरस्कारबाट सम्मानित गरेको छ । यो पुरस्कार वैज्ञानिक विकास, मानविकी र विद्यार्थी कल्याण प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रदान गरिन्छ ।

गत जुलाई १५ तारिखमा चन्द्रयान–२ प्रक्षेपण हुनुपूर्व जिएसएलवी एमके ३ मा उत्पन्न समस्या सिवनले अन्य वैज्ञानिकसहित भएर २४ घण्टाभित्रै समाधान गरेका थिए। सिवन नेतृत्वको वैज्ञानिक टोलीको त्यही मेहनतका कारण नै चन्द्रयान–२ पूर्वनिर्धारित समयमा नै प्रक्षेपण गर्न इसरो सफल भएको थियो ।