ज्ञानमा प्लेटो र अरस्तुको दार्शनिक मतभेद 

२०७६ भदौ २१ शनिबार ०९:२३:०० मा प्रकाशित

ज्ञान एवं विज्ञानले मानिसका अगाडि अनेकौं समस्याहरु पैदा गरिदिएका छन्। ज्ञानबाट सत्य र असत्य एवं उचित अनुचितको बोध हुनसक्छ भन्ने मान्यता समाजमा स्थापित छ। तर आजसम्म सत्यको मौलिक स्वरुप के हो भन्ने विषयमा बिचारकहरुका बीचमा मतैक्यता पाइएको छैन। समग्र मानवीय प्रवृत्ति र भौतिक एवं आध्यात्मिक सत्ताका बीचमा समन्वय कसरी भएको छ भन्ने बिषयमा पनि दार्शनिकहरुको मतभिन्नता तीव्र पाइन्छ। तर यथार्थमा सत्य के हो र यसको पहिचान कसरी हुनसक्छ भन्ने सैद्धान्तिक सहमति पूर्वीय दार्शनिक स्कूल वेदान्त र पश्चिमका प्लेटो, अरस्तु, स्पिनोजा, प्लुटार्क, सेंटायना एवं हाइडेगर जस्ता चिन्तकहरुका बीचमा देखिएको छ। उनीहरुले सत्यलाई ज्ञानको आधारमा परिभाषित गर्ने प्रयत्न गरेका छन् र त्यो ज्ञान अनन्त र धारावाहिक हुन्छ।

प्लेटोले बिचार,बुद्धि एवं तर्कलाई पनि ज्ञानकै सम्प्रदायभित्र राखेका छन्। तर ज्ञानको अधिष्ठान मस्तिष्क बनाएका छन्। यहाँनेर प्लेटोको यो तर्कसँग चाहिँ वेदान्त सहमत देखिँदैन। वेदान्तले ज्ञानलाई धारावाहिक वृत्ति मानेको छ। बिचार ज्ञानधर्मी बिषय त हो तर ‘ज्ञान’ नै चाहिँ हुनसक्दैन। ज्ञानको प्रवाह अखण्ड हुन्छ, तर बिचारको प्रवाह खण्डीकृत हुन्छ। त्यसैगरी तर्कलाई पनि ज्ञानकै तहमा राखेर बोधगर्न सकिँदैन। तर्क ज्ञानको उत्प्रेरक त बन्न सक्छ तर ज्ञानकै साक्षात् सत्ताका रुपमा गणना गर्न अप्ठ्यारो पर्छ। तसर्थ प्लेटोले ज्ञानका बिषयमा गरेको व्याख्या वेदान्तले हुबहु मान्दैन। 

प्लेटोले मानवीय आचरणलाई तीन श्रोतमा विभाजित गरेका छन्। इच्छा, भावना र ज्ञान। इच्छालाई प्लेटोले भौतिक बिषयका रुपमा मात्र व्याख्या गरेका छन्। केवल भौतिक सुख एवं विलासलाई इच्छाको उपज मानेका छन्। जोसँग इच्छाको प्रबलता हुन्छ, त्यस्ता व्यक्ति बढी व्याघ्र, संग्रहशील, प्रतिशोधग्रस्त एवं ईष्र्यालु प्रवृत्तिका हुन्छन्। यस्ता व्यक्तिहरु शक्तिका भोका हुन्छन्। शक्ति पनि भौतिक एवं बाहिरी शक्तिलाई उनीहरु जीवनको मूल लक्ष्य ठान्दछन्। वास्तवमा प्लेटोले व्याख्या गरेको इच्छा मात्रै समग्र मानवीय इच्छा हो कि हैन यो बिषयमा बिचारकहरुका बीचमा गम्भीर मतभेद छ।

शापेनहावर इच्छा अथवा संकल्पलाई मानवीय प्रकाशपुञ्जका रुपमा व्याख्या गर्छन्। सिंगो शरीर नै संकल्प शक्तिको प्रकाश हो। हाम्रा शरीरका सम्पूर्ण अंगहरु संकल्प वा इच्छाशक्तिकै कारणबाट पैदा भएका हुन्। बिचार गर्ने इच्छाबाट मस्तिष्क बन्छ,समाउने या वस्तुहरु ग्रहण गर्ने इच्छाबाट हात पैदा हुन्छ, खाने इच्छाबाट पाचन शक्तिको निर्माण हुन्छ। शापेनहावरको यो बिचारले हाम्रो शरीर पैदा हुनुभन्दा पहिला नै इच्छा शक्तिको सत्ता सक्रिय हुनुपर्छ। इच्छा शक्तिलाई शापेनहावरले शाश्वत एवं अखण्डज्ञान प्रवाहको रुपमा परिभाषित गरेका छन्। यसरी प्लेटो र शापेनहावरका बीचमा इच्छालाई लिएर ठूलो विवाद देखिन्छ। प्लेटो पूर्णत भौतिक रुपमा मात्रै इच्छाको सत्तालाई परिभाषित गर्छन् भने शापेनहावर चाहिँ इच्छालाई ज्ञानको शाश्वत् बिषयका रुपमा प्रस्तुत गर्छन्। शापेनहावर बुद्धिलाई पनि महत्व दिँदैनन्। संकल्प एवं इच्छा र बुद्धिको तुलना गर्दै बुद्धिलाई सीमित बिषयका रुपमा परिभाषित गरिएको छ। बुद्धि थाक्छ तर संकल्प अथक रहन्छ र शरीर सुषुप्त रहँदा पनि इच्छा क्रियाशिल भईरहेको हुन्छ। पीडा जस्तै थकानको अनुभव मनको उपज हो, मस्तिष्कसँग सम्बन्धित मांशपेशीहरु हृदय जसरी नै कहिल्यै पनि थाक्दैनन्।

सुप्तावस्थामा मस्तिष्कले भोजन प्राप्त गर्छ तर इच्छा अथवा संकल्पशक्तिलाई भोजनको आवश्यकता पर्दैन। यसै कारणले गर्दा मस्तिष्कबाट काम गर्ने व्यक्तिका लागि निद्रा अपरिहार्य हुन्छ। यसको अर्थ अधिक निद्रा पनि हैन। अधिक निद्राले फेरि मानसिक मन्दी पैदा हुन्छ। सुप्तावस्थामा मनुष्यको जीवन उद्भिज जगत्को स्थितिमा पुगेको हुन्छ। यस्तो अवस्थामा इच्छा शक्ति बाहिरी ज्ञान बिना, आफ्नो मूल एवं सारभूत प्रकृति अनुसार काम गरिरहेको हुन्छ। मस्तिष्कको क्रिया तथा ज्ञान प्राप्तिका लागि हुने परिश्रमबाट इच्छ शक्तिमा कुनै प्रभाव पर्दैैन। यसरी सुसुप्तावस्थामा इच्छा शक्तिको समस्त शक्ति प्राणिको रक्षा एवं उसको बिकास कार्यमा लागिरहेको हुन्छ। यस अर्थले सबै प्रकारका आरोग्यपूर्ण प्रक्रियाहरु निद्रावस्थामा नै सञ्चालित भएका हुन्छन्। निद्रावस्थामा नै शरीरका अवयवहरुले शक्ति सञ्चय गर्छन् र पुनः कर्म गर्नका लागि क्रियाशील उत्प्रेरणा प्रदान हुन्छ। शापेनहावरले यो जगत्को समस्त वस्तुको कारण नै इच्छा शक्ति मानेका छन्।

ह्युंमको कारणबाद के हो भन्ने एउटा प्रश्नको उत्तरमा पनि शापेनहावरले इच्छा शक्ति नै हो भनेर उत्तर दिएका छन्। उनले संकल्पलाई नै सार्वभौमिक कारण मानेका छन्। जुन वस्तु या शक्ति हामी भित्र ज्ञानको प्रकाशद्धारा आफ्नो लक्ष्यतर्फ अघि बढ्छ त्यो नै इच्छाशक्ति हो र त्यहीँबाट हाम्रो जीवनको रक्षा भएको हुन्छ। अर्थात् इच्छाशक्ति एवं संकल्पलाई नै सम्पूर्ण ज्ञान एवं जीवन सत्ताको आधारका रुपमा शापेनहावरले व्याख्या गरेका छन्। जसरी वेदान्तले ब्रह्मलाई नै सर्वोपरि सत्ता मानेको छ, सांख्य दर्शनले प्रकृति र पुरुषलाई, शैवले शिवलाई, त्यसरी नै शापेनहावरले संकल्पलाई नै सम्पूर्णता मानेका छन्। तर प्लेटोले इच्छा, भावना र ज्ञानलाई मानवीय आचरणको त्रिपुटीका रुपमा व्याख्या गरेर ज्ञानको सत्तालाई पनि खण्डीकृत गरिदिएका छन्। ज्ञानलाई पनि जीवनको एउटा पक्ष मात्रै मानेर अन्य दार्शनिक सम्प्रदायहरुले ज्ञानको सत्तालाई दिएको सर्वव्यापिता र सर्वोच्चताको खण्डन गरेका छन्। तर यो खण्डन प्रत्यक्ष नभएर केवल बोद्धव्य बिषयका रुपमा मात्रै प्रकट भएको छ।

अन्ततः शापेनहावरले प्लेटोको व्याख्यालाई अस्वीकार गरेका छैनन्। प्लेटोले इच्छाको स्थान कम्मर बताएका छन्। अर्थात् हाम्रो शरीरमा इच्छा कम्मर प्रदेशमा बस्छ। त्यसैले इच्छा विशेष गरेर यौनसँग सम्बन्धित हुन्छ भन्ने प्लेटोको तर्कलाई शापेनहावरले सन्ततिको इच्छा अथवा ‘द विल टु रिप्रोड्युस’ भन्ने निबन्धांशमा पूर्णतः समर्थन गरेका छन्। इच्छालाई प्रजनन इन्द्रियबाट नै प्रभावित हुने कुरा उनले बताएका छन्। प्रजनन इन्द्रियहरु नै इच्छाशक्तिको केन्द्र हो र यो मस्तिष्क भन्दा विरोधी दिशामा हुन्छ। वास्तवमा प्रजनन इन्द्रिय जीवनलाई स्थिर राख्ने शक्ति हो र यसले जीवनको अनन्त श्रृंखला तयार गर्छ। शापेनहावरले इच्छाक्तिलाई अन्ततः ‘लिंगम्’ को उदाहरण दिँदै यौन संभावनाको अनन्त शक्तिका रुपमा व्याख्या गरेका छन्। युनानवासीहरुको ‘फलस’ र हिन्दूहरुको ‘लिंगम्’ नै इच्छाको श्रोत मान्दै स्त्री पुरुषको सम्बन्धलाई नै सम्पूर्ण कर्म एवं आचरणको अदृश्य केन्द्रविन्दु मानिएको छ। यही कारणबाट युद्ध हुन्छ, यही कारणबाट शान्तिको समाप्ति हुन्छ। यही नै गम्भीरताको आधार पनि हुन्छ र यही परिहासको बिषय पनि हुन्छ। यही नै हँसीमजाकको अविध्वंसी आधार हुन्छ र सवै प्रकारका भ्रमको कुञ्जी तथा सबै रहस्यात्मक संकेतहरुको अर्थका रुपमा पनि शापेनहावरले व्याख्या गरेका छन्। उनले शरीरको सम्पूर्ण क्रियालाई नै संकल्पको आत्मप्रकाश भनेका छन्। 

यसरी ज्ञानका बिषयमा प्रत्यक्ष रुपमा केही नबोले पनि इच्छा शक्ति नै ज्ञान र भौतिक सत्ताको संयुक्त अभिव्यक्तिका रुपमा शापेनहावरले व्याख्या गरे। तर पूर्वीय सिद्धान्तको सर्वाधिक प्रभावशाली स्कूल वेदान्तमा भने इच्छा या संकल्पलाई खासै महत्व दिइएको छैन र ब्रह्म अथवा ज्ञान नै सर्वोपरी सत्ता हो भन्ने बिचारलाई अघि सारिएको छ। जगत्मा देखिएका या बोध गरिएका जति पनि वस्तुहरु छन् ती सबै धाराबाहिक बुद्धिबाट ज्ञानदशामा पुग्छ र हामीलाई बोध हुन्छ भन्ने वेदान्तको तर्क छ। तर सौन्दर्यशास्त्रीहरु यो तर्कलाई मान्न तयार छैनन् र उनीहरु जहाँबाट पनि कलाको जगत्मा पुग्ने प्रयत्न गर्छन्। सारा वस्तुको सत्ता कलामा सन्निहित छ र कला नै ब्रह्माण्ड हो भन्ने उनीहरुको तर्क छ। विशेष कला अथवा सौन्दर्य एउटा बोधको अवस्था हो र त्यही बोध नै ज्ञान हो । ज्ञानलाई उनीहरु आनन्दका रुपमा लिन्छन्। जब आनन्दावस्थाको उत्कर्षमा पुगिन्छ तब ज्ञानको पूर्णतामा हामी पुग्न सक्छौं भन्ने उनीहरुको धारणा छ। यसरी हेर्दा जुनसुकै सम्प्रदायहरु पनि ज्ञानलाई अन्तिम सत्ता त मान्छन्, तर त्यस अघिका प्रक्रियाहरुमा मात्रै झगडा गर्छन् ।