'नेताहरुलाई कति स्पष्टीकरण दिँदै हिँड्नु भनेर पिउन छोडिदिएँ'

२०७६ श्रावण १५ बुधबार २१:५८:०० मा प्रकाशित

  तपाईं कस्तो परिवारको सदस्य हो ? 

म मध्यमवर्गीय परिवारको सदस्य हुँ ।

  तपाईँको बाल्यकाल कसरी बित्यो ? 

 हामी मध्यमवर्गीय परिवारको मान्छे ।  हाम्रो परिवार पढेलेखेको परिवार हो । बुवा ०२५ सालमा बित्नु भो ।  बुवाको त्यो जमाना राणा शासनकै समय थियो । हाम्रो बुवा मानिसहरुलाई पढाउँदै हिँड्नुहुन्थ्यो । स्कूलहरु खोल्नुपर्छ भन्नुहुन्थ्यो ।  आफ्ना गाउँमामात्र होइन अन्यत्र पनि यसो गर्नुहुन्थ्यो रे । स्कूलहरुलाई चन्दा दिनुहुन्थ्यो रे । बुवा बितेपछि आमाले हामीलाई शिक्षादीक्षा दिनुभयो । 

 त्यसोभए तपाईँहरु त्यहाँंको हुनेखाने परिवार हो ? 

त्यो बेलाको हिसाबले हुनेखाने नै हो,अहिलेको हिसाबले मध्यम वर्ग । 

 स्कूल पढ्दा कत्तिको अभाव झेल्नु पर्यो ? 

 खान लाउन नै नपाउने अवस्थाको अभाव त भएन । म ७ कक्षासम्म आफू जन्मेको गाउँमा पढेँ । त्यसपछि दशसम्म संखुवासभाको मादीमा गएर पढेँं । त्यो चाहिँ मेरो घरबाट डेढदिन जतिको पैदलबाटोमा पर्छ । त्यो बाटोमा हामी चामल तरकारी बोकेर लिएर जान्थ्यौं, उतै डेरामा बस्थ्यांै । हामी आफंै पकाएर खान्थ्यौ । स्कूल पढ्न बस्दा दुईखाले तरकारी वा दालभात कहिल्यै खाईएन । सामान्यतया एउटै तरकारी खान्थ्यौं । कहिले स्कुसमा झोल हालेर खान्थ्यौं । कहिले गुन्द्रुकको झोलसँग भात खान्थ्यौं ।

 त्यसरी बस्दा मासुभात पनि त खानुभयो होला ?

 खान त खाईयो । तर पर्याप्त खाईएन । चाहेको जति खान पैसा पनि हुँदैनथ्यो । गाउँमा त धान चामल पो हुन्थ्यो । तर पैसा त हुँदैनथ्यो नि !

 घर बसेको बेला चाहिँ के काम गर्नुहुन्थ्यो ?

 गाउँमा गर्ने सबै काम गरें । घाँंस काटें ।  गाई भंैसी दुहें । हलो जोतें । काम नगरेको धेरै भएकोले अहिले जोत्न चाहिँ अलि कठिन होला । तर जोत्नु पर्यो भने पछि हटिँदैन ।

 स्कूल पढ्दा सबैभन्दा बढि खर्च कतिसम्म गर्नुभएकोछ ?

 स्कूलमा फिस तिर्ने हो । अरु फजुल खर्च केहि गरिएन । आठ नौ दश पढ्दा बजारमा जाने चामल किनेर ल्याउने गरियो । त्यो बेला बाहिर चिया पसल पनि  हुँदैनथ्यो । त्यसो भएपछि चिया खाने कुरै भएन । कहिलेकाहिँ हाट लाग्थ्यो । त्यहाँ गएर जुलेवी र सेल किनेर  खुव मज्जाले खाईन्थ्यो । त्यसबेला भने कस्तो मज्जाले खान पाईयो भन्ने खुशी जस्तो लाग्थ्यो ।

 जुलेवी र सेलको चाहिँ कति मूल्य पथ्र्यो ?

 त्यस्तै २५ पैसा र आठआना ।

 स्कूलमा तपाईँ कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?

 म सामान्य र सोझो खालको विद्यार्थी थिएँं । मैले बद्मासी गरेको भनेर मास्टरले कहिल्यै सिकायत गरेनन् । स्कूल पढ्दा सानातिना चक्चक् त  गरियो । कसैको सुन्तला काँक्रा चोर्न जाने काम चाहिँ गरियो । सुन्तला र काँंक्रा चोरेको छु मैले ।

 एक्लै चोर्नु भो कि साथीहरु मिलेर ?

 चोर्न पनि साथीहरुसँगै मिलेर गईयो । खान पनि बाँंडेर खाईयो । कहिलेकाहिँ एक्लै पनि चोरियो ।

 चोरेको बेला सुन्तला र काँंक्रा धनीको फेला परिएन ?

 त्यसरी फेला त परिएन । तर मादीमा बस्दा एउटा रमाईलो घटना भएको छ । एकजना दाहालको सिंगै घर खाली थियो । त्यसमा एकजना बूढी आमा बस्नुहुन्थ्यो । त्यसमा हामी डेरा बस्थ्यौं । आमाले हामीलाई पनि भरोसा गर्नुहुन्थ्यो । आफ्नै छोरा जस्तो गर्नुहुन्थ्यो । परीक्षाको बेला हामी रातीसम्म पढ्थ्यौं । अरुबेला दशबजे सुत्थ्यांै । परीक्षाको बेला १ बजे रातिसम्म पढ्थ्यांै । त्यो घरमा खुव सुन्तला फल्थ्यो ।  अनि आमा सुतेपछि हामी सुन्तला चोथ्र्यांै । रुखमा चढेको बेला आमैले भित्रबाट को हो ? त्यहाँ को छ भनेर कराउनु हुन्थ्यो । तर आमै बिहानमात्र बाहिर निस्कनु हुन्थ्यो । अनि भन्नुहुन्थ्यो– ‘लौ हेर, यहाँका सुन्तला चोरेछन्, तिमीहरुले हेर्नु पर्दैन ।’ अनि हामी जवाफ दिन्थ्यो– ‘आमा हामी पनि त भुसुक्कै निदाएछौं ।’ 

 स्कूलमा गल्ति गरेर कहिल्यै डेस्कमाथि उभिनु भएको छ ? 

 छ नि ! समयमा स्कूल नपुग्दा र होमवर्क नगर्दा यस्तो सजाय भोगिएको छ । हर्कराज चेम्जोङ हेडसर हुनुहुन्थ्यो । उहाँ राम्रो पनि छुच्चो पनि हुनुहुन्थ्यो । उहाँसँग स्कूलको चावी हुन्थ्यो । त्यो चावीको झुप्पाले धेरैपटक पिट्नु भएको छ । उहाँले पिट्नु पनि भएको छ । उठबस पनि गराउनु भएको छ । कुखुरा पनि बसाउनु भएको छ । 

 स्कूलको जीवनमा तपाईँले नबिर्सने घटना के छ ?

 हामी स्कूलमा लाङ्लात्ती (खुट्टा जुधाएर खेलिने स्थानीय खेल) खेल्थ्यौ । यस्ता घटना अहिले पनि याद आईरहन्छ ।

 माथिल्लो कक्षामा गएपछि त यसो केटी साथीहरुसँग पनि आँखा लडाईयो होला नि ?

 हामी गाउँ छोडेर पढ्न गएकोले ध्यान पढाईमा मात्र थियो । अलिअलि राजनीतिक चेतना पनि शुरु भएको थियो । हाम्रो त्यतातिर  ध्यानै गएन । कुनै केटीले प्रस्ताव पनि राखेनन् । 

 कलेजमा नि ? 

 मैले काठमाडौंको महेन्द्ररत्न ताहाचलबाट कलेज जीवन शुरु गरेको हो ।

 कलेजमा पढ्दा त निकै प्रस्ताव आए होला नि ? 

कलेजमा पढ्दा म सानो थिएँ । गाउँबाट आएको राम्रोसँग लुगा पनि लाउन नजान्ने । कतिपय केटीहरुले जिस्कँदा ‘कस्तो खेलौना जस्तो मान्छे’ भन्थे मलाई । तर कसैसँग कुनै लभ गरागर भएन ।

 प्रेम पत्र लेखालेख पनि भएन त ?

 कसैले पनि मलाई प्रेम पत्र लेखेन । मैले पनि लेखिन । आजकालको जस्तो मोवाईल भएको भए एसएमएस आदानप्रदान हुन्थ्यो होला । 

 कलेज पढ्दाको नबिर्सने घटना ?

 कलेज पढ्न थालेपछि राजनीतिमा बढि लागियो । आईएड पहिलो वर्षमा मात्र नियमित कक्षा लिईयो । त्यसपछि प्रहरीले पनि लखेट्न थाल्यो । डेरा पनि कहिले कता कहिले कता हुनथाल्यो । केपी ओली, मोहनचन्द्र अधिकारी, आरके मैनालीहरु जेलमा थिए । उनीहरुलाई रिहा गर भनेर राती भित्ता लेखिन्थ्यो । एकपटक प्रहरीले बिष्णुमतिमा हामीलाई लखेट्यो । त्यहाँ चाहिँ धेरै सुँगुर पाल्दा रहेछन् । अनि हामी दौडिएपछि सुँगुर पनि हा हा र हु हु गरेर कराए । एकदिन न्यूरोड गेटमा राती भित्ता लेख्दै थिएँ । प्रहरीले लखेटी हाल्यो । भागेर जाँदा एउटा ढोका खुल्ला देखेर पसेँ । त्यो त ट्वाईलेट पो रहेछ ! राती १ बजेदेखि बिहान उज्यालो हुँदासम्म त्यहाँभित्रबाट चुकुल लगाएर बसेँ ।

 प्रहरीसँगको लुकामारीको रमाईलो सन्दर्भ होला नि ? 

त्यसबेला प्रहरी पनि गजब गजबका हुन्थे । हामी ‘निरंकुश पंचायती व्यवस्था मुर्दावाद’ लेख्थ्यौं । पछि प्रहरीले ‘मुर्दाबाद’ मेटेर जिन्दावाद लेख्थे । उसलाई ‘जिन्दावाद’ भए पुग्यो ।  निरंकुश चाहिँ बाँकी नै रहन्थ्यो । उसले मुर्दावाद मेटेपछि बाँकी रहन्थ्यो ‘निरंकुश पंचायती व्यवस्था जिन्दाबाद !’ 

 रक्सी खानुभयो ?

 खाएँ नि, धेरै नै खाएँ । लिम्बु गाउँको मान्छे । रक्सी,कुखुराको मासु,सुँगुरको मासु खाईयो । भोजभतेरमा जाँदा नखाउँ भन्दाभन्दै त्यहींबाट  सिकियो । पछि क्याम्पस आएपछि हामी केहि साथीहरु मिलेर खान्थ्यांै । खानुपर्ने भन्दा ज्यादा पनि खाईयो । मात्ने गरि पनि खाईयो । पुतलीसडकमा खाएर हामी मातेको धेरैले देखेका छन् ।

 रक्सी खाएर मातेको रमाईलो घटना सुनाउनु न !

 धेरै रमाईला कुरा छन् । एकपटक तिहारमा अखिलको देउसी खेल्यांै । देउसीको अन्तिम दिन केही साथी मिलेर ठमेलमा रक्सी खायांै । ठमेलतिर धेरै रेष्टुरेन्ट बन्द भएका थिए । २ बजे रातिसम्म रक्सी खायौं ।  विष्णु पन्थी भोटेबहालमा बस्नुहुन्थ्यो । हामी पिएर उहाँसँगै गएका थियौं तर उहाँले आफू बसेको घर पत्ता लगाउन सक्नुभएन, हामीले पनि पत्ता लगाउन सकेनौं । त्यसपछि उहाँले बहिनीलाई नाम काढेर बोलाउनु भयो । त्यसमा थपेर हामीले पनि कोही छ बाहिर आईज भन्दै हल्ला मच्चायौं । यो एउटा बिर्सन नसकिने घटना हो ।

 तपाईँहरुको त्यसबेलाका मदिरा पार्टनर को को हुन् नि ?

 यो कुरा भन्दा कसैलाई नोक्सान नगरोस् । तर हामी खानेहरुको राम्रो टिम थियो । रामनाथ ढकाल र भानुभक्त ढकाल हुनुहुन्थ्यो । शंकर पोखरेल चाहिँ रक्सी खाने ग्याङमा त्यति आउनु हुन्थेन । राजन भट्टराई, केशव पाण्डे, पनि हुुनुहुन्थ्यो । पछि रवीन्द्र अधिकारी पनि मिसिनु भो ।

 यो टिममा सबैभन्दा पहिला कसलाई लाग्थ्यो ?

 सबैभन्दा छिटो विष्णु पन्थीलाई लाग्थ्यो । आजकाल त बिष्णु दाईले पनि छोड्नु भयो भन्ने सुनेको छु । मैले पनि छोडें ।

 रक्सी खाँदा बिल कसले तिथ्र्यो ?  

 सबैले तिथ्र्यों । जोसँग बढि पैसा छ उसले बढि तिथ्र्यो । समाजवादी प्रणाली थियो हाम्रो । 

 रक्सी खाँदा चाहि कस्ता कुरा हुन्थे ? 

 सबैखाले कुरा हुन्थे । राजनीतिका कुरा हुन्थे । कहिलकाहिँ नेताहरुलाई पनि उडाउँथ्यांै । केटीहरुका बारेमा कुरा गथ्र्याैं तर छाडा थिएनौं । 

रक्सी खान छोड्नु भएको कति भो ? 

२०६५ साल मंसिर १४ गते अन्तिम पटक  खाएँ। १५ गते देखि छोडें ।

 त्यस्तो के बिशेष घटना भयो र छोड्नु भयो ? 

 बिहेपछि मैले धेरै खान छोडेको थिएँ। थोरैथोरै खाईन्थ्यो । नेताहरुमा हामी माथिको धारणामा यी जँड्याहा हुन्,रक्सी खान्छन् भन्ने लाग्दो रहेछ । हामी बलियो राजनीतिक आन्दोलबाट आएकाले सिधै हेप्न नसक्ने । आजकालका बिद्यार्थी नेताहरुलाई जस्तो पार्टीका नेताले हामीलाई हेप्दैनथे । तर पछिपछि हामीलाई उडाउँथे । पछिल्लोकालमा मैले धेरै नै छोडिसकेको थिएँ । एकदिन पार्टीका कार्यबाहक महासचिव झलनाथ खनालले बोलाउनु भयो । उहाँको स्वभाव मसिनो तरिकाले गंभीर कुरा गर्ने खालको छ । उहाँले अव यो पार्टी तपाईंहरुकै हातमा छ । तपाईंहरु सक्षम हुुनुहुन्छ, गर्न सक्नुहुन्छ भन्दै जानु भयो । अन्तिममा उहाँले तपाईँको अलिकति खानपिनमा कमेन्ट आएको छ भन्नुभयो । तर त्योबेला बसेको ठाउँमा एक पेग भन्दा खाने गरेको थिईन । लगभग छोडिसकेको थिएँ । तर पनि कसैलाई जँड्याहा भनेर नेतालाई पोल लाउने मौका मिलेछ । अनि यसो सोचें जाबो एक पेग खाएर नेताहरुलाई म जँड्याहा होइन भनेर कति स्पष्टिकरण दिनु । अब खाँदै खान्न भनेर मैले खानै छोडिदिएँ ।


(नवनियुक्त मन्त्री योगेश भट्टराईसँग सरल पत्रिकाले गरेको फरक शैलीको अन्तर्वार्ता । २०७४ माघ १४ आइतबार प्रकाशित यो अन्तर्वार्ता अहिले सान्दर्भिक हुने ठानेर पुन: प्रकाशित गरिएको छ- सम्पादक ।