कवि मिश्रको ११७औँ जन्मजयन्ती उनकै जन्मथलोमा
भक्तपुर । प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ११७औं जन्मजयन्ती शुक्रबार कवि मिश्रकै जन्मस्थल सूर्यविनायक नगरपालिका–१, सिरुटार, भक्तपुरमा मनाइयो ।
युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. जीवेन्द्रदेव गिरीले कवि मिश्रले आफ्ना जीवनमा अनेक दुःख कष्ट भोग्दै नेपाली जनता र नेपालको हितका लागि कविताहरू सिर्जना गरेको बताए ।
गिरीले कवि मिश्रको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो कलमद्वारा कवि मिश्रले राणा शासनदेखि पञ्चायतको अत्यसम्म निर्भिकतापूर्वक नेपाली जनताको भाषा बोलेको, नेपाली जनताको चाहना बोलेको चर्चा गरे ।
कार्यक्रम मिश्रको प्रतिमामा माल्यार्पण गरी आरम्भ गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाको अध्यक्षता र महासचिव नन्दु उप्रेतीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा नातिवावु बुढाथोकी, गंगादास श्रेष्ठले कवि मिश्रका बारेमा आफ्ना विचार राखेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष मदनबहादुर थापाद्वारा सहभागीहरूको स्वागत गरिएको सो कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवी, वरिष्ठ कवि मञ्जुल, समालोचक प्रा. डा. पशुपतिनाथ तिमल्सेना, युद्धप्रसाद मिश्र प्रतिष्ठानका प्रथम संयोजक त्रिरत्न शाक्य, जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीको सहभागिता थियो ।
यसैगरी, बुढानिलकण्ठ नगरपालिका उपमेयर कवि अनिता लामा, गायक माधव प्रधान, कवि वासुदेव अधिकारी, गायक, संगीतकार अशोक राई, कवि लक्ष्मी माली, प्रगतिशील लेखक संघका उपाध्यक्ष नमुना शर्मा, महासचिव डा. देवी दुलाल छेत्री, कवि सुशीला प्रधानाङ्ग, सूर्यविनायक नगरपालिका-१ का वडा अध्यक्ष सानुकाजी कायस्थको पनि कार्यक्रममा सहभागिता थियो ।
वरिष्ठ मनोरोग विशेषज्ञ कवि अनन्त अधिकारी, कवि स्नेह सायमी, कवि लक्ष्मी माली, कवि राधा दुलाल कार्की, कवि खेमराज निरौला, कवि सीता शर्मा, डा. पद्मा अर्याल, कवि डम्बर पहाडी, कवि विन्दु ढकाल, चण्डीका मिश्र, कवि लक्ष्मी थापा, कवि रामशरण न्यौपाने, कवि जनार्दन न्यौपाने, कवि मुकुन्द पोखरेल, गायक जितेन्द्र चौधरी, कवि तारा गाउँले, दीपक श्रेष्ठ, कुमार रञ्जितले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
यसैगरी, कमला कोइराला खनाल, सिस्नोपानी नेपालका देवी घिमिरे, प्राध्यापक कुलराज निरौला, कवि प्रशान्त खरेल, नियात्राकार पोषरमण चापागाईं, देवी मैनाली लगायतको बाक्लो स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।
कार्यक्रममा गायक माधव प्रधान र जितेन्द्र चौधरीले युद्धप्रसाद मिश्रद्वारा रचित चर्चित गीत ‘रक्तक्रान्तिको ज्वालामुखीमा’ प्रस्तुत गरेका थिए भने त्रिरत्न शाक्य, लक्ष्मी थापा, रामशरण न्यौपाने, जनार्दन न्यौपाने, मुकुन्द पोखरेल, लेखप्रसाद निरौला, अविकेशर वली, तिला लेकाली र डम्बर पहाडीले आफ्ना तथा कवि मिश्रका कविता वाचन गरेका थिए ।
कक्षा एककी विद्यार्थी दीप्तिना आचार्यले राष्ट्रगान प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका सहभागीलाई दुर्गामोहन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।
वि. सं. १९६४ पुस २७ गते भक्तपुर, सिरुटारमा जन्मिएका कवि युद्धप्रसाद मिश्रको २०४७ फागुन ६ गते निधन भएको थियो । मिश्रले आफ्ना कविताहरूमा प्रकृति र जनजीवनका विविध पक्षलाई जीवन्त रूपमा प्रकट गरेका छन् ।