पूर्वका मेडिकल कलेजमा यो वर्ष ३५० जनाले एमबीबीएस पढ्न पाउने

विराटनगर । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा कार्यक्रमको स्नातक तहका लागि देशभरका संस्थालाई सिट बाँडफाँट गरेको छ । आयोगले चिकित्सा शिक्षाका स्नातकका तहका सबै कार्यक्रमका लागि सरकारी र निजी शिक्षण संस्थाहरूलाई ८ हजार ७० सिट बाँडफाँट गरेको हो ।

त्यसअनुसार पूर्वका चारवटा संस्थाले ३५० जना विद्यार्थीलाई एमबीबीएस अध्यापन गराउन पाउने भएका छन् । झापाको बिर्तामोडस्थित बीएण्डसी कलेजले ५० सिटको अनुमति पाएको छ । विराटनगरको नोबेल मेडिकल कलेज‚ विराट मेडिकल कलेज र धरानको बीपी प्रतिष्ठानले १०० १०० सिट पाएका छन् । 

एमबीबीएसतर्फ २ हजार १४० सिट बाँडफाँट गरिएको छ । आयोगले पहिलोपटक एमबीबीएसतर्फ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५०/५० सिट दिएको छ ।

यसैगरी, दुर्गा प्रसाईंको झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले पनि ५० सिट पाएको छ । एमबीबीएसतर्फ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६५ सिट दिइएको छ भने महाराजगन्ज मेडिकल क्याम्पस, युनिभर्सल मेडिकल कलेज, नोबेल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपाल मेडिकल कलेजले सय सिट पाएका छन् ।

यस्तै, नेशनल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १००/१०० सिट पाएका छन् । आयोगले देवदह मेडिकल कलेजलाई ७५ सिट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जानकी मेडिकल कलेजलाई ५०/५० सिट एमबीबीएस अध्यापन गराउने अनुमति दिएको छ ।

यसैबीच, लामो समयदेखि विवादमा परेको झापाको बीएण्डसी कलेज टिचिङ एन्ड रिसर्च प्रालिले ५० जना विद्यार्थी पढाउन पाउने भएपछि त्यसको तयारी गरिएको जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनका अनुसार अध्यापनको स्वीकृति पाउन लामो समय प्रतीक्षा गर्नु परे पनि अब भने सहज भएको छ । बिर्तामोड नगरपालिका–५ मा चिकित्साशास्त्र स्नातक तह अध्यापन गराउने उद्देश्यले २०७१ फागुन १८ देखि ३०० शय्याको अस्पतालसहित उक्त कलेज सञ्चालनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *