‘जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यले विकास सम्भव’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने बताएका छन् । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने उनको भनाइ थियो । ‘जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ । तब मात्रै देशको विकास हुन्छ,’ मेयर कोइरालाले भने, ‘जनप्रतिनिधिले नीति नियम निर्माण गर्ने हो । त्यसको कार्यान्वयन गर्ने भनेको कर्मचारीहरूले नै हो ।’

कर्मचारी स्थायी सरकार भएको बताउँदै स्थायी सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए । जनप्रतिनिधिहरू ५–५ वर्षमा जनताबाट अनुमोदित हुनुपर्ने बताउँदै मेयर कोइरालाले भने, ‘कर्मचारीहरूले एकपटक लोकसेवा पास गर्दा भयो तर राजनीति गर्ने हामीले त ५–५ वर्षमा जनअनुमोदित हुनुपर्छ । कर्मचारीहरूले जनतालाई दिने सेवा र कामसित जनप्रतिनिधिको भविष्य जोडिएको हुन्छ ।’

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले निजामती कर्मचारीहरू व्यावसायिक हुनुपर्नेमा जोड दिए । उनले दिवसका दिन एकपटक हरेक कर्मचारीले आत्मसमीक्षा गर्नु जरुरी रहेको स्पष्ट परे ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निजामती कर्मचारीहरू अझै पनि व्यावसायिक हुन नसकेको बताए । ‘हामी निजामती सेवामा रहेका कर्मचारीहरू कोही पनि कमजोर छैनौँ । सबैको क्षमता छ,’ उनले भने, ‘तर अझै पनि हामी व्यावसायिक हुन सकेका छैनौँ ।’

सरकारी कर्मचारीहरूले स्रोत र साधनको अभावका बीच पनि जनतालाई दिने सेवामा कुनै कमी नराखेको भट्टराईको भनाइ थियो । उनले भने, ‘निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू एसीमा बसेर काम गर्छन् । उत्तिकै क्षमता र दक्षता भएको सरकारी कर्मचारी भने तरतरी पसिना चुहाउँदै जनताको सेवा गरिरहेका हुन्छन् । थुप्रै समस्याहरू छन् ।’

कार्यक्रममा निजामती कर्मचारी युनियनका मोरङका अध्यक्ष कृष्ण भट्टराई, आधिकारिक ट्रेड युनियनका अध्यक्ष फडिन्द्र अधिकारी, एकीकृत सरकारी कर्मचारी सङ्गठनका सचिव नेत्र खतिवडा, शालिकराम कोइराला, काशी पराजुलीलगायतले ७ वर्षदेखि निजामती कर्मचारी ऐन संशोधन नहुँदा कर्मचारीहरू अन्यायमा परेको विचार व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *