विराटनगरमा ‘नीलाम्बरको आकाशयुद्ध’

विराटनगर । विराटनगरमा आज शनिबारदेखि विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको छ ।

महोत्सवको विराटनगर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेल र महोत्सव निर्देशक भैरव क्षेत्रीले संयुक्त रुपमा महोत्सव उद्‌घाटन गरेका थिए । आइतबारदेखि विद्यालयहरूको नाटक मञ्चन शुरु हुनेछ । भदौ ३१ गतेसम्म हुने बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी र रङ्गेलीका ९ विद्यालयहरूले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् ।

आज प्रदर्शन गरिएको ‘नीलाम्बरको आकाशयुद्ध’ मा मानवीय अस्तित्वको खोजी मूल कथा थियो । नाटकले दर्शकलाई आफ्नो अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्दै आत्मनिरीक्षण गर्न उत्साह भरेको थियो । नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदिप दाहाल, दीक्षा चौधरी, अमिशा वाग्ले, निशान चौहान राई लगायतले अभिनय गरेका थिए । भोलि आइतबार ग्रेडेड इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलले ‘बुद्धिमानी आमा’ मञ्चन गर्नेछ ।

त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले ‘छिमेकी’, आदर्श माध्यमिक विद्यालयले ‘भविष्य निर्माण’, ग्रिनल्याण्ड सेकेन्डरी स्कुलले ‘रङ’, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गर्नेछ ।

यस्तै, नमुना विद्या मन्दिरले ‘जिम्मेवारी कसको ?’, मोरङ ज्ञानोदय सेकेन्डरी इङ्ग्लिस स्कुलले ‘स्मार्ट बन्द’, सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले ‘ज्ञ’ र श्री एकता सेकेन्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गर्नेछ । महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको आरोहणले जनाएको छ ।

विद्यालय नाटक महोत्सवका लागि १० वटा नाटक छानियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *