मजस्तै अनिँदो रात

आजकल रात
मजस्तै अनिँदो बस्छ ।
मसँग खै केही
साइनो छ झैँ गरी ।
रात मेरो मौनतामा
चकमन्न भएर
मेरै सामुन्ने ठिङ्ग उभिएको छ ।

मेरो सामु उभिएको
अत्यासलाग्दो रात देखी
म किञ्चित
डराएकी छैन ।

तर म उसलाई
भावविहीन खल्लो
अनि उदास देख्दै छु ।
यो रात कुनै बेला
अत्यासलाग्दो
अनि डरमर्दो थियो ।

मैले धेरै पटक
यसको अजङ्ग रूप देखेकी छु ।
एउटा बलिष्ठ
बाहुपासमा पहिलो पटक कसिँदा
म यही रात सामु
कहालिएकी थिएँ ।

पहिले पहिलेका
डरलाग्दा रातहरुसँग
विस्तारै अभ्यस्त हुँदै गएँ ।
डरलाग्दा रातहरू विस्तारै
रोमाञ्चक हुँदै गए ।
मलाई तिनै मदहोस
रातहरूको लत बस्दै गयो ।  

म पहिलो पटक
आफ्नो उन्मुक्तता देखेर
यही रात सामु लजाएकी थिएँ ।
धेरै रातहरूलाई
साक्षी राखेर म
पीडा अनि रोमाञ्चकतामा
अन्तरघुलन भएकी थिएँ ।

आवेगमा गरिएका
सबै कर्महरू सम्झेर
म एक्लै कति पटक यही
रातसँग लजाएकी छु ।
बितेका पलहरू अनि
फेरिएका रातका फेहरिस्त
सम्झँदा मलाई अहिले पनि सर्म लाग्छ ।  

मैले पछिल्ला
फरक फरक परिवेश
यही रातका सामुन्ने भोगेकी छु ।
मसँग रात अभ्यस्त छ
म रातसँग अभ्यस्त छु
त्यसैले आजकल डर हराएको छ ।  

सफलता र प्रतिष्ठाका
पेटाराहरु बोकेर
सुरुका दिनमा
रात मलाई लोभ्याउन आउँथ्यो ।
मैले पनि
उछिन्ने र अवसर छोप्ने
नाममा त्यसलाई
स्वीकार्दै गएकी थिएँ ।  

म निश्चिन्त रमाएको क्षण
रात पनि रमाएको थियो ।
मादक बनेको थियो ।
यस्तो लाग्थ्यो
प्रहर नझरेको भए हुन्थ्यो,
रात नढलेको भए हुन्थ्यो ।

हुबहु साँच्चै लाग्ने
आश्वासन लिएर आउने
रातहरुसँग आजकल म अघाएकी छु ।
झुटा सपना बाँड्ने
अनि बाचालाई
पालना नगर्ने रातसँग
मलाई कुनै सम्बन्ध जोड्नु छैन ।

त्यसैले मेरै सामु उभिएको
यो रातसँग मलाई
कुनै पर्वाह छैन ।
आश्वासनमा भुल्याएर
मेरो कायामाथि लम्पसार रात ।
केही थोपा वीर्य स्खलित गरेर
आफू विजयी भएको भानमा रहन्छ ।
त्यसैले मलाई नै अनिँदो राख्ने
रातहरु मैले चिनिसकेकी छु ।

खबरदार…!
कुनै पनि बहानामा
मलाई चिस्याउन रात तिमी नआऊ ।
मेरो यौवन भोगिएको समय
मलाई मादक भएर हेर्ने रातहरू,
तिमीसँग मेरो कुनै नाता छैन
नत कुनै साइनो नै ।

त्यसैले म जागेको हेर्न
तिमी किन आउँछौ
तिमीलाई लाग्दो हो
तिम्रो कारण म जागा बसेकी हुँ ।
भ्रम त्याग रात,
म त त्यसै जागा बसेकी हुँ ।

आफूलाई एक्लै जागा
बनाउने अभ्यास गरिरहेछु म ।
कुनै बेला गुहार
मागिहाल्छे पक भन्ने लाग्दो हो तिमीलाई ।
मिथ्या म कसैलाई
हुनुको अर्थ किन दिउँ ।
त्यसैले म मेरै लागि जागा छु ।

तिमीलाई लाग्दो हो
सपनासँग डराएर
म जागा बसेकी हुँ ।
तिमी भ्रममा छौं ।

म त आजकल
खुला आँखाले नै
सपना देख्न थालिसकेँ ।
त्यसैले तिम्रो खासै
काम छैन रात ।
त्यसैले रात
तिमी मेरो सामु
हुनु र नहुनुको अर्थ छैन अब !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *