तिजको खानपिनसँगै छमछमी नाचे आश्रमका वृद्धाहरू

विराटनगर । विराटनगर–१० तीनटोलियास्थित मानवसेवा आश्रममा आश्रितहरूसँग महानगरपालिकाले तिज मनाएको छ । आश्रममा रहेका वृद्धाहरुसँग तिजको खानपान गरी नाचगान गर्दै तिज मनाइएको हो ।

त्यस अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले आश्रितहरूलाई शुभकामना दिएका थिए । कार्यक्रममा आश्रितसँगै अतिथिहरू तिज गीतमा छमछमी नाचेका थिए । हिन्दु नेपाली महिलाहरूको महान चाड तीजमा आश्रित दिदीबहिनीहरूसित रमाइलो गर्ने र उनीहरूभित्र रहेको पीडालाई भुलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ ।

महानगरपालिका मानवसेवा आश्रम संरक्षकसमेत हो । महिला र पुरुष राखेको दुवै भवनको घरभाडा महानगरले नै तिर्दै आएको छ । आश्रित आमा र दिदीबहिनीहरूलाई तपाईंहरूको अभिभावकका रुपमा महानगरपालिका छ भन्ने विश्वास दिलाउन कार्यक्रम आयोजना गरिएको मेयर कोइरालाले बताए ।

‘विभिन्न कारणले आश्रम बस्न बाध्य महिला दिदीबहिनीहरूलाई सिङ्गो महानगरपालिका तपाईंहरूको साथमा छ भन्नका लागि उपस्थित भएको छु’ मेयर कोइरालाले भने, ‘मानवसेवा आश्रमका लागि महानगरले विगतदेखि नै सहयोग गर्दै आएको छ र भविष्यमा पनि गर्नेछ ।’

त्यस अवसरमा आश्रितलाई तीजका विशेष परिकार खुवाउनुका साथै तीजका गीतमा नाचेर रमाइलो गरिएको थियो । महानगरका तर्फबाट मेयर कोइरालाले ८४ थान झुल, ९४ कार्टुन विभिन्न खाजाका परिकारहरू समेत प्रदान गरे ।

कार्यक्रम संयोजक पुनमकुमार दाहालले छोटो समयमा अत्यन्तै राम्रो र फलदायी कार्यक्रम भएको बताए । मानवसेवा आश्रमले महिला र पुरुषलाई बेग्लाबेग्लै स्थानमा राखेको छ । तीनटोलियाको आश्रममा २ वर्षका बालबालिकादेखि ९२ वर्षका ज्येष्ठ महिलाहरूले आश्रय लिएको प्रवीण खड्काले जानकारी दिए । वन कार्यालय छेउको रहेको आश्रममा ७० जना पुरुषलाई राख्ने व्यवस्था मिलाइएको आश्रमकी पार्वती तिवारीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *