मेरो सपना

मानव बेचविखन विरुद्धको दिवस मनाइरहँदा…

मलाई यतिखेर

दिल्लीको कोठीमा
आफ्नै श्रीमानद्वारा बेचिएकी
काइँलीको सम्झनाले सताइरहेछ ।
प्रत्येक दिन
उनको श्वास सहितको लासलाई
हजारौँ घृणित व्यक्तिहरूले चुसिरहेछन् ।
उनका भावनाहरू खुकुरीको धारमा
रेटिइरहेका खुसी झैँ छियाछिया भइरहेका छन् ।
उनको यो कहालीलाग्दो चिच्याहटलाई मुक्त गर्न सकिएला ?

मलाई यतिखेर

काठमाडौँको डान्सबारमा काम गर्न बाध्य
साइँलीको यादले तड्पाइरहन्छ ।
आमालाई पाल्ने आशमा
नाम फेरेर, लुगा फेरेर,
अनुहार र जिउ फेरेर
ती गिद्धे आँंखाका वरिपरि
नाचेको नाटक गर्न उनी बाध्य छिन् ।
उनको यो बाध्यतालाई
कुनै दिन सम्ंवोधन गर्न सकिएला ?

मलाई यतिखेर

तीस हजार पाउने आशमा
आफ्नै मर्गौला बेच्न तयार
माइलीको सपनाले तर्साइरहेछ ।
आफ्नै अङ्ग काटेर दिएर भए पनि
आफु खुसीसँग बाँच्ने अनि
परिवारलाई खुसी दिन उनी विवस छिन् ।
उनको यो विवशतालाई कुनै दिन बुझ्न सकिएला ?

मलाई यतिखेर

काठमाडौँकै क्याबिन रेष्टुरेन्टको
कुनामा बसेर ग्राहकलाई आफ्नो
तन सुम्पिन बाध्य भएकी
कान्छीको यादले मन भरिएको छ ।
१५ वर्षमै विवाह, १७ मै डिभोर्स अनि
बच्चा पाल्नुपर्ने बाध्यताको अगाडि
यो घृणित छुवाइलाई सहन बाध्य छिन् ।
उनको यो बाध्यतालाई सुनेर
कुनै दिन न्याय दिन सकिएला ?

त्यसैले मेरो एउटा सपना छ

कुनै दिन काइँलीहरु कोठीबाट फर्किएर
नेपाल आउन्, न्याय पाउन्
र, ससम्मान जीवन बाँचुन् ।
कुनै दिन साइँलीहरुले नाचेको नाटक गर्न नपरोस्
यौन उत्पीडन सहन नपरोेस्
र, डान्सबारमा काम गर्छु भनेर गर्वका साथ भनुन् ।

कुनै दिन माइलीहरुले खुसी खोज्दै
आफ्नो शरीरको टुक्रा झिकेर बेच्न नपरोस् ।
कुनै दिन कान्छीहरुले
आफ्नो शरीर कसैलाई सुम्पिनु नपरोस्
शरीर छुवाइदिए बापतको ज्याला लिने काम गर्नु नपरोस् ।
सवै महिलाले आफ्नो शरीर
केवल आफ्नै हो भन्ने महसुस हृदयबाटै गर्न सकुन् ।
कुनै दिन महिला वा केटी भनेका पनि मानव नै हुन्
यिनलाई मानवकै ब्यवहार गरिनु पर्छ
भन्ने भावना सम्पूर्ण ब्यक्तिहरुमा जागृत होस् ।

(सन्दर्भः मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *