‘विष खुवाएर दुई नाबालिका छोरीको हत्या’

विराटनगर । एक महिलाले आफ्ना दुई छोरीलाई विष खुवाएर हत्या गरेको खुलेको छ । मोरङको सुन्दरहरैँचामा रहेको केराघारीभित्र दिदीबहिनी गत शनिबार मृत अवस्थामा भेटिएका थिए ।

सुन्दरहरैँचा–७ मा रहेको केराघारीभित्र एक वर्षीया आयंका र तीन वर्षीया अर्पणा कार्की मृत फेला परेका थिए । उनीहरूकी आमा अस्मिता पौडेल कार्की त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । उनलाई झापाको बिर्तामोडमा फेला पारेर बुधबार बिहान विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट अस्मिताले नै छोरीहरूलाई विष खुवाएर हत्या गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसैबीच, मोरङ प्रहरीले बुधबार उनलाई सार्वजनिक गरेको छ । त्यस क्रममा उनले छोरीहरूलाई विष खुवाएको र आफूले पनि खाएको स्वीकारेकी थिइन् । आफूले पहिले विष खाएको अनि त्यसपछि छोरीहरूलाई पनि खुवाएको बताइन् । श्रीमानले आफूलाई धेरै यातना दिने गरेको पनि उनले गुनासो गरिन् ।

अस्मिता धनकुटाको पाख्रिबास घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी श्रीमती हुन् । दम्पतीबीच विवाद भएपछि उनी दुवै छोरीलाई लिएर घरबाट हिँडेकी थिइन् । केराघारीभित्र बालिकाहरू मृत फेला परेको स्थान नजिकै मेटासिट नामको विषादी फेला परेको थियो ।

यस्तो छ प्रहरीको प्रारम्भिक अनुसन्धानको नतिजा–

–अस्मिता पौडेल (कार्की) ले मिति २०८१–०५–१४ गते १८ः३० बजेको समयमा श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि निजले दुईवटी छोरीहरू साथमा लिई वारदात स्थानमा गई सोही बेलुकी निजहरूलाई बिष सेवन गराई कर्तव्य गरी मारी वारदात स्थानमा रहेको केरा बगानमा राखी थोरै मात्रामा बाँकी रहेको विषादी आफूले पनि सेवन गरी सो स्थानबाट म हिँडेकी हुँ भनी बताएकीले निजैले निजका छोरीहरू १ वर्षकी आइका कार्की र ३ वर्षकी अर्पणा कार्कीलाई विषादी सेवन गराई कर्तव्य गरी मारी फरार भएको भन्ने खुल्न आएको ।

–बारम्वार श्रीमान श्रीमतीबीच घरायसी कुरामा वादविवाद हुने गरेको भन्ने खुलाएको ।

–घटनाका सम्बन्धमा अभियुक्तको श्रीमानले मिति २०८१–०५–१९ गते निजले कर्तब्य गरी नाबालिका छोरीहरूको हत्या गरी फरार भएकोमा पक्राउ परी आएकोले कानुनबमोजिम ज्यान सम्बन्धी कसुरमा कारवाही गरिपाउँ भनी किटानी जाहेरी दरखास्त दिएकोमा घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न पर्ने भएकोले सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ४ (चार) म्याद थप  गरी अनुसन्धान कार्य अगाडि बढाइएको ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *