पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित

काठमाडौँ । भारतको पश्चिम बङ्गाल राज्यले बलात्कारीलाई मृत्युदण्ड दिन सक्ने कानुन पारित गरेको छ । एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि यस्तो कानुन आएको हो ।

पश्चिम बंगालको विधानसभामा मंगलबार बलात्कारविरोधी विधेयक पारित भएको हो । नयाँ कानुनअनुसार बलात्कारका घटनाको अनुसन्धान ३६ दिनभित्र सक्नुपर्नेछ । यसबाहेक पीडित कोमामा गएमा वा मृत्यु भएमा दोषीलाई १० दिनभित्र फाँसी दिइनेछ । विधेयकलाई थप गभर्नरसमक्ष पठाइनेछ । उनको हस्ताक्षरपछि कानुन बन्नेछ ।

ममता बनर्जी सरकारले बलात्कारविरोधी विधेयकलाई ‘अपराजिता महिला तथा बालबालिका विधेयक (पश्चिम बंगाल फौजदारी कानुन र संशोधन) विधेयक २०२४’ नाम दिएको छ। यसको उद्देश्य पश्चिम बंगाल फौजदारी कानुन र संशोधन विधेयकमा परिवर्तन गरेर बलात्कार र यौन शोषणका घटनाहरूमा महिला र बालबालिकाको सुरक्षा बढाउनु रहेको जनाइएको छ ।

गत अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको थियो ।

भारतको फौजदारी संहिता मुलुकभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म प्रतीकात्मक रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । कानुनले बलात्कारमा दोषी प्रमाणित भएकालाई १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजाय तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *