विराटनगरका ५ स्थानमा ट्राफिक लाइट जडान गरिँदै

विराटनगर । ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नगरका पाँच स्थानमा ट्राफिक लाइट जडान गर्ने भएको छ । असोज मसान्तभित्र जडान गरिसक्ने गरी काम सुरु गरिएको मेयर नागेश कोइरालाले बताए ।

बढ्दो जनघनत्व, सवारी चाप जस्ता कारणले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापन सहज हुने कोइरालाको भनाइ छ । महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । तीमध्ये हाल पाँच स्थानमा जडान सुरु गरिएको महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए ।

महानगरले ७७ लाख रुपैयाँ लागतमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान तयारी गरेको हो । यसका लागि खम्बा गाड्ने काम भइरहेको छ । ट्राफिक लाइट जडान गर्न ठेक्का पाएको ई थ्री यार्सा जेभी काठमाडौँले काम गरिरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् । महानगरले ट्राफिक लाइट जडान गरेपछि विराटनगरका ६ स्थानमा ट्राफिक लाइट हुनेछ । यसअघि बरगाछी चोकमा जडान गरिसकिएको छ ।

‘बढ्दो जनघनत्वसँगै अत्यधिक सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ,’ मेयर कोइरालाले भने, ‘विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न पहिलो चरणमा ५ स्थानमा जडान सुरु भइसकेको छ ।’ उपमेयर शिल्पा निराला कार्कीका अनुसार ट्राफिक लाइट जडानपछि यसअघि महानगर क्षेत्रमा देखिँदै आएको ट्राफिक समस्या हट्नेछ ।

सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपाने बताउँछन् । अब लाइट जडानपछि भने थोरै जनशक्ति भए पनि ट्राफिक व्यवस्थापनमा सहज हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *