विद्यालय नाटक महोत्सवका लागि १० वटा नाटक छानियो

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करणमा मञ्चन हुने नाटकको सूची सार्वजनिक गरिएको छ । आरोहण गुरुकुलले हाटखोलास्थित नाटकघरमा भदौ २२ देखि शुरु गर्न लागेको महोत्सवमा नाटक मञ्चन गर्ने विद्यालय र नाटकको तालिका सार्वजनिक गरिएको हो ।

महोत्सवमा आयोजकको एक र नौवटा विद्यालयका गरी १० वटा नाटक मञ्चन हुनेछन् । नाटक प्रत्येक दिन दिउँसो २ बजे मञ्चन हुनेछ । विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट विद्यालयहरूले सहभागिता जनाउँदैछन् ।

गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा पहिलो दिन शनिबार आयोजकले सविन भट्टराईको निर्देशनमा बनेको नाटक नीलाम्बरको आकाशयुद्ध मञ्चन गर्दै महोत्सवको उद्‌घाटन गर्ने भएको छ ।

दोस्रो दिन आइतबार विराटनगरको ग्रेडेड इङ्ग्लिस मिडियम सेकेन्डरी स्कुलले मनिषा राजवंशीको निर्देशनमा तयार नाटक बुद्धिमानी आमा, तेस्रो दिन दिल्ली पब्लिक स्कुल विराटनगरले मयुरेस वर्माद्धारा निर्देशित नाटक छिमेकी मञ्चन गर्ने उल्लेख गरिएको छ ।

चौथो दिन आदर्श माध्यमिक विद्यालय विराटनगरले प्रनिशा रेग्मीद्धारा निर्देशित नाटक भविष्य निर्माण, पाँचौ दिन ग्रिनल्याण्ड सेकेन्डरी स्कुल विराटनगरले चर्चिता अधिकारी र दित्शा लुँइटेल निर्देशित नाटक रङ, छैटौँ दिन पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुल विराटनगरले रेणुका बजगाईँ घिमिरेद्वारा निर्देशित नाटक एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ ।

सातौँ दिन नमुना विद्या मन्दिर विराटनगरले पशुपति रिमालद्वारा निर्देशित जिम्मेवारी कसको ?, आठौं दिन बेलबारीको मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले विकास बुढाथोकीद्वारा निर्देशित नाटक स्मार्ट बन्द, नवौँ दिन विराटचोकको सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले सोनाम तामाङद्वारा निर्देशित नाटक ‘ज्ञ’ र अन्तिम दिन भदौ ३१ गते रङ्गेलीको श्री एकता सेकेन्डरी स्कुलले रमेशचन्द्र अधिकारीद्वारा निर्देशित साबित्रीको बाख्रो मञ्चन गर्ने जनाइएको छ ।

विद्यालयमा विद्यार्थी वा शिक्षक स्वयंले लेखन तथा निर्देशन गरिरहेका छन् । विद्यार्थी मात्रै अभिनय गर्दै नाटक मञ्चन गरिने महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ । यसअघि महोत्सवका लागि आवेदन दिएका विद्यालय मध्येबाट ९ विद्यालय छनोट गरिएको हो ।

छनोट भएका विद्यालयमा अहिले गुरुकुलका प्रशिक्षकहरूले निशुल्क प्रशिक्षण तथा प्राविधिक सहयोग गरिरहेका छन् । विद्यालयमै गएर नाटक अभ्यास–तयारी गर्ने तथा मञ्चनका लागि आवश्यक मञ्च, प्रकाश, ध्वनि लगायत निर्माण, संयोजन तथा परिचालन लगायत निशुल्क व्यवस्थापन गर्ने गरिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *