अत्यधिक गर्मीले युरोपमा हरेक वर्ष एक लाख ७५ हजारको मृत्यु

काठमाडौँ। युरोपेली देशहरूमा गर्मीका कारण हरेक वर्ष एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको छ।

डब्लुएचओको युरोपेली शाखाले प्रतिवेदन सार्वजनिक गर्दै सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत (औसतमा एक लाख ७६ हजार ४० जना) को ज्यान गरेको जानकारी गराएको हो ।

युरोपेली क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको जनाइएको छ। डब्लूएचओको युरोपेली क्षेत्रमा मध्य एसियाका केही देशसहित ५३ देश छन्। युरोपेली क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा दुई दशकयता ३० प्रतिशतले वृद्धि भएको डब्लुएचओको भनाइ छ।

अत्यधिक गर्मीले विशेषगरी वृद्धवृद्धा र गर्भवती महिला मारमा पर्ने गरेको डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले उल्लेख गरेका छन्। गर्मीका कारण मुटु, श्वासप्रश्वास, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *