केन्द्रमा बनेको समीकरण अनुसारै अघि बढ्छौंः मुख्यमन्त्री कार्की

विराटनगर । कोेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा बनेको समीकरण अनुसारै अघि बढ्ने बताएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसबीच पछिल्लोपटक बनेको समीकरणका आधारमा अघि जाने भन्ने कुरामा सहमति बनेको उनले बताए ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । ‘कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा चाहिँ राजनीतिक कुराहरु माथिबाट जे टुंगिन्छ हामी त्यसैमा जान्छौं’ उनले भने, ‘नेतृत्वमा आलोपालो जस्ता कुरा राजनीतिक कुरा हो ।’

नेतृत्वमा आलोपालोको कुरा केन्द्रीय नेतृत्वले गरेअनुसारै प्रदेशमा पनि लागू गरेर जाने मुख्यमन्त्री कार्कीले उल्लेख गरे । प्रदेशमा मन्त्रालयको संख्या भने नबढाउने उनले जानकारी दिए ।

‘प्रदेशमा अहिले मन्त्रालयको संख्या बढाउँदैनौं’ उनले भने, ‘हाल रहेका ९ वटा मन्त्रालयमा बाँडफाँट गर्दा शक्ति संख्याको आधारमा ४ र ५ हुन्छ, त्यसैअनुसार सरकार बन्छ ।’ मुख्यमन्त्रीसहित नेकपा एमालेका पाँचजना सरकारमा रहने र कांग्रेस त्यसभन्दा एक कमको संख्यामा सहभागी हुने मुख्यमन्त्री कार्कीले बताए ।

यसरी अघि बढ्नेमा दुई पार्टीबीच सहमति भएको उल्लेख गर्दै उनले भने, ‘उहाँहरुले आफ्नो सबै प्रक्रिया पूरा गरेर आउनुभयो भने सरकारमा सहभागिता एक दुई दिनभित्रै हुन्छ । यसमा समस्या छैन ।’

अहिले नेकपा एमाले र नेपाली कांग्रेसको बीच सहमति गरेर सरकार बनाएर अगाडि बढ्ने उनले बताए । अन्य विषयहरुमा छलफल गरेर टुंगो लगाइने मुख्यमन्त्री कार्कीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *