एक वर्षमा १ हजार ३४६ नेपालीले विदेशमै गुमाए ज्यान

काठमाडौँ। एक वर्षको अवधिमा विदेशमा रहेका १ हजार ३४६ जना नेपालीको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०/८१ मा त्यति सङ्ख्यामा नेपालीको मृत्यु भएको हो। एक तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएकाहरूको दैनिक औसतमा चारवटा शव नेपाल आउने गरेको छ।

यो संख्या उक्त अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै रहेको अनुमान छ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन्।

बोर्डका अनुसार गत आर्थिक वर्षमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेटस (युएई) बाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ।

यस्तै, उक्त अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहाइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुुगेको छ। क्रोएसियाबाट १०, साइप्रसबाट दुई, इजरायलबाट दुई, उज्बेकिस्तानबाट दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, काजकस्तान र युकेबाट एक–एक शव आएको बोर्डले जनाएको छ।

२०७९/८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। विभागका अनुसार गत आव २०८०/८१ मा श्रम स्वीकृति लिई सात लाख ४३ हजार ५९५ जना नेपाली विदेश गएका थिए।

उक्त अवधिमा विदेशमा मृत्यु भएकाको ८२८ परिवारले सात लाखका दरले आर्थिक सहायता लिएका छन्। बाँकी ४१८ परिवारलाई दिने प्रक्रियामा रहेको जनाइएको छ।

अघिल्लो आर्थिक वर्ष एक हजार २०८ जनाले विदेशमा ज्यान गुमाएका थिए। बोर्डका अनुसार आर्थिकवर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीमा मृत्यु भएका १३ हजार ३४६ को परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ९५ करोड ३० लाखभन्दा बढी रकम उपलब्ध गराइएको छ।

गत आवमा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ६५३ जनालाई आर्थिक सहायतास्वरूप १९ करोड ४६ लाख ८५ हजार रुपियाँ उपलब्ध गराइएको छ।

गत आव वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा गम्भीर बिरामी भएका ३८९ जनालाई नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *